spot_img
Thursday, November 21, 2024
48.9 F
Washington DC.
spot_img

लंगडो बनाइएको सुन्दर देशमा जुर्मुराएका युवाहरु

सम्बन्धित समाचार

यस लेख मार्फत भारतीय सिनेमाको विवेचना वा यसको प्रमो/प्रचार गरिएको हैन।  बरु, यस सिनेमाले दिन सफल भएको सन्देश र नेपाली राजनितीमा युवाहरुको सहभागीताको महत्वलाई पस्कने प्रयास गरिएको छ।

पहिलो प्रसंग: भारतीय सिनेमा ‘नायक’ को !

राजनीतिमा परिवारवाद , गुण्डागर्दी र भ्रष्टाचार व्याप्त रहेकाकारण जनताले पाएको दुख र पीडाका सम्बन्धमा यदि अधिकार प्राप्त राजनीतिक व्यक्तित्व वा अधिकारिले कानून सम्मतरुपले निस्वार्थभावले काम गरेमा देश र जनताको स्तरमा तुरुन्तै फरक ल्याउन सकिन्छ  भन्ने संदेश दिएको छ भारतीय सिनेमा – नायकले । 

एक टेलिभिजनमा सामान्य पत्रकार रहेका अभिनेता अनिल कपुर सिनेमामा माग भए अनुसार २४ घण्टाका लागि मुख्यमन्त्री बन्दछन र तोकिएको अवधि भित्र आफुले जनजीवनमा परिवर्तन ल्याउन सक्ने बाचा गर्दछन । उनले उक्त अवधिमा भष्ट्रचारी कर्मचारीहरुलाई ‘अन द स्पट’ जागिरबाट फायर गर्दछन।  त्यस्तै , राजनीतिक शक्ती केन्द्रबाट आशिर्बाद पाई देश दोहन गर्नेहरु, सरकारी जग्गा /सम्पति हडप्नेहरु , कर नतिर्ने र कालोबजारी तथा गुण्डागर्दीमा लागेकाहरुलाई एक एक गर्दै तह लगाउछन। 

२४ घन्टे कार्यकालको समाप्ती संगै उनको कामको प्रसंसाले देश भरी नै ठुलो चर्चा पाउछ भने विरोधीहरु उनको ज्यानको पछी लाग्दछन।  देशभरीनै उनका समर्थक युवा लगायत जनसमुदायहरु जुरमुराउछन र उनलाई राजनीतिमा आई देश बिकासमा संलग्न हुन् दबाब दिन्छन। 

आफु सामान्य पत्रकार मात्र रहेको र राजनीति आफ्नो चाहना नभएको भन्दै गर्दा सिनेमाका अर्का पात्र मुख्यमन्त्रीको पिएको भूमिकामा रहेका सहयोगी परेश रावलले युवाहरुलाइ लक्षित गर्दै  एक मार्मिक तर समय सान्दर्भिक भनाई यस प्रकार राख्छन:

” युवाहरु सधै भरी नेता र सरकारलाई काम भएन , देशको विकाश भएन , भ्रष्ट्राचार भयो , जनताले दुख पाए , युवाहरुले मौका पाएनन् जस्ता गुनासो गरी राजनीति र नेताहरुलाई दोष दिने गर्छन तर देशको विकाशमा युवाहरुलाइ राजनीतिमा आउन आग्रह गर्दा भागेर हिडने तिमीहरु यो देशमा श्राप हौ।”

राजनीतिमा आफु नजाने अडान लिएका अनिल कपुरलाई जनताहरुको भिड देखाउदै परेश रावल अगाडी भन्छन ” यो जनताको भिड पैसा दिएर, रक्सी र कुखुरा खुवाएर , ट्रकमा लादेर ल्याएका मान्छे हैनन्।  यी सबै स्वस्फुर्त आफै आएका हुन्।  यो मान्छे असल र हाम्रो भबिष्य सुधार्न सक्छ अनि राम्रो सरकार बनाउन सक्छ भन्ने आत्मविश्वासले आएको भिड हो।  युवाहरुलाई सोध्यो कोहि डाक्टर , आइयस , ईन्जिनियर, वकिल  बन्छु भन्छन तर एउटा ब्यक्तिपनि नेता बन्न तयार छैन।  

“राजनीति फोहोरको नाली हो भन्दै सबै भाग्छन। कोहि पनि यो फोहोरमा रहेर नाली सफा गर्न तयार छैनन । तर, देश दोहन गर्ने हरुलाई देशको बागडोर थमाउछन जहां उनीहरूसंग जीउनकालागी जिन्दगी समेत बचेको हुदैन ।  तिमि जस्ता सबै युवाहरू यहि सोच्दछन कि १५ – २० हजारको जागिर होस् , एउटी सुन्दर पत्नी अनि सहरमा घडेरी  र सुन्दर घर अनि बगैचामा अखबार पढदै चियाको चुस्कीमा ” डार्लिङ्ग , राजनितीले यो देशलाई खतम गर्यो”!

उनी अनिल कपुरलाई अगाडी भन्छनः “जाउ.…….  ! राजनितीलाई गाली गर्न कसैलाई हक छैन …. ! तिमी जस्तै माहात्मा गान्धी घर मै बसेर श्रीमती , छोरा छोरी भन्दै बसेका भए आज तिमी पनि अंग्रेजको घरमा ट्वाइलेट सफा गर्दै हुने थियौ। एउटा अन्डी (रेसम) को किरा ले त मर्ने बेलामा आफ्नो थुकले सय बर्ष सम्म आफ्नो नाम राख्छ भने हामी त मान्छे हौ। “

त्यसैबेला, भिडको एउटा कुनामा भुईमा लत्रिएर हिडने एक अपाङ्ग युवकलेले अनिल कपुरलाई फुलको माला लगाउदै भन्छन : ” हाम्रो देश पनि म जस्तै लंगडो भएको छ , तपाई उसलाई उठाएर चल्न सक्ने बनाई दिनुहोस।”

त्यसपछि, राजनीतिको फोहोर सफा गरी देश र जनताको बिकास गर्ने सङ्कल्पका साथ युवाको प्रतिनिधित्व गर्दै सिनेमाका अभिनेता अनिल कपुर राजनितीमा होमिञ्छन।  

अब खास मुद्दा तर्फ लागौ !

दोश्रो  प्रसंग: नेपालको राजनीति,  वृद्ध नेताहरूको हालीमुहाली  र युवाहरुको जोश

भारतीय सिनेमा ‘नायक’ ले युवाहरुलाई दिएको सन्देश र त्यसमा भनिएको लाईनले नेपाली राजनीतिमा युवाहरुको आवस्यकताका बारेमा पक्कै पनि निरास भएका युवाहरुको मन छोएको हुनु पर्दछ।

लगभग साढे २ महिना पछी संघीय संसद र प्रदेश सभाको निर्वाचन हुदैछ।  मंसिर ४ गते तोकिएको निर्वाचनका लागि ठुला साना सबैजसो राजनीतिक दलका उम्मेदवारहरु मैदानमा उत्रीने छन्।  यसपालीको स्थानीय निर्वाचन पश्चात स्वतन्त्र उम्मेदवारहरूको लहर समेत देखिएको छ ।

ठूला राजनीतिक दलमा उहि “पुराना” हरुको बर्चर्स्व देखिने पक्का जस्तै छ। परम्परागत रुपले सावा र ब्याजको हिसाब किताव अनुसारको उम्मेदवारहरूको चयनले यसपाली पनि त्यहा भित्रका युवा नेताहरू टिकट पाउने कि नपाउने भन्ने अन्यौलतामा नै छन्। राजनीतिक बिचार र आदर्शले यसपालीको चुनावमा कुनै काम गर्ने छैन। सत्ता र कुर्शी प्राप्तिकालागि दलहरु बिचको  गठबन्धन र सिटको भागबण्डाका कारण दलहरु भित्रका उर्जावान युवानेताहरूले सम्मानजनक संख्यामा टिकट नपाउने पक्का छ। 

एक सय चार बर्ष राणाहरुले नेपालमा  शासन गरे  -ईतिहासमा लेखियो र हामी सबैलाई पढाइयो  – तानाशाही राणा शासन। राणा शासनलाई  पूर्णतया नकारात्मकरुपले प्रस्तुत गर्दै उनीहरुको सकारात्मक पक्षका बारेमा हामी कसैले पनि पढन पाएनौ।  हाम्रो दिल र मस्तिष्कमा राणाहरुप्रति एउटा नकारात्मक धारणा उत्पन्न गराइयो।  

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भयो।  प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायतले बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलन भयो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो ।

त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

त्यसपछि राजाले सत्ता आफ्नो हातमा लिए, पंचायत आयो, राजाले तिस बर्ष शासन गरे।  देशमा प्रसस्तै बिकाशहरु भएका हुन्।  देशका जनतामा अनुशासन थियो र राजसस्था प्रति आस्था , मान र सम्मान थियो। 

पंचायतले प्रजातन्त्र खोसेको र जनताले प्रजातान्त्रिक हक मागेका भन्दै पंचायत बिरुद्द् निर्वाशित नेताहरुको अगुवाईमा आन्दोलन चर्कियो। त्यसपश्चात जनचाहना अनुरूप राजाले प्रजातन्त्र दिए। प्रजातन्त्रको प्राप्ती पश्चात जनताले स्वतन्त्रता पाए , देशमा निजी कल कारखानाहरु थपिए।  बाटो घाटो , अस्पताल , स्कुल आदि थपिए।

बिस्तारै नेताहरुमा बेथिती र भष्ट्राचार मौलाउन थाल्यो

प्रजातन्त्र प्राप्तीको केहि अन्तराल मै सरकारी स्वामित्वका कल कारखाना लगायत सस्थाहरुलाई कार्यकर्ता तथा नातागोता भर्ति केन्द्र बनाई देश दोहनको क्रम शुरु भयो।  कुर्शी र सत्ताका लागि पटक पटक मन्त्रीमंडल परिवर्तन गरी देशमा अस्थिरता निम्त्याउदै देशलाई नरक बनाउने र  प्रजातान्त्रको घाटी रेटने काम पनि तिनै योग्दा नेताहरुबाट नै भएको थियो भन्दा अतुयुक्ति नहोला ।

चप्पल लगाएर सिहदरबार छिरेका  प्रजातान्त्रकालागि आन्दोलन गरेका नेताहरु र उनीहरुका परिवार , नातागोताको आर्थिक स्तरको ग्राफ नब्बे डिग्रीले उकालो लाग्यो भने जनताको आर्थिक स्तरको ग्राफ नब्बे डिग्रीले ओरालो लायो।  देश बिस्तारै खोक्रो हुन् थाल्यो।  कलकारखाना लगायत सस्थाहरु बन्द हुन् थाले।  रोजगारीको अवस्था दयनीय हुन पुग्यो र देशका उर्जावान युवाहरुलाइ अन्य मूलुकमा श्रम बेच्न बाध्य बनाइयो। 

आफु र परिवारको पेट पाल्न कै लागि अर्काको देशमा श्रम बेच्न बाध्य पारिएका युवाहरुले पठाएको रेमिटेन्सले देशको ठुलो आर्थिक भार थेगेकाले सरकारले आफ्नै देशमा रोजगारी सृजना गर्न चासो देखाएन वा सकेन। सत्ताका लागि सधै ‘म्युजिकल चेयर’ को खेल खेलाइयो र लोकलाई हसाउने काम गरियो।

जनचाहना अनुरूप देश विकास हुन नसकेका कारण ससस्त्र माओबादिको आन्दोलन शुरु भयो। देशमा कुना काप्चा र बिकास नदेखेका जनताले ससस्त्र माओबादिको आन्दोलनलाई सहयोग गरे।  कलम र कापी बोक्ने उमेरका कलिला बिद्यार्थीलाई माओबादिले जबरजस्ती बन्दुक र बारुद बोकाए। माओबादि आन्दोलनताका गरिव र पिछडिएका जनताहरुलाई आश्वाशनको भारी बोकाईयो। दश बर्षे लामो माओवादी आन्दोलनले देशमा बचेका कल कारखाना , उद्योग धन्दा सबै चौपट बनाइए।

अन्तत:सत्र हजार नेपालीको रगतको आलमा गणतन्त्रको स्थापना भयो।  राजा ज्ञानेन्द्रले शान्ती पूर्ण रुपमा राजगद्दी त्याग्दै दरबार छाडे।

यसरी धेरै उकाली र ओराली गर्दै  प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भयो।

गणतान्त्रिक नेपालको स्थापना पश्चात जनताले नयाँ संबिधान पाए। पाएको संबिधान पनि यति हतार हतारमा ल्याइयो कि जनताले आफ्नो संबिधान आफै बनाउन पाएनन्।  गणतन्त्रबाट देश र जनतामा धेरै परिवर्तन हुने आशा गरेका जनताहरु बिस्तारै निराश हुन थालेका छन्।  गणतन्त्र स्थापना भएको पनि चौध बर्ष बितेको छ तर जनताको आर्थिकस्तर पुरानो भन्दा अझै खस्केको छ।  गणतन्त्र स्थापनाको यस चौध बर्षमा जनताले परिवर्तनको कुनै पनि स्वाद चाख्न पाएका छैनन्।  हो , परिवर्तनको सावा र ब्याज उनै नेताहरु , उनीहरुका परिवार र कार्यकर्ता बाहेको अन्यले आज सम्म पाएको अनुभूति गर्न सकेका  छैनन्। 

नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको प्रधानमन्त्री भैसकेकाले नै बताउछन । जब चुनाव नजिक आउछ तब नेताकोहरुको लस्कार दिल्ली र चीनीया दरवारहरुमा देख्न पाईन्छ। जब नेपालमा दलगत विवाद, राष्ट्रियता सम्बन्धि बहस, निर्वाचन लगायत नितान्त आन्तरिक कुरामा समेत बिदेशी राजदुताबासमा नेताहरुको लाईन लाग्दछ। तर , तिनै विवाद वा बहसका बिषयलाई जनता सामुन्ने ल्याइदैन। नेपालको संबिधान समेत नेपालीले लेख्न नपाई विदेशीको चाहना अनुरुप लेखिएको सबैमा जग जाहेर नै छ।

यसप्रकार राजनीतिक दलहरूप्रतिको वितृष्णा बढेसँगै यतिबेला युवा उम्मेदवारप्रति जनताहरुको बिश्वास बढ्दै गएको छ। तर, युवाहरुको आत्मविश्वास निरन्तर खस्केको देखिन्छ : जुन जोगी आएनी कानै चिरेको …. !” अब देशमा केहि हुन् नसक्ने भन्दै निराश देखिन्छन । उनीहरुको भनाइ छ – पुराना दलहरुको बर्तमान सिन्डिकेट नतोडेसम्म यो देशमा केहि गर्न सकिदैन। अर्काथरी भन्छन – देशका साशकहरुले राजनीतिमा आफ्नो बर्चस्वलाइ कायम राख्न जानी जानी उर्जावान युवाहरुलाई देश बाहिर पठाए पछि अब कसले गर्दछ राजनीति?

अब यो परम्परागत फोहोरी राजनीतिको सिण्डिकेट तोडी कसरी युवाहरुमा सत्ता हस्तान्तरण गर्ने भन्ने बारे यतिबेला युवाहरु बिचमा चर्चा शुरुहुनु सकारात्मक संकेत मान्न सकिन्छ। युवाहरुले आवाज बुलन्द गर्न थालेका छन् – आन्दोलन गरेको , जेल नेल भोगेको जस्ता सदाबहार तर्क दिएर हजुरबुवा हुदै नाती/नातिनी , पनाती/पनातिनी  हुदै अब त जनातीको पालासम्म भागबण्डा गरिएको संघीयता र क्षेत्रलाई कब्जागरी चुनाव लडी सत्तामा पुगेकाहरुले देश र जनताप्रति उत्तदायी पटक्कै भएनन्। बरु , देशको अवस्थालाई आफ्नै हजुरबुवाको पालाको भन्दा पनि कमजोर बनाए। 

निष्कर्ष :

पुराना र वृद्ध नेताहरूको आशिर्वाद लिदै उहाहरुको  योगदान र सहयोगका लागि धन्यवाद र आभार सहित अवकास लिन आग्रह गर्ने दिन आएको छ। अब उर्जावान र पढेलेखेका युवाहरुले राजनीतिमा आफ्नो उपस्थिति देखाई देशको बागडोर सम्हाल्नु पर्ने तर्फ तर्क बलियो बन्दै गएको छ।

यतिबेला, फिल्म नायकको स्टायलमा काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहको क्रेज त्यसै हलक्क नब्बे डिग्रीले उकालो लागेको हैन।  मेयर बालेनले झैँ कुनै दबाब र प्रभाव बिना काम गर्दा जनजीवनमा परिवर्तन ल्याउन सकिने रहेछ भन्ने अब युवाहरुले बुझ्न थालेका छन्। यसरी देश र जनताको जीवनस्तर उकास्न अब युवाहरुको बिकल्प छैन भन्ने जनजिब्रोमा संदेश जानु पक्का पनि सकारात्मक पक्ष हो। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

नेपालबाट बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात सुरू, पहिलो पटक डलरमा व्यापार

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गरेर विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपालका ऊर्जा,...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img