सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ चाँदनीचोकका किसानलाई समुदायमा सञ्चालित ‘सामुदायिक सिकाइ केन्द्र’ ले जलवायु सुहाउँदो कृषि सिकाइरहेको छ।
सदरमुकाम वीरेन्द्रगरनजिकै रहेको चाँदनीचोक, पर्सेनीका ५८ घरधुरीका किसान सदस्य रहेको लगनशील लघुउद्यमी महिला कृषि समूहमा आबद्ध भएकामध्ये २२ घरधुरीका किसान अहिले सामुदायिक सिकाइ केन्द्रको छलफलमा सहभागी हुने गरेका छन्।
जलवायु सुहाउँदो कृषि प्रविधिको बारेमा छलफल हुने सिकाइ केन्द्रमा नियमित रुपमा छलफल गरेपछि किसानलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय अगुवा किसान ५५ वर्षीय मानबहादुर शाहीले बताउनुभयो।
एक दशकअघिसम्म नियमित खाद्यान्नबाली तथा तरकारी खेती गरिरहेका पर्सेनीका किसान बालीमा देखिएको नयाँ रोग किराका कारण चिन्तित भएका थिए। गाँउलाई स्थानीय निकासखोला सहकारीको तर्फबाट दुईवटा सिँचाइपोखरी निर्माण गरिदिए पनि मुहानमा पानीको कमी हुँदा किसान खेतबारीमा कम र चिन्तामा बढी हुन थालेको स्थानीय श्रोतव्यक्ति कृष्ण बिसी बताउनुहुन्छ।
विसं.२०७५ देखि विभिन्न परियोजनाको सहयोगमा लगनशील लघुउद्यमी महिला कृषि समूहअन्तर्गत सामुदायिक सिकाइ केन्द्र स्थापना भएपछि पर्सेनीका किसान बिस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्।
हप्ताको एक दिन सञ्चालन हुने सिकाइ केन्द्रमा व्यावसायिक कृषिमा आबद्ध भएका पर्सेनीका २२ घरबाट किसान भेला भई कृषिमा देखिएका समस्या र समाधानका बारेमा छलफल गर्छन्। र उक्त छलफललाई स्थानीय स्रोतव्यक्ति, वीरेन्द्रगर नगरपालिकाका कृषि प्राविधिक तथा विभिन्न परियोजनाका कर्मचारीले सहजीकरण गर्छन्।
कुनैबेला कृषि पेसा छोड्ने अवस्थामा पुगेका पर्सेनीका किसानलाई हिजोआज खेतीकिसानीबाटै फुर्सद छैन। जलवायु सुहाउँदो कृषि प्रविधि अपनाई तरकारी खेतीमा लागेका किसान राम्रो उत्पादनले खुसी देखिन्छन्। बालीमा लाग्ने रोग र कीरासँग लड्न सिकिसकेका यहाँका किसानले एक कट्ठादेखि १५ कट्ठासम्म जमिनमा तरकारी खेती गरी सरदर १ लाखदेखि ३ लाखसम्म तरकारी बेचिरहेको किसान बिस्ना शाहीले बताउनुभयो।
‘अहिले तरकारी बिक्री गर्न भनेर बजार जानु पर्दैन,’ शाहीले भन्नुभयो, ‘अर्गानिक तरकारी उत्पादन हुने हुँदा वीरेन्द्रनगरका तरकारी थोेक बिक्रेता बारीसम्मै आउँछन्।’
पर्सेनीका किसानले पछिल्लो समय तरकारी खेतीबाट पैसा फलाइरहेका छन्। राम्रो आम्दानी गरी दैनिक जीविकोपार्जन मात्र गरेका छैनन्, आफना बालबालिकाको विद्यालयको खर्च पनि जुटाइरहेका छन्। साथै सिकाइ केन्द्रका १० जना सहभागीले आफ्ना बालबालिकाको जीवन बिमासमेत गरेको स्थानीय स्रोतव्यक्ति बिसीले बताउनुभयो।
यहाँका किसानले तरकारीको बिक्रीबाट भएको आम्दानी स्थानीय साना किसान सहकारी तथा निकास खोला सहकारीमा जम्मा गर्ने गरेका छन्। यो बचतले उनीहरुको जीवनयापनलाई सहज बनाएको छ। २२ जनाले सुरु गरेको व्यावसायिक तरकारी खेती हाल २८ जनाले गरिरहेको बिसीको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया