बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन्। पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन्। सोही ठाँउको सन्सेरीमान्डौ बजार क्षेत्रमा पनि जहाँतहीँ सिसा फाल्ने गरिएको छ। यी ठाउँमा मात्रै होइन, जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा अव्यवस्थित रूपमा सिसा फाल्ने गरिएको छ।
‘गाउँघरतिर मदिराका पसल थुप्रै खुले, सिसाहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयका शिक्षक भानबहादुर महरा भन्नुहुन्छ, ‘ग्रामीण बजार मदिरा पसलले भरिन थाले, वातावरण सिसाले भरियो।’
जहाँतहीँ फुटेका सिसाले विद्यार्थी तथा सर्वसाधारणलाई हिँडडुलमा समस्या आएको शिक्षक महराको भनाइ छ। ‘हिँडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतमा समेत सिसौ छन्।’
ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै मदिरा पसल पनि छ्यापछ्याप्ती खुलेपछि गाउँघरमा समेत प्रत्यक्ष असर पुर्याइरहेको मेलौली नगरपालिका–१ की सुनिता दयालले बताउनुभयो। ‘सडकको सहज पहुँच पुग्यो, मदिराका पसल बढी खुले, यसले समाजिक रुपमा त प्रत्यक्ष असर पुर्याएको थियो नै, जहाँतहीँ सिसा फालिनाले वातावरणमा समेत प्रभाव पार्यो। घरखेत गर्दा हिँड्नै समस्या हुन्छ, जहाँत्यँही सिसा छन्,’।
घरनजिकै रहेको मेलौली काँडा बजारबाट मदिरा बिक्री हुने र आसापासका क्षेत्रमा सिसैसिसा फालिने गरिएको दयाल बताउनुहुन्छ।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक क्षेत्र मेलौली भगवती मन्दिर परिसरमा समेत प्लास्टिक र सिसाजन्य वस्तु फालिने गरिएको मेलौली धार्मिक सेवा समितिका संयोजक जगदिशसिंह नायकले बताउनुभयो। ‘यो प्रदेशकै प्रसिद्ध धार्मिक क्षेत्र हो, यसवरपर थुप्रै प्लास्टिक र सिसाका बोतल तथा टुक्रा छन्,’ उहाँले भन्नुभयो।
सिगास गाउँपालिकाको गाजरी, सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौ, रौलेश्वर, मेलौली नगरपालिकाको काणा बजार, पञ्चेश्वर गाउँपालिकाको कुलाउ, शिवनाथ गाउँपालिकाको सुल्लेखानलगायतका बजार क्षेत्रमा यत्रतत्र मदिराका सिसीहरू फाल्ने गरिएको छ। जिल्लाका मुख्य राजर्मागका बजारमा समेत व्यवस्थित विसर्जन गरेको पाइँदैन। पाटन नगरपालिका, दशरथचन्द नगरपालिकाले मुख्य बजार क्षेत्रबाट फोहोर संकलन गर्ने गरेको भए पनि ओसारेर मेलौली पाटन–पञ्चेश्वर सडकखण्ड छेउमै सिसा फाल्ने गरिएको छ। यसैगरी सुर्नया नदीमा समेत सिसा फाल्ने गरेको देखिन्छ। ‘दिसाभन्दा सिसाले मानिसको जीवन जोखिममा छ, हामीले खुला दिसामुक्त क्षेत्र घोषणा गर्यौँ, अब सिसामुक्त क्षेत्र पनि घोषणा गर्ने गरी कार्यक्रम ल्याउछौँँ,’ पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहराले भन्नुभयो।
स्थानीय सरकार गठन भएपछि पालिकाको केन्द्र र वडातहसम्म नै सडकको सहज पहुँच पुगेको र पछिल्लो समयमा मदिरा पसल खुल्ने क्रम ह्वात्तै बढेको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मणकुमार साउदको भनाइ छ। जिल्लामा ६५० मदिरा पसल रहेकामा पाँच सयभन्दा बढी मदिराका पसल ग्रामीण क्षेत्रमा रहेको सूचना अधिकारी साउदले बताउनुभयो।
स्थानीय बजारहरूमा मदिरा बिक्रीवितरण बढ्दो अवस्थामा रहेको र सोहीअनुसार सिसा व्यवस्थापनमा ध्यान नदिएको पाइएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो। ‘यहाँका बजारमा सिसा मनलाग्दी फालिन्छ। व्यापारीलाई सही ढंगले व्यवस्थापन गर्न भनिरहेका हुन्छौँ,’ प्रमुख प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, ‘पालिकाबाट पनि छुट्टै व्यवस्थापन गर्न सकेका छैनौँ।’
जिल्लाको सदरमुकासँग जोडिएको दशरथचन्द नगरपालिकाले पनि अव्यवस्थित तरिकाले डम्पिङ साइडमा सिसा फाल्ने गरेको पाइएको छ।
यसरी जथाभावी सिसा फाल्नाले वातावरणीय प्रभाव र जोखिमसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। ‘सिसामा जम्ने पानीबाट लामखुट्टे, किर्नाजस्ता रोग सार्ने कीरा बढ्छन्, यसले विभिन्न सरुवा रोगको जोखिम बढ्छ।’
वातावरणीय असन्तुलन समेत कायम राख्ने भएकाले सिसा लगायत प्लाष्टिकजन्य वस्तुहरुको व्यवस्थापमा ध्यान दिन आवस्यक रहेको वातावरण विज्ञहरू बताउँछन्।
सरकारले जारी गरेको राष्ट्रिय वातावरण नीति (२०७६) मा पनि औद्योगिक उत्पादनमा प्रयोग हुने रसायन तथा कच्च पदार्थसँगै आउने पारो (मर्करी), सिसा तथा अति वाष्पशील जैविक पदार्थजस्ता रसायनलाई आवश्यकताअनुसार नियन्त्रण तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ। तर स्थानीय स्तरमा यत्रतत्र प्लास्टिक तथा सिसाजन्य वस्तुहरू विसर्जन गर्ने गरिएको छ। श्रोत: कृष्ण विष्ट/आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया