नरोत्तमदास श्रेष्ठ– नेपाली कलाका एक सुनाम । वरिष्ठ कलाकार श्रेष्ठ कवि, कलासङ्कलक र ग्यालरी सञ्चालकका रूपमा समेत परिचित थिए । उनको अवसानसँगै उनका कामको समेत सम्झना ओझेलिँदै गर्दा प्रस्तुत गरिएको छ– यो सानो र सङ्क्षिप्त स्मृति–अभिलेख । उनको निजी निवास हरिहर भवनमा भेट्दा उनी ९२ वर्षको उमेरका थिए । उनको जन्म १९७८ सालको जेठ महिनामा काठमाडौंस्थित झोंछे टोलमा भएको थियो । पिता भगवानदास श्रेष्ठ र माता जनकमाया श्रेष्ठका जेष्ठ सुपुत्र उनी कलाका अत्यन्त सौखिन व्यक्तित्व थिए ।
उनको घरमा पुग्दा टाढैबाट कलाकृति, बोटविरुवा, बगैंचा आदिको संयोजन देखिएको थियो । त्यहाँ मैले अलग्गै कलात्मक र सिर्जनात्मक संसारको अनुभूति गरेको थिएँ । घरका प्रत्येक कोठा, भर्याङ , भित्ता सर्वत्र चित्र तथा मूर्तिकलाले भरिभराउ थिए। दुर्लभ चित्र, मूर्ति, पुरातात्विक सम्पदा आदिलाई कलात्मक फ्रेमले सजाएर राखिएका थिए । उनको घर कला, संस्कृतिको भण्डार र अध्येताका लागि उपयुक्त अध्ययन, अनुसन्धानको थलो बनेको थियो।
वरिष्ठ कलाकार नराेत्तमदास श्रेष्ठको निवासमा उनले जम्मा गरेका चित्र र मूर्तिका अनगिन्ती सङ्ग्रह छन् । कति कृति ठाउँको अभावमा चाङ लगाएर राखिएका छन् । यस्ता कृतिबाहेक टिकट, घडी, मुद्रा आदिसमेत उनका सङ्ग्रहमा छन् । उनको सङ्ग्रहमा रहेका पुराना फर्निचर, कलात्मक ऐना, बुट्टेदार आँखिझ्याल, कुर्सी, टेबुल र आकर्षक फ्रेम आदिलाई हेर्दा उनको सौखको विषय र विधा अनेक क्षेत्रमा फराकिएको थाहा हुन्छ ।
वि.सं. २०५५ सालमा उनको पहिलो जङ्कुसंस्कार कार्य भएको थियो । सोही अवसरमा उनले जीवनसङ्गिनी इन्दिरादेवीको नामसँगै आफ्नो नाम जोडेर ‘नरोत्तमदास–इन्दिरादेवी श्रेष्ठ गुठी’ को स्थापना गरेका थिए । गुठीले चित्रकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एक प्रतिभाशाली व्यक्तिलाई रु. ५०,००१ रुपियाँ राशिसहितको नरोत्तमदास–इन्दिरादेवी पुरस्कार र सम्मानपत्रद्वारा सम्मानित गरिने परम्पराको थालनी भएको थियो।
नरोत्तमदास मूलतः हस्तकलाका व्यवसायी हुनुुसँगै उनमा अगाध कलाप्रेम थियो । उनी आधुनिकदेखि परम्परागत चित्रकला र पौभाकला समेतका सङ्ग्रहकर्ता थिए । त्यस्तै उनले काष्ठ, धातु आदि माध्यमका मूर्तिकला प्रशस्तै सङ्कलन गरेका थिए । उनको अभिरुचि चित्रकलाका साथै कविता लेखनमा पनि उत्तिकै थियो । उनले लेखेका गीत र कविताका किताब प्रकाशित छन् । झस्केको आवाज (२०४२) र तरङ्गको स्पन्दन (२०५६) उनका प्रकाशित कविताका किताब हुन् ।
कति कलाकृति विदेशिएर हराइ सक्ने थिए । उनले तिनलाई आफैंले किनेर सङ्ग्रह गरिराखे । आज उनले सङ्ग्रह गरेका परम्परागत कलाका अग्रज मानिने कलाकार आनन्दमुनि शाक्यदेखि पछिल्लो पुस्ताका सशक्त पौभाकलाका स्रष्टा उदयचरण श्रेष्ठसम्मका दुर्लभ चित्रहरू सङ्ग्रहित छन् । त्यस्तै सिद्धिमुनि शाक्य, चन्द्रमानसिंह मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकार, लैनसिंह बाङ्देल, अमर चित्रकार, उत्तम नेपाली आदिका कलाकृतिहरू पनि सङ्ग्रहित छन् । त्यस्तै उनीसँग चित्रकार जातिले बनाउने परम्परागत कलाका अनेक दुर्लभ चित्रहरू पनि रहेका छन्, जुन निकै ठूलो आकारका छन् । यसबाहेक कसले कहिले बनाएको हो भन्ने कुनै आधिकारिक नाम थाहा हुन नसकेका अज्ञात चित्रकारका चित्रकृतिहरू पनि उनीसँग धेरै छन्।
कलाकार नरोत्तमदास श्रेष्ठले सिर्जना गरेका चित्रकृतिमध्ये मैंयासाहेव र दृश्यचित्रहरू मुख्य हुन्। उनले कल्पनाका आधारमा बनाएको यौटा चित्र अत्यन्त सुन्दर लाग्छ । सो चित्र उनले हाल सोल्टी होटल भएको परिवेशलाई समेटेर रचना गरेका थिए । तत्कालीन काठमाडौंको अवस्थालाई झल्काउने तर आजका पुस्ताले देखेका र विश्वास गर्न नसक्ने दृश्य त्यस चित्रमा देख्न सकिन्छ ।
उपत्यकाको खुला फाँट, खेतबारी, बनजङ्गल र घारीको पृष्ठभूमिमा गाईवस्तु चरनमा रमाइरहेको परिवेश चित्रमा उतारिएको छ । त्यसैगरी उनले बनाएको अर्को उत्तिकै बेजोड चित्र हो ‘केटी जिस्क्याइरहेका मानिस’। यस चित्रमा पहिलेको काठमाडौंको ताजा झलक पनि भल्किन्छ । जस्तो कि पुराना घर, पाटी, खर्पनमा ज्यापूले सामान बोकेर हिँडिरहेका । केटाकेटीहरू बाटोमा खेलिरहेका । हाँस, कुखुरा, यताउता डुलिरहेका कुकुर । डोकोमा सामान बोकेर घर फर्किंदै गरेकी महिला ।
यिनै परिवेशमा पूजा गरेर मन्दिरबाट फर्किदै गरेकी एक युवतीलाई मुख्य पात्रका रूपमा कलाकारले प्रस्तुत गरेका छन् । पाटीमा दौरासुरुवाल, कोट, टोपीमा चिटिक्क परी ठाँट्टिएर बसेका तीन युवाहरू छन् । चित्रको मुख्य आकर्षण भनेको यही तीन युवा र एक युवतीको आकर्षण हो । युवकहरूले युवतीलाई जिस्क्याएको भाव सो चित्रमा उतारिएको छ । चित्रको मूल केन्द्र नै वास्तवमा यही हो । यो चित्र तेलमाध्यममा बनाइएको छ । यो चित्र उनले १९९७ सालमा बनाएका हुन् ।
कलाकार नरोत्तमदास श्रेष्ठले बनाएका अन्य चित्रमध्ये हुक्का तानिरहेको मानिस र हातमा ब्रस लिइरहेको आर्टिष्ट पनि निकै सशक्त लाग्छ । यी चित्र उनले पेस्टल माध्यममा बनाएका हुन् । यससँगै उनले त्यतिबेलाका चर्चित हिरोहिरोइनहरूका अनुहारलाई पनि पेस्टल र पानीरङमा उतारेका छन् । उनले आफ्नी बहिनी मिनौला र दमन श्रेष्ठलाई मोडेल राखेर पानीरङ र तेलरङमा पोट्रेट बनाएका छन् । त्यस्तै पेन्सिल माध्यममा बनाएको बच्चाको चित्र पनि मेहनतिलो काम मान्न सकिन्छ । त्यस्तै अर्को उत्कृष्ट चित्र ‘कमाण्डर इनचिफ बबर शमशेर’ को तेलचित्र हो।
उनको निवासमा रहेका चित्र तथा मूर्तिहरूको सङ्कलनको पाटो एकातिर छँदै छ भने अर्कोतिर उनले सिर्जना गरेका चित्रकृतिहरूको दृश्यावलोकन । यी सबैलाई कोठाका बेग्लाबेग्लै स्थानहरूमा राखिएका थिए । तिनलाई हेर्नु र तीबाट विगततिर फर्किएर तत्कालीन समयलाई सम्झिनुको आनन्द पनि अर्कै किसिमको हुन सक्थ्यो । त्यहाँ नेपाली कलासंसारको इतिहास थियो । त्यहाँ नेपाली कलाको कालखण्ड सुरक्षित थियो । त्यहाँ नेपाली कलाका ख्यातिप्राप्त कलाकार र तिनका अमूल्य कलाकृतिहरू अत्यन्त जतनले संरक्षण गरी सजाएर राखिएका थिए । यद्यपि यी सबैका विषयमा बुझ्न र अध्ययन गर्न पर्याप्त समय चाहिन्छ ।
उनको निवासमा उनले जम्मा गरेका चित्र र मूर्तिका अनगिन्ती सङ्ग्रह छन् । कति कृति ठाउँको अभावमा चाङ लगाएर राखिएका छन् । यस्ता कृतिबाहेक टिकट, घडी, मुद्रा आदिसमेत उनका सङ्ग्रहमा छन् । उनको सङ्ग्रहमा रहेका पुराना फर्निचर, कलात्मक ऐना, बुट्टेदार आँखिझ्याल, कुर्सी, टेबुल र आकर्षक फ्रेम आदिलाई हेर्दा उनको सौखको विषय र विधा अनेक क्षेत्रमा फराकिएको थाहा हुन्छ।
नेपाली कलाका एक सुनाम नरोत्तमदास श्रेष्ठको अवसानपछि उनका कलाकृति र स्वयम् उनकै बारेमा पनि कला संसार बेखबर जस्तै भएको देखिन्छ । उनका परिवार खासगरी उनलाई हेरविचार गर्ने उनको भाइका छोरा सञ्जय श्रेष्ठ, जसलाई नरोत्तमदासले छोराका रूपमा लिएका थिए । बुबाको इच्छालाई पूरा गर्न समयले साथ नदिइरहेको सञ्जय बताउँछन् । पुरातात्त्विक अध्ययन र अनुसन्धानका लागि उनको निवास यौटा खुला सङ्ग्रहालय त हुँदै हो त्यसलाई व्यस्थापन गर्दै ‘नरोत्तमदास–इन्दिरादेवी पुरस्कार र सम्मान’ लाई पनि चाँडै निरन्तरता दिइने जानकारी छोरा सञ्जयले दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया