spot_img
Tuesday, September 24, 2024
66.6 F
Washington DC.
spot_img

एउटा महान गोलरक्षकको बिदाई

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

“अब यति नै साथीहरू, तिमीहरूले मलाई हर चीज दियौ, मैले तिमीहरूलाई सबैथोक दिएँ, यो सबै हामीले मिलेर गर्‍यौँ”, बुधवारका दिन आफ्नो ट्वीटरमा यस्तो सन्देशसहितको भिडियो पोष्ट गर्दै इटालीका महान गोलरक्षक जियानलुइजी बुफोनले आफ्नो २८ वर्षे खेलजीवनमा पूर्णविराम लगाएका छन्। ‘गिगी’उपनामले चर्चित ४५ वर्षका यी किर्तिमानी गोलरक्षकले सन्यासको घोषणा गर्नु केही समय अघिमात्रै आफ्नो बाल्यकालको क्लब पार्मासँगको २०२४ सम्म रहेको सम्झौता भङ्ग गरेका थिए। सन् १९९५ मा १७ वर्षको कलिलो उमेरमै इटालीको प्रथम श्रेणी (सिरी ए) क्लब पार्मामा अनुवन्ध भएका बुफोनले त्यही सिजन सिरी एमा डेब्यु गरेका थिए। पार्मामा ६ वर्ष बिताएर २००१ मा किर्तिमानी रकममा टुरिन क्लव युभेन्टस् गएका उनले आफ्नो दुई दशकभन्दा लामो खेलजीवन सोही क्लबमा बिताए। अपवादका रूपमा उनले इटाली बाहिर गएर २०१८–१९ को एक सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका लागि खेले। २०१९–२० को सिजनमा पुनः युभेन्टस् आएका बुफोन २०२१ मा ‘सिरी बी’ मा संघर्षरत आफ्नो बाल्यकालको क्लब पार्मा फर्किए। उच्च श्रेणीको फुटबलमा साढे दुई दशक बिताएर ४३ वर्षको उमेरमा दोस्रो श्रेणीको सिरी बीमा फर्कनुका पछाडि फुटबल खेलप्रतिको उनको अटुट लगाव र आफ्नो पहिलो क्लबप्रतिको प्रेम नै मुख्य कारण थियो।

किर्तिमानका पर्याय

झण्डै तीन दशक लामो खेलजीवनबाट बिदा हुनु अगाडि उनले सन् २००६ को विश्वकप फुटबलको उपाधिसहित यो खेलमा जित्नुपर्ने प्रायः सबै कुरा जिते भने केही उपाधि जित्न सकेनन् पनि। बुफोनका नाममा अन्तर्राष्ट्रिय फुटबल र क्लबस्तरमा समेत विभिन्न विश्वकिर्तिमान कायम छन्। इटालीका लागि १७६ क्याप जितेका बुफोन सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलरक्षक हुन्। यसका साथै इटालीको जर्सी लगाएर सबैभन्दा धेरै खेल खेल्ने खेलाडी र सबैभन्दा बढी खेल खेल्ने तेस्रो युरोपियन फुटबलरको रेकर्ड पनि उनकै नाममा छ। सन् १९९७ मा इटालीको राष्ट्रिय टोलीमा डेब्यु गरेका बुफोन २०१० मा टोलीको कप्तान बन्न सफल भएका थिए। कप्तानका रूपमा सबैभन्दा धेरै खेलमा इटालीको प्रतिनिधित्व गरेका बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेल्दै २००६ को उपाधि जित्न सफल समेत भएका थिए। यसका साथै उनले २०१२ को फाइनलसहित युरो च्याम्पियनसिपका चार संस्करणमा इटालीको प्रतिनिधित्व गरे। 

फुटबल खेलको इतिहासमै ११०० भन्दा बढी उच्च श्रेणीका व्यावसायिक खेल खेल्ने एकदमै थोरै खेलाडीहरूमा आफ्नो नाम लेखाउन सफल बुफोनकानाममा सबैभन्दा धेरै सिरी ए खेल खेल्ने किर्तिमान पनि छ। उनले पार्मा र युभेन्टस्का लागि सिरी ए लिगमा मात्र ६५७ खेल खेलेका छन्। उनले १९९५–२००१ सम्म पार्माबाट १६८ खेल, २००१–२०१८ सम्म युभेन्टस्बाट५०९ खेल र पुन २०१९–२१ सम्म युभेन्टस्बाटै १७ खेल खेल्दै यस्तो किर्तिमान बनाएका थिए। दुई दशक युभेन्टस्मा बिताउँदै उनले दशपटक सिरी ए, ५ कोपा इटालिया र ६ सुपरकोपा इटालियानाको उपाधि जितेर किर्तिमान रचे। सन् १९९९ मा पार्माले कोपा इटालिया, सुपरकोपा र युइएफए कप गरी तेहरो उपाधि जित्दा बुफोनकै प्रदर्शन निर्णायक रहेको थियो। एक सिजन पेरिसमा बिताउँदा उनले २०१८–१९ को लिग वान उपाधि र २०१८ को ट्रफी डे च्याम्पियनको उपाधि समेत जिते। सन् २००१ मा पार्मामा रहेका बुफोनलाईआफ्नो क्लबमा भित्र्याउन युभेन्टसले ५१ मिलियन युरो खर्च गरेको थियो जुन त्यो समयमा एउटा गोलरक्षकका लागि खर्च गरिएको सबैभन्दा धेरै रकम थियो। 

इटालीले २००६ को विश्वकप उपाधि उचाल्दा उच्चकोटिको प्रदर्शन गरेका बुफोनले सात खेलमा पाँच क्लीनसिट राख्दै केबल दुई गोल खाएका थिए। सो प्रतियोगितामा उनले सर्वोत्कृष्ट गोलरक्षकको उपाधि जित्नुका साथै सो वर्षको बलोन डे ओरमा दोस्रो नम्बरमा आएका थिए। २००६ को बलोन डे ओरकोदौडमा उनी आफ्नै टोलीका कप्तान फावियोकानाभारोभन्दा थोरै अङ्कले मात्र पछाडि परेका थिए। २०१८ को विश्वकपमा इटाली छनौट हुन असफल भएपछि उनले सोही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका थिए।

आफ्नो लोभलाग्दो खेलजीवनमा देश र क्लबका लागि ३० भन्दा बढी प्रमुख उपाधि जितेका बुफोनकोव्यक्तिगत उपलब्धीहरूको सूची पनि लामै छ। उनले १९९९ देखि २०१७ का बीचमा १२ पटक सिरी ए प्लेयर अफ दी इयरको उपाधिबाट सम्मानित भए जुन आफैँमा एउटा अभूतपूर्व किर्तिमान हो। २००२–०३ को सिजनमा बुफोन युरोपको सर्वोत्कृष्ट गोलरक्षकका साथसाथै सर्वोत्कृष्ट खेलाडीको रूपमा समेत सम्मानित भए। यस्तो उपलब्धि हासिल गर्ने उनी विश्वका एकमात्र गोलरक्षक हुन्। यसका साथै राष्ट्रिय टोली र क्लबका लागि उनका नाममा विभिन्न किसिमका ५० भन्दा बढी व्यक्तिगत किर्तिमान कायम छन्।

बुफोनले आफ्नो खेलजीवनमा सबैजसो उपाधि जिते तर युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्ने उनको इच्छा भने अधूरै रह्यो। उनले युभेन्टसका लागि २००२–०३, २०१४–१५ र २०१६–१७ गरी तीनपटक युरोपियन फाइनल खेले तर उपाधि जित्न भने सकेनन्। २०१६–१७ मा रियल म्याड्रिड विरुद्धको फाइनलमा अन्तिम समयमा पेनाल्टी बेहोरेपछि उत्तेजित भएका बुफोनलाईरेफ्रीले सीधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको घटनाले त्यसबेला निकै ठूलो चर्चा बटुलेको थियो।

सबैका प्रिय ‘गिगी बुफोन’

एउटा गोलरक्षकका रूपमा संसारभर नै सबैभन्दा बढी मन पराइएका र लोकप्रिय फुटबलरमा पर्दछन् जियानलुइजी बुफोन। उनको उच्चश्रेणीको खेलकौशल मात्र नभई उनको खेलभावना र युभेन्टस् प्रतिको उनको प्रेमका कारण पनि उनी संसारभरका करोडौँ खेलप्रेमीको मनमा बस्न सफल भएका हुन्। इटालियन फुटबलले सामना गरेको सन् २००६ को बहुचर्चित ‘क्यालसियोपोली म्याच फिक्सिङ् प्रकरण’ का कारण सो वर्ष बुफोनको टोली युभेन्टस् रेलिगेसनमा पर्‍यो। खेल मिलेमत्तोमा सहभागी भएको आरोपमा युभेन्टस्लाई सिरी बीमा घटुवा गरेर नौ अंककोपेनाल्टीसमेत गरिएको थियो। यस्तो अवस्थामा आफ्नो खेलजीवनको उत्कर्षमा रहेका बुफोनले युभेन्टस् छाडेर युरोपको कुनै पनि ठूलो क्लवमा जाने अड्कलबाजी धेरै खेलपण्डितहरूले गरेका थिए। तर उनले २००७ को सिजन युभेन्टसका लागि खेलेनन् मात्र, नौ अङ्कको पेनाल्टीका बावजूद आफ्नो टोलीलाई सिरी बी च्याम्पियन बनाएर आफ्नो प्रिय क्लवलाई अर्को वर्ष नै फेरि माथिल्लो श्रेणीमा फर्काउन सफल समेत भए। यो घटनाले उनलाई इटालीमा मात्र होइन संसारभरका फुटबलप्रेमीमाझ लोकप्रिय बनायो। आफ्नो बेजोड नेतृत्व कौशल अनि मैदानभित्र उनले प्रदर्शन गर्ने निर्भीकता र निडरताका साथसाथै आफ्नो प्रभावशाली व्यक्तित्वका कारण पनि बुफोनलाई फुटबल खेलको इतिहासकै सर्वकालिक महान गोलरक्षकहरूमा एक मान्ने गरिन्छ।

बुफोनको सन्यासको समाचार सुनेर उनका क्लव र राष्ट्रिय टोलीका सहयात्री लियोनार्डो बोनुसीले लेखेका छन्– ‘तिमी सबैभन्दा पृथक थियौ र पृथक नै रहिरहनेछौ। तिमी हाम्रा लागि के हौ, तिमीले हामीलाई के–के दियौ, हामीलाई के–के सिकायौ भन्ने कुराको वर्णन गर्नका लागि मसँग कुनै शब्दहरू छैनन्, धन्यवाद साथी !’ त्यस्तै बुफोनसँगै पेरिस सेन्ट जर्मनमा एक सिजन बिताएका फ्रान्सका केलियन एमबाप्पेले पनि ट्वीट गरेका छन्– ‘तिमीसँग काँधमा काँध मिलाएर एउटै बाटोमा यात्रा गर्न पाउनुलाई मैले ठूलो सम्मान मानेको छु।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img