spot_img
Monday, May 20, 2024
78.9 F
Washington DC.
spot_img

पूर्वयुवराज्ञी हिमानीलाई शुभकामना तथा शुभयात्रा!

सम्बन्धित समाचार

नेपाली राजसंस्थाको ईतिहास लामो छ। लामोको साथसाथै अत्यन्तै गौरवशाली तथा विवादित पनि छ।संसारका धेरै देशले राजा बनाएका छन्।तर नेपालमा सानो देश गोरखाले ५५ टुक्रामा टुक्रीएको देशलाई एक देश बनाएको बेग्लै ईतिहास छ।सानो देश गोरखाले त्यति ठूलो कार्य गर्न सक्नुको पछाडी सैन्य र भौतिक बल मात्र थिएन। बहु जाती, बहु भाषी अनि बहु सांस्कृतिक समाजलाई भावनात्मक रूपमा एक गराउदै एक देश एक राजाको स्थापना गरिएको थियो। एकीकरणको बलिदानी पूर्ण महाअभियान सुगौली सन्धि सम्म चल्यो।

बडामहाराजाधिराजको स्वर्गारोहण पश्चात पनि रानी राजेन्द्र राज्य लक्ष्मी र बहादुर शाह जस्ता नेपाल आमाका सपूतहरूले नेपाली बीर बीरङ्गनालाई साथमा लिएर अगाडी बढाए।नेपाल एकीकरणको महान यस एकीकरणको युगलाई नियाल्दा सही नेतृत्व, नियत,नीति,कार्यनीति,कार्यक्रम कुटनीति र असल ईमान्दार ब्यक्तित्वहरूको पहिचाननै महत्वपूर्ण देखिन्छन्।अझै सरल भाषामा भन्नु पर्दा राजा र राज प्रतिनिधीले देश र जनतालाई केन्द्रमा राखेर असल ब्यक्तिहरूको पहिचान गर्दै देश र जनताका निम्ति लड्दा एकीकरण सफल भएको जीवन्त ईतिहास देखिन्छ।

तर सुगौली सन्धी गर्नु पर्ने बाध्यात्मक अवस्था,दरबार भित्र राजाले पहिलेका नेतृत्वले झैं सुझबुझ नीति र विवेक प्रयोग गर्न नसक्दा फस्टाएका अवसरवादी ब्यक्तिहरू र असक्षम नीति आदिका कारण देशले ठूलो भूभाग त गुमायो गुमायो,साथसाथै उन्नति प्रगतीमा पनि झण्डै झण्डै पूर्ण बिराम  लाग्यो। दरबारको असवल नीति नेतृत्व, कार्यक्रम, कार्यनीति,रणनीति र नितान्त स्वार्थी भारदारीया खिचातानि संघर्षले कोत पर्व जन्मायो। फलत: देशभक्त ईमान्दार मान्छेहरू मारिए,लखेटिए र पाखालागे। राजा दरबारमा बन्दी हुनु पर्यो।देशले कालो युग १०४ बर्ष सम्म भोग्न पर्यो। सरल भाषामा भन्नु पर्दा कारण थियो राजा र दरबारले असल ,ईमान्दार, देशभक्त चिन्न नसक्नु। चिनेर जिम्मेवारी दिन नसक्नु।स्वयं राजाहरू र दरबारले सही नीति,रणनीति,कार्यनीति र विवेक पूर्ण नेतृत्व लिन नसक्नु।

१०४ बर्षको लामो कालो युग राजा र जनताको प्रयासले सकियो। तर राजा र जनताको समन्वयात्मक सहकार्य हुन नसक्दा देशले १७ साल ब्यहोर्न पर्यो। २०१७ सालको राजनैतिक घाटानाफा जे भएता पनि नेपाली राष्ट्रियताका हिसाबले देशलाई फाईदा भएकोमा दुई मत छैन। ति उपलब्धीहरूको पछाडी राजा महेन्द्रको सुजबुझ पूर्ण असल नीति,रणनीति, कार्यनीति, कार्यक्रम ,कुटनीति तथा असल ईमान्दार मान्छे चिन्न सक्ने अब्बल क्षमतानै कारक थिए। भनिन्छ राजा महेन्द्रले ज-जसलाई छाने या समाजको तल्लो तहबाट उठाए,ति सबै अब्बल र ईमान्दार साबित भए। अहिले पनि जो जति बाँचेका छन्, ति आआफ्नो क्षेत्रका अब्बल ईमान्दार भएको मानिन्छन्।

राजा महेन्द्रको अवसान पश्चात बिरेन्द्र राजा भए। पढेलेखेका उदार सालिन राजा त देशले पायो। तर महेन्द्रले झैं सुझबुझ देखाउदै देशको वास्तविकतालाई आत्मसात गरि ,असल ईमान्दार देशभक्तहरूलाई साथमा लिएर महेन्द्रको राष्ट्र निर्माणको यात्रालाई महेन्द्रले झैं अगाडी बढाएको पाईदैन। उनको उदार पनको फाईदा उठाउदै अवसरवादीहरू मौलाए।पञ्चायत राष्ट्र निर्माण गर्ने माध्थाम भन्दा भजन मण्डली बन्यो। बैचारिक राजनैतिक रूपमा भन्दा देशको शासन नितान्त अराजनैतिक प्रशासनिक प्रकृयाबाट चल्न थाल्यो।जसको कारण अराजनैतिक र अवसरवादीहरूको हातमा देशको राजनीति,प्रशासन लगायत हर क्षेत्र पर्न गयो।दरबार भित्रको आपसी संघर्ष बाहिरै आयो।समग्रमा राजा अनि दरबारले सुझबुझ विवेक पूर्ण नीति,रणनीति,कार्यनीति तथा कुटनीति लिन र प्रदर्शन गर्न नसक्नु र असल ईमान्दार देशभक्त चिन्न छान्न नसक्नुकै मूल कारक थियो।

२०४६ सालमा बहुदलिय ब्यबस्था आयो। तर जन चाहना भन्दा दल र नेताहरू धेरै पर गए। देशको उन्नति प्रगतीको जनताको सपनामा बादल लाग्यो। बिस्तारै बिस्तारै जनताले दरबार र राजा हेर्न थाले।यही बिचमा तथाकथित जनयुद्ध शुरू भयो।राजा र दरबारले सही विश्लेषण गर्न सकेन। पञ्चायतमा तर मारेका जनतामा नाङ्गिएका अवसरवादीहरू र सत्ता बिमुख दरबारियाहरूले राजालाई गलत तवरले सम्झाए।राजा र दरबारले तथाकथित जनयुद्धलाई गलत ढङ्गले बुझ्यो। कारण एउटै थियो……दरबारले असल ईमान्दार देशभक्त मान्छेहरूको पहिचान गर्न नसक्नु। समय सापेक्ष असल नीति,कार्यनीति,रणनीति तथा कुटनीति लिन र अवलम्वन गर्न नसक्नु।

यही सेरोफेरोमा दरबार हत्या काण्ड भयो। राजा बिरेन्द्रको वंश नाश भयो। नीयतिले ज्ञानेन्द्र राजा बने। जनताले आशंका र आरोपका बिच पनि ठूलो आशा गरेका थिए। देशका निम्ति केही गर्ने जमर्को पनि राजा ज्ञानेन्द्रले नगरेका होईनन्।तर सफल हुन सकेनन्। त्यसको पछाडीको मूल कारण समय सापेक्ष नीति,रणनीति,कार्यनीति तथा कुटनीति लिन नसक्नु थियो।गलत,बेईमान,स्वार्थी, अवसरवादी ,अराजनैतिक तथा जनतामा नाङ्गिएका मान्छेहरू जम्मा गरेर शासन गर्न खोज्नुनै ठूलो गल्ति थियो। वडा सदस्य नजित्नेलाई मन्त्री बनाईयो। जिल्लामै नबस्नेलाई जि बि स सभापति बनाईयो। जनतासंग टाढा टाढाको नाता नपर्ने अराजनैतिक असैद्धान्तिक मान्छेहरूलाई जनप्रतिनीधि बनाईयो। परिणाम लामो गौरवशाली ईतिहास बोकेको नेपाली राजसंस्था ढल्यो। गणतन्त्र आयो। राजाको पालामा अवसर लिने अवसरवादीहरू रातारात लाखापाखा लागे।अकल्पनिय तवरले गणतन्त्रवादी भए। ति अवसरवादीले त अवसर लिए गए। तर मूल्य त राजसंस्थाले चुकायो।

गणतन्त्र आयो। जनतालाई आश्वासनै आश्वासन दिईयो। तर परिणाम ज्यामितिय तवरले देश र जनताको बिरूद्ध आयो। देश दिन पर दिन भताभुङ्ग हुदैछ। जे छ सबैको अगाडी छर्लङ्गै छ। आफ्नै कमिकमजोरी तथा देशी बिदेशी षडयन्त्रले पाखा लागेको राजसंस्था जनताले सम्झन थाले। राजा ज्ञानेन्द्रको लोकपृयता बढ्दै आयो।

दरबारका सदस्यहरू मध्य पूर्व युवराज्ञी हिमानीको सालिन शिष्ट र सेवा भावको चारैतिर प्रशंसा भयो। राजसंस्था ढल्दा पनि जनताकी युवराज्ञी बन्न सफल भईन्। राजा,राजपरिवार र दरबारले धेरै दुख पायो ,गुमायो,अवसरवादीहरूको शिकार बन्यो। जनताले भन्न थाले दरवारले अब त पाठ सिक्यो होला। समय सापेक्ष नीति,रणनीति,कार्यनीति तथा कुटनीति लिन्छ होला।असल ईमान्दार र देशभक्त मान्छेहरू छान्छ र चिन्छ होला भन्ने जनताले आशा गर्न थाले। नेपाली सार्वभौमिकता र अखण्डताका निम्ति राजा चाहिन्छ भनेर आवाज उठ्न थाल्यो। अहिले हजारौं लाखौं नेपालीले राजा र दरबार लाई पर्खेर बसेको देखिदैछ ।

यसै परिवेशमा पूर्व युवराज्ञी हिमानीको अमेरिका यात्रा भईरहेको छ। यो यात्रालाई नेपालीले नजिकबाट हेरि रहेका छन्। उनको शालिन शिष्ट र सेवाभावी छबी अनुसार यो यात्रा हुने आशा गरेका थिए। यो यात्रामा समय सापेक्ष सुजबुझ नीति,ब्यबहार,कुशलता अनि दक्षता देखाउने र असल ईमान्दार देशभक्तहरू पहिचान गर्न सक्ने क्षमता दर्शाउने धेरैको विश्वास र आशा थियो। तर उनको यात्रामा अहिले भईरहेका गतिविधी र उनिसंग जोडिएर नजिक भएका ब्यक्तिहरूको चरित्र र ब्यबहार हेर्दा त्यो देखिएन। दरबार र दरबारका सदस्यहरू परिपक्व भईसकेको जनताको आशा सत्य भएन। गलत नीति र असल मान्छे चिन्न र छान्न नसक्नुकै कारणले दरबारले जो हबिगत भोग्यो, जो मूल्य चुकायो,  त्यही कारक र प्रवृति उनको भ्रमणमा देखिदै छ।

समाजसेवा गर्नु राम्रो हो। उनको उच्च सामाजिक भावलाई सबैले सम्मान पनि गर्छन्। उनले अब्ह्वान गरे हजारौ लाखौ नेपालीले स्वदेश बिदेशबाट सहयोग पनि गर्छन्। हो शाखा खोल्न या संस्था बिस्तार गर्न पर्छ। तर संस्थामा सच्चा सामाजिक भाव, देशभक्ति सोच , कर्म र नेपाली गाउँ माटो संग जोडिएका मान्छे चिन्न र राख्न जरूरी हुन्छ। गाउँघर समाजसंग कुनै नाता नभएका, जो पार्टीका आए पनि तिम्रै हुँ भन्दै फोटो खिच्ने, नेताहरूलाई खाना पस्के खुवाए भनेर गर्व गर्ने, ब्यक्तिगत फाईदाका निम्ति तल्लो स्तरको दलाली गर्ने अवसरवादीहरू राखेर संस्था बिस्तार गर्न खोज्नु आफैमा ठूलो भुल हुनेछ। दरबार तर्फ आशाको आँखाले हेरि रहेकाहरू प्रति धोका हुनेछ। हो उनलाई अहिले घेरिरहेको झुण्डमा थोरै असल मान्छेहरू पनि छन्। ति असल मान्छेहरू धन्यवादका पात्र छन्। तर धेरै जसो अवसरवादी र फाईदाखोर छन्। ति मान्छे र त्यस्ता प्रवृतिलाई चिन्न नसक्दा दरबारले ठूलो मूल्य चुकाउनु पर्ने छ। अर्को तर्फ नेपाली जनताको आशा निराशामा परिणत हुनेछ। हिजो पनि राजा र दरबार यस्तै यस्तै गल्ति कमिकमजोरीको शिकार बन्यो। यि र यस्तै चाटुकारी अवसरवादीहरूले बदनाम बनाए सिध्याए। अब पनि चेतना नभए फेरी पनि दरबार र राज परिवारले मूल्य चुकाउनु पर्ने छ। अवसरवादीहरूको शिकार बन्नु पर्ने छ।

तसर्थ अतितको ईतिहास बाट पाठ सिक्दै पूर्वयुवराज्ञीले समय सापेक्ष सुझबुझ, परिपक्वता र दक्षता देखाउन आवश्यक छ। भजन मण्डली अवसरवादीहरू भन्दा पर पनि नेपालीहरू छन् र तिनले पनि मेरो राम्रो कामको प्रशंसा समर्थन गर्छन् भन्ने सम्झन जरूरी छ। गलत चाटुकारी अवसरवादीहरूको झुण्डमा रमाउदा असल ईमान्दार देशभक्तहरू म सम्म आउने बाटो बन्द हुनसक्छ भनेर सोच्न आवश्यक छ। अवसरवादी भजन मण्डलीले स्वार्थको जयजयकार गरेर राम्रो हुने राजसंस्था आउने होईन, आम देशभक्त नेपालीहरूको साथ सहयोग र सद्भाव चाहिन्छ भन्ने हेक्का राख्न अति आवश्यक छ।

भगवान पशुपतिनाथले पूर्वयुवराज्ञी हिमानीलाई सवल नेतृत्व, सुजबुझ, दक्षता,क्षमता र कौशलता दर्शाउदै असल ईमान्दार देशभक्त मान्छेहरू चिन्ने शक्ति प्रदान गरून। गलत चाटुकारी अवसरवादीहरूको चंगुलमा पर्न नदेउन। सच्चा सामाजिक सेवाभाव राख्ने,निस्वार्थ समर्थक,देश माटो गाउँघर संग सच्चा सम्बन्ध भएका र स्वार्थका निम्ति होईन देशका निम्ति राजसंस्था प्रेम गर्ने नेपालीहरूको साथ र संगत होस। अञ्जान र अज्ञानताको गल्तिले राजा र राजसंस्था प्रति सकारात्मक बन्दै गएको वातावरण धुमिल नहोस। बिगतका कमिकमजोरीहरूले जन्माए झैं नव चाटुकारी अवसरवादी नजन्मिउन।

पूर्वयुवराज्ञी हिमानीलाई सफलताकालागि शुभकामना तथा शुभयात्रा!

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img