spot_img
Saturday, September 28, 2024
73.7 F
Washington DC.
spot_img

सिर्सिया नदी प्रदुषित गर्ने पाँच उद्योगलाई  १५ लाख जरिवाना

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगञ्जका पाँच वटा  उद्योगलाई दण्डित गरेको छ। नदि प्रदुषण गर्ने उद्योगहरूलाई महानगरपालिकाले कार्यवाही गर्दै  १५ लाख रुपैयाँ जरिवाना गरिएको पत्र काटेको छ।

महानगरपालिकाले वीरगञ्ज – पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरिवाना गरेको हो। वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटाइल प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पल्प एण्ड पेपर प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।

नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र तोकिएको जरिवाना रकम  बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो। ७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरू विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ।

वीरगञ्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित गर्ने ५ उद्योगहरूलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताउनुभयो।

यसअघि महानगरले गत फागुन १६ गते उद्योगहरूबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैयाँ जरिवाना तिराएको थियो।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाइरहेको छ। उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो। त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका ती पाँच उद्योगलाई पत्र पठाएर नदि प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो।

महानगरले लिखित रूपमै चेतावनी दिदा समेत अटेरी गरि उद्योगका फोहोर र रसायनयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले जरिवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो।

उहाँले भन्नुभयो,‘ सिर्सिया नदि वीरगञ्ज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन। ‘
उहाँले अनुगमन जारी रहने र नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताउनुभयो।

बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ। औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो।

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदि छेउका स्थानीय बताउछन्।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरू नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरूको नामै किटान गरिएको थियो।रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदुषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरूको नाम किटान गरिएको थियो ।

समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो। सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताहरूले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन्।

श्रोत: अनिल तिवारी /आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img