spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

हाम्रो सह यात्रा अनि ईन्द्रेणी रंग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
लेखक/साहित्यकार सम्झना काफ्ले

समयले आफ्नो गति लिइरहेकै छ ।प्रकृति आफ्नो चक्रमा चलिरहेकै छ । संसारमा सबै कुरा यथायथा छन् होला । सबै आफ्नो संसारको अनुकूल भएर सधैं जस्तै सबै कर्म गरिरहेकै होलान् । कसैको केहि बदलियो होला कसैको केहि बदलिएन होला तर यति बेला मेरो त धेरै कुरा बदलियो । अनायासै बीच बाटोबाट मेरो साथी तिमी हरायौ मेरो संसार पनि बदलियो ।

यति बेला जिन्दगी कालो रंगले ढाकेको समयमा टक्क अडिए जस्तै लाग्छ । हिजोसम्म सातै रंग सातै सुर मिलेको जिन्दगीमा आज अचानक तिमी हराएर मेरो संसार कालो रंगले ढाकेको ईन्द्रेणी जस्तै भएको छ ।
मान्छेको जीवनलाई पनि समस्टीगत रुपमा हेर्दा जीवनका सबै रंग मिले भने इन्द्रेणी जस्तै सुन्दर हुने हो ।एउटा मात्र रंगको अधिकता भएको भए ईन्द्रेणी पनि नराम्रै हुन्थ्यो होला ।अहिले मेरो ईन्द्रेणीको रंग बैरागी भएको छ ।

मनकै कुरा हो ;यो समय कालो छ । तिमीसंग पहिलो भेट हुंदाको ताका मेरो समय गुलाबी थियो । तिमी पढाइको लागि परदेश लाग्दा एउटा अर्कै रंग थियो होला । आफ्नो गृहस्थी आफ्नै बुतामा चलाउन शुरु गर्दा शायद् हरियो हुंदो हो ।यसरी नै रंगहरु थपिएर सन्तानका सुखी जीवनसम्म हामी आइपुग्दाको समय हाम्रो सहयात्रामा सुन्दर ईन्द्रेणी फुलेको थियो जसलाई आज तिमीलाई चुंडाउने निर्दयी विधिको खेलले कालो रंगले पोतिदियो ।

फाइल फोटो : श्रीमान घनेन्द्र काफ्लेका साथमा

तिमी हुंदा तिम्रो आंखा खुले पछि मेरो बिहान हुन्थ्यो र दिनका चारै प्रहर तिम्रो वरिपरि नै घुमिरहेर दिन बित्ने गर्थ्यो । तिम्रो खुसी ,सुख र दुख सबै मेरा थिए । तिमी रमाउंदा म रमाउंथें । तिमीलाई दुख्दा मलाई पनि दुख्थ्यो ।तिमीलाई मन नपर्ने काम कुरा गर्न मलाई मन लाग्दैन थियो । मान्छेहरुले अपत्यार गर्न सक्छन् यस्तो पनि भएकै हो र भनेर । तर खै कुन्नि कुनै अदृश्य तन्त्रले मलाई तिमीमय भएर बांच्न लगायो /सिकायो भन्न सक्दिन । तिमीलाई रिझाउनु र तिमीलाई सजिलो पार्नु मेरो पहिलो धर्म भन्ने मेरो हृदयले मानेको थियो ।

तिमीसंग भेट हुंदा किशोर अवस्था थियो । किशोर मनको हरेक तन्तुमा तिमीप्रति अगाध प्रेम बस्यो ।दुर्गम गाउंको बन्द समाजमा परम्पराले सिकाएका मानकहरु नै मष्तिष्कका हरेक तन्तुहरुमा नमेटिने छाप बनेर गडेका हुन्थे । त्यो बेलाको चेतना त्यहि बन्द समाजको चार किल्लामा सीमित रहन्थ्यो । बुबा आमाले यहि मान्छे मान्छे नै तेरो सबै थोक हो भनेर पढाउनु भयो । यो पढाई नै जीवनको सबै भन्दा ठुलो वेद अनि पुराण भयो । हजुर आमाले रामायणकी सीता अनि बडी आमाहरुले बधू शिक्षा पढाउनु भयो । आमाले भाउजुले दिदीहरुले फुपुहरुले सबैले आफ्नो मातापिताले रोजेर / खोजेर बनाइदिएको जोडीदारलाई सर्वस्व मानेको देखेकै थियो । कमसे कम उनिहरुले त्यसरी सर्वस्व नमान्ने विकल्प पनि उनिहरुलाई नहुंदो हो । मेरो आफ्नो सबालमा त विकल्प मलाई चाहिएकै थिएन । तिमी अनि तिमी नै मात्र मेरो सम्पूर्ण विकल्प थियौ जसलाई मैले तुरुन्तै मेरो सम्पूर्ण आत्माले मेरो सर्वस्व स्वीकार गरेकि थिएं ।तिमी नै त मेरो सर्वस्व थियौ ।

तिमीले आफ्नो जीवन यात्राको सहयात्री मलाई नै रोज्नु /स्वीकार्नुको कारण मैले कहिले पनि सोधिन किनकि मसंग त कुनै प्रश्न / कारण केहि छंदै थिएन । मलाई त विधिले तिम्रै लागि बनाएका थिए । पहिलो दिन र अन्तिम दिनसम्म पनि तिमी नै मात्र मेरो सर्वस्व थियौ र मेरो संसार थियौ । तिमी नहुंदा मेरो सर्वस्व सकिएको छ र मेरो संसार सकिएको छ ।

संसार ! हाम्रो संसार अरुको जस्तै थियो कि थिएन अथवा अरुको संसार हाम्रो जस्तो थियो कि थिएन मलाई थाहा छैन तर हामी दुईको कहिल्यै न हार्ने र कहिल्यै नथाक्ने संकल्पमा ईन्द्रेणीका सातै रंग थिए । सबैमा मिंठास थियो । जीवनको पछिल्लो समयमा हामी आफ्ना बितेका बर्सहरुका कथाहरुका प्रसंग केलाउंथ्यौं र आफैंप्रति आफैं गौरव मान्थ्यौं । कहिं कतै स्वाभिमान बन्धकी नराखी एउटा सफल गृहस्थी जीवन चलाउनु सजिलो त थिएन नि तर हामी एक ढिक्का थियौं र हाम्रो संसार नव रसपूर्ण भयो ।

मैले आफ्नो बरालिएका मनका भावहरु पोखिरहंदा कतै तिमीलाई निर्बन्ध भएर आफ्नो महाप्रस्थानको बाटो हिंड्न पो बाधा हुने हो कि अलिक् संशय त छ । तर जब मनका भावहरु अक्षर भएर पोख्न थाल्छु मलाई तिमीसंगै बसेर कुरा गरे जस्तो लाग्छ नि । तिमीसंग कुरा गर्न छोडें भने मेरो बांकिको चेतना पनि विलुप्त हुने हो कि ?

जन्मना जायते मृत्यु …कतै भनिएको छ । ढिलो छिटो सबैको जाने पालो अवश्य आउंछ यो पनि शाश्वत सत्य हो । तिम्रो पालो आयो तिमी त गयौ ।तर जिन्दगीको यति लामो यात्रामा अविच्छिन्न साथ दिएको मेरो साथीसंग छुट्नु परेको यो बेला मैले एक्लै बांच्न सिक्नु परिरहेको छ नि त ।

मान्छे भन्छन् उसलाई तैले बन्धनमुक्त हुनबाट रोकिरहेकी छस् । तर तिमी त गइसक्यौ । एउटी साधारण गृहिणीको मन जसले आफ्नो प्रेमी तिमीलाई सधैं अखण्डित प्रेम गरिरह्यो उसलाई आफ्नो पृयतमसंग छुटेको घाउ आलै हुंदा कुनै धर्म ,शास्त्र र दर्शनका कुराहरुले कसरी फकाउन सक्लान् ? कसैले मलाई पागल भने पनि मैले तिमी नभएको जिन्दगी बांच्ने बानी नपरुन्जेल आफ्ना अव्यवस्थित भावहरु पोखिरहनेछु मेरो साथी ..

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img