हामी किन युक्रेनका राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको प्रशंसा गरिरहेका छौँ ? यसको उत्तर यो प्रश्नभित्रै नै निहित छ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौँ किनभने कठिनभन्दा पनि कठिन, एकदमै असमान्य बाधाहरूको सामना गर्दा पनि जेलेन्स्की आफ्नो अडानबाट डगमगाएका छैनन्। यदि मान्छेमा साहस र आत्मविश्वास छ भने उसले आफ्नो पक्षमा बहुमत बनाउन सक्छ उनले प्रमाणित गरिदिएका छन्। आफ्नो देशप्रतिको प्रेम र सम्मान त्यस्तो गुण हो जसलाई हामीले आफ्नै जोखिममा छाडेका हुन्छौं भन्ने कुरा उनले सावित गरिदिएका छन्। उनलाई हामी माया गर्छौँ किनभने भौतिक रूपमा नै उपस्थिति भएर व्यक्तिगत रूपमा उदाहरण हुन सक्नुको शक्ति कस्तो हुन्छ भन्ने कुरा उनले दुनियाँलाई देखाइदिएका छन्। किनकि उनलाई राम्रोसँग थाहा छ कसरी शब्दहरूले कर्म गर्नका लागि हामीलाई प्रेरित गर्न सक्छ, तिनीहरूलाई निश्चित आकार र उद्देश्य दिन्छ, अनि तपाईँले गरेका कार्यहरूले शब्दहरूको अर्थ पुष्टि गर्दछ।
हामी जेलेन्स्कीलाई सराहना किन पनि गर्दछौँ उनले हाम्रा आफ्नै राजनीतिज्ञहरूमा यस्ता विशेषता भेटिनु कति दुर्लभ भएको छ भनेर हामीलाई सम्झाएका छन्। पश्चिमा राजनीतिमा राजनीतिज्ञको भूमिकामा भएका मानिसहरू अन्तकालमा सेलिब्रेटी बन्न पुग्छन्। त्यसको विपरीत जेलेन्स्की एक यस्ता अभिनेता थिए जसले आफ्नो सेलिब्रिटी व्यक्तित्वलाई राजनीतिका लागि उपयोग गरेका छन्।
हामी जेलेन्स्कीको प्रशंसा नगरी रहन सक्दैनौँ किनभने आफ्ना नागरिकहरूलाई युद्ध कतिसम्म खराब हुने सम्भावना छ भन्ने कठोर सत्य बताउन उनी हिच्किचाएका छैनन्। उनी आफ्ना शुभचिन्तकहरूलाई उनीहरूका शब्दहरू खोक्रो छन् भन्ने कुरा बुझाउँछन् र ती शुभचिन्तकहरूलाई शब्दमा भन्दा वास्तविकता समर्थन दिनु पर्ने वताउँछन्। साधारणतयाः हाम्रा नेताहरू जनताले जुन कुरा सुन्न चाहिरहेका हन्छन्, त्यही कुरा बोल्न माहिर छन्।
पछिल्ला केही समययता उनले जे–जस्ता परिस्थितिहरूको सामना गरे, त्यस कुराले पनि जेलेन्स्कीप्रति सम्मानभाव बढाएको छ। भ्लादिमिर पुटिनले न त राष्ट्रको प्रतिनिधित्व गरेका छन् न त कुनै उचित कारणकै, उनले केवल एक अधिनायकवादी चरित्रको प्रदर्शन गरिरहेका छन्। रसियाका यी तानाशाहको नजरमा सत्य केवल शक्तिको सेवा गर्नका लागि बनेको हो। उनी यसै कुरामाथि विश्वास राख्छन्। र, जसले यसलाई ग्रहण गर्छ उसको प्रचार गर्ने र नगर्नेहरूमाथि आतंक थोपर्ने गर्छन्। अन्ततः, यो विचारको लक्ष्य शक्ति वा क्षेत्रको अधिग्रहण मात्र होइन, समग्र चेतनाको उन्मूलन गर्नु हो।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले स्वतन्त्र संसारको अवधारणालाई त्यसको उचित स्थानमा पुनर्स्थापित गरिदिएका छन्। ‘पश्चिमा समाज‘ ले भनेजस्तै स्वतन्त्र संसारको अर्थ केबल सांस्कृतिक अभिव्यक्ति मात्र होइन; ‘नाटो‘ ले भनेजस्तै सुरक्षाको अवधारणा मात्र पनि होइन, अथवा यो कुनै आर्थिक विवरण नै हो। स्वतन्त्र संसारको सम्बन्ध भनेको यस्तो कुरा हो जहाँ कुनै पनि राष्ट्रले आफ्ना नागरिकको अधिकारको रक्षा गर्न राज्यशक्ति पहिलो र प्रमुख हुन्छ भन्ने धारणा नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। र, स्वतन्त्र संसारको जिम्मेवारी भनेको आक्रमण र अत्याचारबाट खतरामा परेका कुनै पनि सदस्यलाई सहयोग र रक्षा गर्नु हो। युक्रेनको मामला जस्तै, यो कुरा हामी सबैमा लागू हुनेछ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले भन्ने सानाले आफूभन्दा निकै ठूलासँग भीडेर सत्यको पक्षमा लडेका दुई यहूदी मिथकहरूः डेभिडले गोलियाथको सामना गरेको र मोसेसले फारोको सामना गरेको सत्यलाई मूर्तरूप दिएका छन्। उनी सीप र बौद्धिकता भएका चतुर ‘अन्डरडग‘ हुन्। र, उनी एक यस्ता अगमवक्ता हुन् जो आफ्ना नागरिकमा ह्रास ल्याउने र उनीहरूलाई फँसाउने विरूद्ध उठ्छन्। उनीहरूलाई कठिनाईहरूबाट आत्म–निर्णय, स्वतन्त्रता र नैतिकतामा आधारित राजनीतिक संस्कृतितर्फ डोर्याउन नेतृत्व गर्ने निर्णय गर्छन्।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनी लड्छन्। संवाद, कूटनीति र सम्झौतालाई महत्व दिने सभ्य समाजमा पक्कै पनि लडाइँ वा झगडा सद्गुण होइन। तर संसार सधैं सभ्य हुँदैनः त्यहाँ यस्ता विषयहरू छन् जसका लागि सभ्य मानिसहरू र राष्ट्रहरू लड्न तयार हुनुपर्छ, यदि तिनीहरू नष्ट हुन चाहँदैनन्। जेलेन्स्की र युक्रेनका जनताले बाँकी स्वतन्त्र संसारलाई बुझाएका छन् कि यहाँका नागरिकहरूले आफ्नो इच्छा अनुसार उदार र प्रजातान्त्रिक विरासत लिएझैँ यसका शत्रुहरूले जोखिम लिन्छन्।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले प्रकृतिमा रहेका सबैभन्दा सुन्दर देवदूतहरूलाई हुर्काउनेछन्। उनको नेतृत्वले जो बाइडेनलाई राम्रो राष्ट्रपति, जर्मनीलाई राम्रो देश, नाटोलाई राम्रो गठबन्धन बनाएको छ। यसले संयुक्त राज्य अमेरिकाको धेरैजसो भागलाई अलगाववादी मूर्खहरूबाट उठायो जसका कारण अमेरिका बिस्तारै तलतिर झर्दै थियो। उनले युरोपका राजनीतिक र व्यापारिक वर्गलाई रुसको वंशबाट टाढा फासीवादतर्फ नजर लगाउन बन्द गर्न बाध्य तुल्याए। यसले स्वतन्त्र समाजहरूलाई सम्झायो कि कम्तीमा पनि यस्ता महत्वपूर्ण विषयहरूमा राजनीति अझै पनि महत्वपूर्ण केन्द्र हुन सक्छ।
प्रजातान्त्रिक पद्धतिद्वारा निर्वाचित नेताका लागि योग्य मानव मापदण्ड के हो भनेर उदाहरण बन्न सकेकोमा हामी जेलेन्स्कीको प्रशंसा गर्छौं । पत्रकारहरू, मन्त्रिपरिषद्का सदस्यहरू, विदेशी नेताहरू र आम नागरिकहरूसँगको सार्वजनिक मुठभेडहरू र पुटिनको अदालतको स्टालिनवादी गतिविधिहरू बीचको भिन्नतालाई ध्यान दिनुहोस्। रूसी शक्तिको जालोमा, हामी यसलाई चलाउने मानिसको क्षुद्रता देख्छौंः एक तानाशाहको पागलपन र असुरक्षा देख्छौँ, जसलाई थाहा छ कि उसले एक दिन घोडाको लागि आफ्नो देशलाई नै बेच्न सक्छ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने एउटा मानव कस्तो हुनुपर्छ भन्ने कुराको उनी उदाहरण हुन्। प्रभावकारी होइन प्रभावशाली; घमण्ड होइन आत्मविश्वास; अचम्मका बहानाबाजी होइन बुद्धिमानी; निन्दनीय नभएर इमानदार; उनी एक साहसी हुन् किनभने उनी डराउँदैनन्, तर स्पष्ट विवेकका आधारमा अगाडि बढ्छन्। विशेष गरी अमेरिकी युवाहरू, पुरुषत्वमा के समावेश छ भन्ने बेतुकका धारणामा हुर्केका थिए, उनीहरूले जेलेन्स्कीको उदाहरणलाई पछ्याउन सक्नुपर्छ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले हाम्रो आफ्नै समस्याग्रस्त लोकतन्त्रले अझै पनि हामीलाई प्रेरणा दिन, हामीलाई सम्मान गर्न र हाम्रो रक्षा गर्न सक्ने नेताहरू चयन गर्न सक्छ भन्ने कुराप्रति आशावादी हुन सिकाएका छन्।
न्युयोर्क टाइम्समा प्रकाशित आलेखको भावानुवाद।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया