हिमाल पारीको देश/ जिल्ला भनेर चिनेने मुस्ताङ जिल्लामा समुन्द्री सतहबाट झण्डै २७१० मिटरको उचाइमा भगवान श्री विष्णुको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मुक्तिनाथ मन्दिर अबस्थित छ। मुक्तिनाथ क्षेत्रको बारेमा हिमवत्खण्ड पुराणमा बर्णन गरेको पाईन्छ। पौराणिक मान्यता,लोककथा तथा किंवदन्तीअनुसार ब्रह्माजी स्वयं होता बनेर यज्ञ गर्नु भएको,शिवजीले अग्नी स्वरूप धारण गर्नु भएको र विष्णुजीले पानी रूप धारण गर्नु भएको भन्ने मान्यता छ।अर्को तर्फ राक्षस राज जालन्धरकी पत्नी वृन्दाको श्रापबाट भगवान विष्णु शिलाको रूप धारण गर्दै शालिग्राम बनेर यस क्षेत्रमा उत्पन्न हुनु भएको भन्ने विश्वास रहि आएको छ।पवित्र दामोदर कुण्डबाट उत्पन्न हुने कालीगण्डकी सेरोफेरोमा प्रसस्त मात्रामा शालिग्रामहरू अहिले पनि पाईन्छन्।यस क्षेत्रमा भगवान बिष्णुले तपस्या गर्दा उहाँको शरीरबाट छुटेका पसिनाले जलको रूप धारण गरि १०८ धाराको रूप लिएको लोक मान्यता रही आएको छ।उक्त १०८ धारामा स्नान गर्दा पूर्ण स्नान प्राप्त हुने मान्यता छ।मुक्तिनाथ क्षेत्रलाई मुक्तिक्षेत्र पनि भनिन्छ।उक्त स्थान मोक्ष प्राप्तिको स्थल भएकोले मुक्तिक्षेत्र भनेर चिनिन्छ। उक्त क्षेत्रमा सूर्यकुण्ड, दूधकुण्ड लगायत पवित्र कुण्डहरू छन्। कालिगण्डकी र गण्डकीको संगमलाई कागबेनी भनिन्छ।कागबेनीमा पित्रृश्राद्ध गरे पश्चात पित्रृहरूको मोक्ष हुने मान्यता छ।
हिन्दु धर्मालम्विहरूले उक्त क्षेत्रलाई मुक्तिक्षेत्र मान्छन् भने बुद्ध धर्मालम्विहरूले छुमिङ ग्यात्सा भन्छन्।तिब्बती भाषामा छुमिङ ग्यात्साको अर्थ सय पानी भन्ने हुन्छ।तिब्बती बुद्ध धर्मालम्विहरूको २४ तान्त्रिक तीर्थस्थल मध्य मुक्तिनाथ १ तीर्थस्थल मानिन्छ। वैष्णव धर्मालम्विहरूले १०८ दिव्य देश मध्य १ दिव्य देश मान्दछन्।उक्त क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको संगम स्थल तथा सद्भाव र एकताको केन्द्र हो भन्दा अतिशयोक्ति नहोला।
आध्यात्मिक तथा धार्मिक महत्वका साथसाथै उक्त क्षेत्र प्राकृतिक, सांस्कृतिक,जैविक तथा सामाजिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण छ।महाभारत, उच्च-महाभारत पर्बत श्रृङखला हुदै हिमालय श्रृङखला पार गरेर जानु पर्ने हिमाल पारीको देश/जिल्ला साँच्चिकै अत्यन्त मनोरम,मनमोहक र सुन्दर छ।लामो र कठिन यात्रा गर्दै जब म्याग्दी जिल्ला पार गरेर मुस्ताङ जिल्ला प्रवेश गरिन्छ,तब श्रद्धालु तथा यात्रीहरूले यात्राका सारा दुख बिर्सन पुग्छन्।जति हेरे पनि हेरूं हेरूं लाग्ने प्राकृतिक मनोरम दृश्यहरूलाई शब्दमा वर्णन गर्न सम्भब छैन।यिनै कारणहरूले पनि सदियौंदेखि हजारौं ॠषी मुनिहरू लगायत श्रद्धालुहरूले यात्रा गर्दै आएको यस क्षेत्रमा हालका दिनमा यातायातको सुबिधा भए संगै नेपालका बिभिन्न्न क्षेत्रका श्रद्धालुहरूको ठूलो उपस्थिति रहने गरेको छ।परापूर्व कालदेखि मुक्तिनाथ दर्शनमा आउने भारतीयहरूको संख्या पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यात्रा गरे संगै उल्लेख्य मात्रामा बढेको पाईन्छ। यस क्षेत्रको महिमा तथा महत्व निकै उच्च रहेता पनि श्रद्धालुहरूको बढ्दो आस्था र उपस्थिति संगसंगै ब्यबस्थापन लगायत बिषयमा खासै उल्लेख्य सुधार हुन नसकेको प्रष्ट देखिन्छ। जसलाई निम्न बमोजिम बुँदागत रूपमा संक्षिप्तमा उल्लेख गर्न उपर्युक्त देखिन्छ।
१. मन्दिर परिसर
मुक्तिनाथ मन्दिर परिसरमा एकातर्फ पौराणिक मुक्तिनाथ मन्दिर अबस्थित छ।अर्कोतर्फ बुद्ध धर्मालम्विहरूले नयाँ,पद्मासनमा आसिन बुद्धको मूर्ति सहित ठूलो परिसरमा राम्रो र ब्यबस्थित तवरले बिकास गरि रहेका छन्।बुद्ध मन्दिर परिसर जति सरसफाई र ब्यबस्थित छ,त्यसको तुलनामा मुक्तिनाथ मन्दिर परिसर ब्यबस्थित र सरसफाइ युक्त छैन।ब्राह्मणबाट नित्य पूजाआजा गरेर झुमाहरूबाट दर्शन तथा प्रसादी वितरण गरिने उक्त मन्दिर बिहान ७ देखि ७:३० मा मात्र भक्तजनहरूका निम्ति खोलिदा बढ्दो संख्यामा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरूलाई असुविधा पुगेको देखिन्छ। हिन्दू तथा बौद्धहरूको पवित्र धार्मिक स्थलमा मूल ढोकाको बाहिरसम्मै सुरक्षामा कटिएका प्रहरीहरूले छालाको बुट लगाएर जाने र छालाको बुटसंगै प्रहरीले आरतीको समयमा शंख बजाउने कार्यले सयौं हजारौं कोष टाढाबाट आस्था पूर्वक जाने श्रद्धालुहरूलाई खिन्नता बनाउने गरेको देखिन्छ।
वैशाख जेष्ठ महिनामा पनि बिहान -२ ( माईनस/नकारात्मक २ डिग्री) तापमान हुने स्थानमा बुढाबुढी तथा रोगी श्रद्धालुहरूलाई ध्यानमा राखेर न्यानो कोठाको ब्यबस्थापन गर्न आवश्यक देखिन्छ। तर विडम्बना ब्यबहारमा त्यो देखिदैन। नाम मात्रको एउटा सानो न्यानो घर श्रद्धालुहरूका निम्ति नभएर नेताहरूलाई स्वागत गर्ने स्वागत घर/कक्ष बनेको छ।यति उच्च धरातलमा कुनै श्रद्धालुलाई Hypothermia/अल्पोष्णता भएको खण्डमा मन्दिर ब्यबस्थापनले कुनै ब्यबस्थापन गरेको पाईदैन।भगवान मुक्तिनाथको कृपा बाहेक मानविय ब्यबस्थापन छैनको बराबर रहेको छ।हजारौं श्रद्धालुहरूको घुईचो लाग्ने मन्दिर परिसरमा सरसफाई, शौचालय, कपडा फेर्ने कक्ष लगायत कुनै पनि कुराको उचित ब्यबस्थापन छैन। मन्दिर पछाडीबाट ठूलो पानी बहने मन्दिर परिसरमा सरसफाईको अभावमा दुर्गन्धित बासना आउने गरेको पाईन्छ। मन्दिरमा चढेको दान तथा भेटीको पनि उचित ब्यबस्थापन नभएर पुजारीहरू तथा झुमाहरूलाई जाने गरेको पाईन्छ। मन्दिरको दान बाकसमा दान गरेको रकम मात्र मन्दिर कोषमा जाने गरेको छ।
तसर्थ मन्दिर ब्यबस्थापनले तत्काल मन्दिर परिसर सरसफाई लगायत विविध क्षेत्रमा उचित ब्यबस्थापन गर्न नितान्त आवश्यक छ।
२. स्थानिय संस्कृति तथा बास्तुकला
मुक्तिनाथ क्षेत्रमा पाइने विशिष्ट प्रकारको संस्कृति त्यस क्षेत्रको मात्र नभई नेपालकै विशिष्ट नीधि हुन। तर पछिल्लो चरणमा यातायातको बिकास र बढ्दो श्रद्धालुहरू तथा प्रयटकहरूको उपस्थित संगसंगै बिकसित बस्ति तथा बजारहरूको कारण बिस्तारै बिस्तारै परम्परागत संस्कृति उपर अतिक्रमण हुदै गरेको पाईन्छ। बिकास र आधुनिकीकरणको नाममा परम्परागत बास्तुकलाहरू द्रुतगतीमा ह्रासोन्मुख छन्।यस्ता गतिविधिहरूलाई मन्दिर ब्यबस्थापन, स्थानीय सरकार,केन्द्र सरकार तथा सरोकारवाला निकायहरूले समयमै अनुगमन तथा नीयमन गर्दै नियन्त्रण गरि परम्परागत संस्कृति र वास्तुकलाको संरक्षण,संवर्द्धन तथा बिकास गर्न आवश्यक छ।
३. यातायात
पहिलेको तुलनामा यातायातको क्षेत्रमा युगान्तकारी परिवर्तन भएता पनि,बढ्दो भक्तजनहरू र पर्यटकहरूको तुलनामा यातायातको उचित बिकास हुन सकेको छैन।खासगरिकन म्याग्दी जिल्लामा मुस्ताङ जिल्लाको तुलनामा सडक सुधारका कार्य हुन सकेको छैन। हुन त भौगोलिक बिकटता आफ्नो ठाउँमा जिम्मेवार छ।तथापी जति द्रुततर गतीमा बिकास हुनु पर्ने हो त्यति भएको पाईदैन। तसर्थ सम्बन्धित निकायलले तत्काल यस क्षेत्रमा ध्यान दिन आवश्यक छ।
४. स्थानिय संस्कृति र गाउँघर
मुक्तिनाथ क्षेत्रको संस्कृति र ग्रामीण परिवेश विशिष्ट प्रकारको छ। उक्त क्षेत्रको संस्कृतिको संरक्षण, संवर्द्धन र बिकास गर्दै मुक्तिनाथ पुगेका श्रद्धालुहरू तथा पर्यटकहरू ग्रामीण बस्तीहरूसम्म पुग्न सक्ने वातावरणको निर्माण गरि ,विशिष्ट संस्कृतिसंग चिरपरिचित गराउन सके स्थानिय संस्कृतिको संवर्द्धन र बिकासको साथसाथै स्थानिय वासीहरूलाई रोजगारी र आय आर्जनको उपर्युक्त माध्थाम हुने थियो।यसर्थ उक्त बिषय तर्फ समयमै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ।
५. विविध
मुक्तिनाथ क्षेत्रको प्रत्यक थुम्का डाँडा तथा स्थानहरू अत्यन्त मनोरम र मनमोहक छन्।उक्त स्थानहरूमा साईकिलिङ, घोडचढी,पदयात्रा,योग केन्द्र, प्राकृतिक उपचार केन्द्र लगायत विविध क्षेत्रको बिकास गरेर पर्यटनको भरपुर बिकास गर्न सकिन्छ। मुक्तिनाथ दर्शन गर्न जाने श्रद्धालुहरू तथा पर्यटकहरूलाई बढी भन्दा बढी समय मुक्तिनाथ क्षेत्रमा राख्न सक्ने वातावरणको बिकास गर्न सके स्थानिय स्तरमा ठूलो रोजगारी लगायत अन्य अवसरहरूको बिकास र बिस्तार हुने थियो।तसर्थ सरोकारवाला निकायले उक्त बिषयमा गहन रूपमा मनन् गर्न आवश्यक छ।
समग्रमा मुक्तिनाथ क्षेत्रको प्रसिद्धि महान अनि कमजोर ब्यबस्थापन छ।मुक्तिनाथ पवित्र तीर्थस्थल मात्र नभएर,नेपाल र नेपालीको पहिचान र गर्वको स्थल पनि हो।यस क्षेत्रको समग्र बिकास र उत्थान नेपाल र नेपालीकै बिकास र उत्थान हो।तसर्थ हामी सबै सकेसम्म कम्तिमा जीवनमा एक पटक मुक्तिनाथको यात्रा गरि दर्शन गरौं।प्रचारप्रसार गर्दै अरूलाई पनि मुक्तिनाथको यात्रा गर्न प्रेरित गरौं।सरोकारवाला निकायलाई समय सापेक्ष मुक्तिनाथ क्षेत्रको संरक्षण, संवर्द्धन र बिकास गर्न घचघच्याऔं।
मुक्तिनाथ भगवानले हामी सबैको कल्याण गरून 🙏