बैतडीको पाटन नगरपालिका ९ को सरस्वती आधारभूत विद्यालयमा दिउँसो १ बजेको बजेको घण्टीले खाजा खाने समयको संकेत गर्यो। दिवाखाजा खान विद्यार्थीहरू लहरै उभिएर धारामा हात धुन थाले। हात धुने तरिकाबारे यहाँका विद्यार्थी जानकार छन्। साबुन पानीले मिचिमिचि हात धोइसकेपछि टेबलमा खाजा आइपुग्छ। अनि खान सुरु गर्छन्।
खाजा खाइसेपछि आफूलाई मन पर्ने बालउद्यानका संरचनामा गएर खेल खेल्छन्। बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालमैत्री छन्। यसले सिकाइमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहयोग पुग्ने गरेको छ।
कोठा पनि खुला र आकर्षक देखिन्छन्। बस्नका लागि कार्पेटमाथि म्याट्रेस र कुसुम लहरै मिलाएर राखिएको छ। फरक र आकर्षक शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएको छ। भित्तामा बालबालिकालाई आकर्षित गर्ने कार्टुनका चित्र बनाइएका छन्। बालबालिकालाई कार्टुनमा लेखिएका अक्षर मन पर्ने भएकाले यस्ता सामग्री राखिएको विद्यालयका प्रधानाध्यापक केशवबहदुर चन्द बताउनुहुन्छ। कक्षाकोठा आकर्षक र बसाइ सहज हुँदा सिकाइमा मद्दत पुगेको प्रअ चन्दको अनुभव छ।
आकर्षक कक्षाकोठा, बालउद्यान, बालमैत्री धारा र शौचालय निर्माण भएको दुई वर्ष भयो। यी संरचना बनेपछि विद्यार्थीको उपस्थिति पनि बढेको छ। ‘पहिले साधारण कोठा थियो काठकै डेस्कबेन्च थिए। खेल्ने चौरसमेत राम्रो थिएन। बालबालिका नियमित विद्यालय जाँदैनथे,’ पाटन ९ की मनिषा भण्डारीले भन्नुभयो, ‘अहिले छोराछोरी नियमित विद्यालय जान्छन्। पढाइमा पनि प्रगति भएको छ।’
यसैगरी सोही वडाको ज्ञानेश्वर नमुना माविमा पनि बालमैत्री संरचना छन्। बालउद्यान र कक्षाकोठा आकर्षक भएकाले बालबालिका रमाउँदै सिक्ने गरेका छन्। बैतडी जिल्लाका सबै पालिकामा ५६२ सामुदायिक र संस्थागत विद्यालय छन्। यहाँका सबै विद्यालयमा बालमैत्री शैक्षिक संरचना निर्माणको लहर नै चलेको छ। पालिकाले शिक्षा विकास तथा समन्वय इकाइसँग पनि समन्वय गरेर काम गरिरहेका छन्। कुनै विद्यालयमा नयाँ संरचना निर्माण गर्नुपर्दा त्यसलाई अनिवार्य रुपमा बालमैत्री बनाइने गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो।
हावा र प्रकाश छिर्ने कक्षा कोठा, ससाना बालबालिकाले सहजै प्रयोग गर्न सक्ने धारा र सबैखाले अपांगता भएका विद्यार्थीका लागि अवस्थाअनुसार प्रयोग गर्न सकिने संरचना निर्माणलाई यहाँ अनिवार्य सर्तका रूपमा लिइएको छ।
‘विद्यालयमा रहुन्जेल बालबालिकाले रमाएर सिक्नुपर्छ,’ मेलौली नगरपालिका ७ स्थित मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बाग भन्नुहुन्छ, ‘यसो भयो भने छिटो सिक्ने र सकारात्मक आनीबानीको पनि विकास हुन्छ र शिक्षण सिकाइमा गुणात्मक विकास हुने गर्छ।’
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ मा उल्लेख भएअनुसार आफ्नो क्षमता र गतिअनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय बालमैत्री हो। बालबालिकाको रुचि, उमेर र इच्छाअनुरूप पठनपाठन गर्नुपर्ने हुन्छ। सोहीअनुरूप संरचना आवश्यक हुन्छन्। जुनसुकै जातजाति, भाषा, धर्म, लिंग, आर्थिक स्तर शारीरिक एवं मानसिक अवस्थाको आधारमा बिनाभेदभाव विद्यालयमा भर्ना गरी बालबालिकाबीच बालमैत्रीपूर्ण व्यवहार गरी सिकाइमा प्रभावकारिता ल्याउन सकिन्छ। यस्ता विद्यालयमा बालबालिका अनुकूलको सिकाइ वातावरण तयार पारिन्छ। पढाइ लेखाइका अतिरिक्त स्वास्थ्य एवं सुरक्षा र आनीबानीमा विशेष ध्यान दिइन्छ। कुनै पनि प्रकारका भौतिक, शारीरिक एवं मानसिक दण्ड सजाय वर्जित हुन्छ र बालबालिकालाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम भइरहन्छ।
शौचालय, धारा, बालउद्यान, खेल्ने चौर सबै बालबालिकाहरुका लागि उपयुक्त हुने किसिमले निर्माण गरिन लागिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो। भट्टका अनुसार सुरुवाती कक्षाबाटै सुधार गर्ने लक्षअनुरूप काम भइरहेको छ। पाटन नगरपालिकाले बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप र बालमैत्री शासन कायम शिक्षकहरूलाई समयसमयमा प्रशिक्षणका कार्यक्रम आयोजना गरिरहनुपर्ने पनि ठानेको छ। बालमैत्री संरचना नभएका विद्यालयले पनि नयाँ संरचना निर्माण गर्दा बालबालिकाको सहजता अनरुपको निर्माण गर्ने योजनामा छन्। बालमैत्री संरचनाले विद्यालयमा सिकाइ सहजता र विद्यार्थीको उपस्थितिमा वृद्धि भई गुणस्तरमा समेत टेवा पुग्ने गरेका कारण नयाँ संरचना बनाउदा बालमैत्री संरचनामा जोड दिइने सुर्नया गाउँपालिका ४ मा रहेको नेपाल राष्ट्रिय माविका शिक्षक प्रकाश भाटले बताउनुभयो।
बालमैत्री संरचनाले भरिपूर्ण वातावरण नबनाएसम्म बालबालिकामा सिकाइ प्रभावकारी नहुने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेमसिंह भाटको भनाइ छ। सबै विद्यालयमा बालमैत्री कक्षा कोठा, शौचालय, धारा र बालमैत्री संरचनाका लागि पालिकाबाट नयाँ कार्यक्रमको थालनी गरिन लागिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो। ‘सामुदायिक विद्यालयको जग बलियो बनाउने लक्षमा छौँ,’ धामीले भन्नुभयो, ‘त्यसको सुरुवात पूर्वप्राथमिक शिक्षाबाटै गर्छौं। बालमैत्री संरचना पनि मुख्य प्राथमिकताको विषय हो।’
‘सबै विद्यालयमा आकर्षक कक्षाकोठा समेत थिएन। दुई वर्षदेखि प्रत्येक विद्यालयमा आकर्षक कक्षाकोठा अनिवार्य गरेका छौँ,’ सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्ट भन्नुहुन्छ, ‘सुधारको सुरुवात पूर्वप्राथमिक कक्षाबाटै गरिरहेका छौँ।’
बालबालिका विद्यालयमा रहँदासम्म बढीभन्दा बढी समय रमाएर सिक्ने वातावरण बनाउने उद्देश्यका साथ नयाँ कार्यक्रम तथा योजना ल्याउने पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो। ‘प्राथमिक तहको शिक्षालाई प्रभावकारी बनाउन स्तरीय र बालबालिका सुहाउँदो संरचनामा जोड दिएका छौँ। सोहीअनुसार शिक्षक शिक्षिकालाई प्रशिक्षितसमेत गरिरहेका छौँ,’ नगर प्रमुख रावलले भन्नुभयो।
सिकाइ अभिवृद्धिका लागि फरक अभ्यास
भौतिक सुधार र बालमैत्री संरचनामा जोड दिइरहेका बैतडीका सबै पालिकाको प्राथमिकता अब सिकाइ अभिवृद्धितिर जान थालेको छ। विद्यालय शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहको हो भन्ने कुरा यहाँका पालिकाले बुझ्न थालेका छन्। शिक्षक दरबन्दी मिलान र विद्यालय मर्ज गरी शिक्षण सिकाइ अभिवृद्धिको अपेक्षा पनि राखेका छन्।
‘पहिलो कुरा त विद्यालयको व्यवस्थापकीय पक्ष सुधार हुनु आवश्यक छ,’ मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्टले भन्नुभयो, ‘त्यसपछि क्रमैसँग सिर्का अभिवृद्धिका कार्यक्रम सोच्न सकिन्छ।’
सिकाइ अभिवृद्धिमा लागि विद्यार्थी र शिक्षकलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ। ‘सेवासुविधा र विद्यालयलाई पालिकाबाट हुने सबै सहयोग गर्छाैं, गर्दै आएका पनि छौँ,’ पाटन नगरपालिकाका नगर प्रमुख रावलले भन्नुभयो, ‘पठनपाठनमा उत्कृष्ट शिक्षक र पालिकामा सबैभन्दा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको समेत व्यवस्था गरेका छौँ। यसले सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।’
श्रोत: कृष्ण विष्ट /आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया