गत साल सन् २०२१ को पछिल्लो कोभिड महामारीले संसारको हरेक गाउँ बस्ति शहरहरू लाई झैं नेपालको दुर्गम पहाडी जिल्ला रोल्पालाई पनि आक्रान्त बनायो।महामारीका अगाडी सबै श्रोत साधन तथा तयारी अप्रयाप्त र अधुरो साबित भए। संकटको घडीमा सक्दो सहयोगका हात बढाउनु हरेक नागरिकको कर्तब्य ठानेर रोल्पा सुलिचौरका सामाजिक सेवा भावले ओतप्रोत ब्यक्तिहरूको सरसल्लाह र सहभागितामा “परिवर्तनका लागि साझा प्रयास समूह ” गठन गर्यौं।
समूहका सदस्यहरू र धेरै जसो बिदेशमा बस्ने रोल्पालीहरूको सहयोग र सद्भावमा रोल्पामा निशुल्क अक्सिजन उपलव्ध गराउने,अन्य संघ संस्थाहरूसंग सम्पर्क गरेर कन्सन्ट्रेटर लगायत आवश्यक स्वास्थ सामग्रीहरू हस्तान्तरण गर्ने,सरसफाई तथा शौचालय मर्मत कार्य गर्ने लगायत सामाजिक कार्यहरू गर्यौं।
यसै सेरोफेरोमा सहयोगी समूहले गाउँमा केही परिवारको छाक बसेको खबर पायो।समूहका साथीहरू मिलेर अन्य साथीहरूको सहयोग लिदै खाद्यान्न राहत बितरण गर्यौ।
खाद्यान्न राहत बितरण गर्ने क्रममा सहयोगी समूहका भुपनारायण घर्तिमगर , सुरज घर्तिमगर, फत्ते प्रचण्ड घर्तिमगर र अन्य सहयोगीहरू राहत लिएर रोल्पा मिझीङ्ग स्थित उपल्लोथर शिल्पी श्रमिक ( कथित दलित) बस्तिमा पुग्यो।
बर्षादको समय पानी सिमसिम परिरहेको थियो।राहत बितरण गर्दै एउटा घरको आँगनमा पुग्दा एक जना बुढी दिदी निन्याउरो अनुहार बनाउदै उभिई रहनु भएको थियो।घरको छानामा ठूला ठूला प्वाल परेका थिए। बर्षादको पानी घर भित्र आईरहेको प्रष्ट देखिन्थ्यो।घर भत्केला झैं अवस्थामा थियो।
राहत समूहले सोध्यो- दिदी यो तपाईको घर हो ? तपाई यसैमा बस्नु हुन्छ? हो मेरै घर हो।यही घरमा बस्छु, दिदीले जवाफ दिनु भयो।घर मर्मत नगर्नुको कारण बुझ्दा,दिदी एकल विधवा र उहाँको छोरा ॠण लिएर खाडीमा काम गर्न गएको जानकारी प्राप्त भयो। खाडीमा कमाएको पैसा साहुको किस्ता तिर्न र घरमा खाद्यान्न जोहो गर्न समेत मुस्किल पर्ने भएकोले घर मर्मत गर्न नसकेको जानकारी दिदीले राहत समूहलाई बताउनु भयो । मलिन स्वरमा दिदीले “या त कतै अरूको घरमा जानु पर्यो या मरे पनि यसैमा बस्नु पर्यो” भनेर भन्दा आफ्नै आँखा अगाडीको दर्दनाक दृश्यले राहत समूगह स्तब्ध र भावबिह्वल बनेको समाजसेवी घर्तिमगरले बताउनु भयो।
बर्षादको समय भएकाले दिदीको घर मर्मत गर्न सम्भव थिएन।घर्तिमगर अगाडी भन्छन- स्थानिय समाजसेवी श्री खगेन्द्र बिष्टज्यूलाई अनुरोध गरेर २ वटा त्रिपालको ब्यबस्था भयो।स्थानिय युवाहरू केशव गिरी र हुकुम घर्तिमगर लाई अनुरोध गरेर त्रिपालले घर छोप्न लगाइयो।
“तर त्यस दिनको दृश्यले घायल बनेको हाम्रो मन दुखि रह्यो।उक्त दृश्य आँखाबाट हट्नै सकेनन्।हर दिन दिदीको ब्यथाले हामीलाई घोचिरह्यो”- यति भन्दै गर्दा भक्कानिए घर्तिमगर।
अनन्त: राहत समूहले “नरबहादुर स्मृति ग्रामीण सेवा संस्था” को समन्वयमा दिदीको जीर्ण घर पुन:निर्माण गर्ने निर्णय गर्यौं, उनले अगाडि भने।
पौष २०७८ को तेश्रो हप्तामा पुन:निर्माण कार्य शुरू गरेर गत फागुन १७,२०७८ मा दिदीको घर विधिवत रूपमा हस्तान्तरण गर्न सफल भयो।उक्त घर पुन:निर्माण गर्न घर्तिमगर लगायत पवित्र मनका धनी साथीहरूले योगदान गर्नु भएको थियो।
सबैको सद्भाव र सहयोगले सोचेको समय भन्दा अगाडी नै कार्य सम्पन्न भयो।यसका निम्ति सबैजना वधाईका पात्र हुनुहुन्छ, घर्तिमगर भन्छन।
घर्पुतिमगर अगाडि भन्नछन:निर्माणको खर्च र सहयोग विवरण लगायत फोटोहरू समेत समूदायको रोहवरमा सार्वजनिक गरिएको छ।उक्त घर हस्तान्तरण कार्यक्रममा दिदीको अनुहारमा देखिएको खुशीले हामी सबैको दुखेको घाउ शान्त भयो। सबैलाई आनन्दित तुल्यायो।
रोल्पा मिझीङ्ग उपल्लोथरकी दिदीको अवस्था झैं हाम्रो नेपाली गाउँघरमा धेरै दिदी बहिनीहरूको छ।असहाय बन्दै सहयोगको प्रतिक्षा गर्दागर्दै थकित बेसाहरा बन्न विवश छन्।अर्कोतर्फ सरकारको स्पष्ट जनमुखी नीति कार्यक्रम र सोच नहुदा त्यता तर्फ खासै ध्यान पुग्न सकेको छैन।समाजका टाटाबाठाहरू भौतिकता प्राप्ति गर्ने होडको दौडमै मस्त र ब्यस्त छन्।सहयोग, सद्भाव र सहकार्यको जगमा निर्माण हाम्रो समाज ब्यक्तिगत स्वार्थ,सोच र कर्मले ग्रसित बनिरहेको छ।हजार घरको गाउँ बस्ति समाजमा २५- ३० घर अनिकालले ग्रसित हुनु स्वभाविकै हो।
युरोप अमेरिका जस्ता चरम भौतिक बिकास भएको देशमा पनि यस्ता समस्या छन् र हुन्छन्।तर ति देशहरूमा सरकारी सामाजिक कल्याणका कार्यक्रमहरू हुन्छन्। बिभिन्न्न संघ संस्था तथा धार्मिक संस्थाहरूले सहयोग गर्छन्।तर हाम्रो देशमा न त उपर्युक्त सरकारी कल्याणकारी कार्यक्रम छन्। न नै सामाजिक संघ संस्था तथा धार्मिक निकायका सहयोगका कार्यहरू।एक प्रकारले मानौ उनिहरूको दर्दले कसैलाई छुदैन। उनिहरूको बारेमा कसैले सोच्न पर्दैन।उनिहरूको घाउमा मलहम लगाउने जिम्मेवारी कसैको पनि होईन। हाम्रो संस्कृतिको महान परम्परा “मुठी” दानलाई मात्र पुनर्जिवित गर्न सके कुनै पनि नेपाली गाउँघरमा कोही पनि भोको बस्नु पर्दैन।बर्षादको समयमा न त पिडीत परिवारको घरमा माम हुन्छ, न नै बाहिर काम पाईन्छ।
राहत समूहका अगुवा तथा समाजसेवी भुपनारायण घर्तिमगर भन्नु हुन्छ: “पक्कै पनि एक दुई वटा घर पुन: निर्माण या निर्माण गरेर समस्याको निरूपण हुदैन।तर हामी सबैले आआफ्नो ठाउँबाट पहल गरे जनजागरण बन्न सक्छ। स्थानिय, प्रदेश तथा केन्द्र सरकारलाई दबाब हुन सक्छ।संघ संस्था तथा सामाजिक अनि धार्मिक निकायहरूलाई प्रेरणा बन्न सक्छ।तपाई हामीले अनावश्यक खर्च कटाएर सहयोग गर्न सक्छौ।विवाह,ब्रतवन्ध,जन्म दिन लगायत संस्कारहरूमा गरिने अनावश्यक खर्च कटौटी गर्दै सहयोग गर्न या उक्त संस्कारलाई सेवामा समर्पित गर्न पनि सकिन्छ।हामीले जे जति प्राप्त गरेका छौं, ति सबै समाजकै उपज हुन भन्ने मनन् गर्न जरूरी छ।अरू धेरै गर्न नसके पनि बर्षमा एक परिवारलाई बर्षादको अनिकालमा सहयोग गर्न सकिन्छ। एक बच्चालाई गाउँकै स्कूलमा पढ्न मद्दत गर्न सकिन्छ। हाम्रो सानो प्रयासले समाजलाई सकारात्मकता तर्फ लैजान सकिन्छ।”
तसर्थ सबैले सोचौं ,मनन् गरौं र सोही अनुरूप गर्ने प्रयत्न गर्दै मानवताको परिचय दिउँ।हामीले फेरी यसै समुदायकी बिहिनीको घर निर्माण गर्न गईरहेका छौं।सबैको सद्भाव, सहयोग र सहकार्यको अपेक्षा गर्दै समाजसेवी घर्तिमगरले सवैमा अनुरोध गर्नु भएको छ।
(राहत समूहका अगुवा समाजसेवी भुपनारायण घर्तिमगरसंगको सम्वादमा आधारित)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया