काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको हो।
भाद्र शुक्लचतुर्दशीको शास्त्रीय नाम अनन्त चतुर्दशी हो । अनन्त चतुर्दशीका दिन नेपालमा इन्द्रजात्रा मनाउने परम्परा छ तर भनाईमा इन्द्रजात्रा हो, रथयात्रा भने गणेश, भैरव र कुमारीको गरिन्छ ।
काठमाण्डौका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले इन्द्रजात्राको अवसरमा गणेश, भैरव र कुमारीको रथयात्रा गर्ने परम्परा बसालेका थिए । इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ।
इन्द्रजात्राका लागि काभ्रेको नालाबाट ल्याइएको ‘यँंसी’ अर्थात् इन्द्रध्वज ठड्याउने चलन छ। इन्द्रध्वज वा नेपाल भाषामा यम्बद्यो ठाउँठाउँमा उठाउने चलन छ। हनुमानढोका परिसरमा ‘यःसिं’ भनिने लिङ्गो विधिवत् ठड्याएपछि इन्द्रजात्रा शुरू हुन्छ । इन्द्रजात्रा भनिए पनि यसमा ‘इन्द्र’ नामक देवता एक्लैको जात्रा हुँदैन । यःसिं ठड्याएको तेस्रो दिनपछि हुने कुमारी, गणेश र भैरवको रथयात्राको छुट्टै आकर्षण हुन्छ, त्यसैले यसलाई ‘कुमारी जात्रा’ वा ‘कुमारी रथयात्रा’ पनि भनिन्छ । तर यस पर्वसँग सम्बन्धित जनसमुदायले समग्र पर्वलाई ‘यँन्याःपुन्हि’ भन्ने गरेको पाइन्छ।
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
किम्बदन्ती यस्तो छ :
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ। इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।
इन्द्रजात्राको विषेश महत्व:
नेपाल एकिकरणको परिप्रेक्षमा यस दिनको विशेष मह्त्व छ । यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए ।
यसै अवसरमा पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहले भाद्र शुक्लद्वादशीका दिन कालभैरवको सामुन्ने इन्द्रध्वजोत्थान गर्ने परम्परा बसाले । त्यस अघि भाद्रशुक्ल एकादशीका दिन अटकोनारायणको मन्दिर सामुन्ने इन्द्रध्वजोत्थान गरिन्थ्यो र यो परम्परा अहिले पनि कायमै छ ।
पृथ्वीनारायण शाहका नाति, प्रातापसिंह शाहका छोरा रणबहादुर शाहले हनुमानढोका दरबारको सामुन्ने श्वेत भैरवको विशाल मकुण्डो स्थापना गरी इन्द्रजात्राको बेला भैरवको मुखबाट जाँडको धारा बगाई जनतालाई जाँड ख्वाएर रमिता गर्ने परम्परा बसालेका थिए ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया