पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले विश्वभर फैलिएको नेपाली समुदाय पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाइने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई हुदै बिदेशमा समेत प्रचलित हुँदै आएको छ।
छठ विशुद्ध रुपमा एउटा धार्मिक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।
सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलीमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन रहेको छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरूले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरू ल्याएर राखिदिने चलन छ । यसरी ल्याइएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्यस्वरुव उदाउँदो सूर्यलाई देखाएपछि प्रसाद स्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरूले विभिन्न मनोकाङ्क्षा पूर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरूप छठमा प्रसादी चढाउने चलन चली आएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा नहाई खाय, दोश्रो दिनलाई “खर्ना” भनिन्छ, तेश्रो दिनलाई “सँझिया अर्घ्य” छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरु भएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई “विहनीया अर्घ्य” पारण भनिन्छ ।
पहिलो दिन व्रतीले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
दोश्रो दिन- अरबाको दिन गाँउका युवाहरू मिलेर छठ मनाइने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाउँदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।
तेश्रो दिन “सँझिया घाट”अर्थात् साँझमा व्रतालुहरु खोला, नदी, तलाउ अथवा जलासयका पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्दछन् । अनि चौँथो दिनको बिहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।
त्यस्तै यस पर्वको मुख्य दिन षष्ठीका दिन साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटानपिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
त्यस्तै त्यसको भोलिपल्ट एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्नेछन्।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।
लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको जनविश्वास रहेको छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमासमेत विकसित छठ पर्व हिन्दू सँगसँगै अरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनु पर्दछ तर चढाउने सामथ्र्य नभएकाले धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको छ।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
सामाग्री श्रोत : हाम्रो पात्रो तथा रासस