विषादी प्रयोग गरी छिटो तरकारी छिटो उत्पादन गरेर तत्काल आम्दानी गर्ने हतारमा कृषक देखिन्छन् । पशुपालकदेखि तरकारी उत्पादकसम्मका कृषकले उत्पादन तथा वृद्धि विकास जतिसक्दो छोटो खोजिरहेका छन् । तर सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चाँदनीचोक पर्सेनीकी३० वर्षीय बिन्दु शाहीले भने जलवायुमैत्री तरकारी खेती गर्नुभएको छ ।
८ कट्ठा जमिनमा अहिले भिन्डी, बोडी, टमाटर, काँक्रो, खुसार्नीलगायतका कृषि उपज छन् । तर यिनको उत्पादनमा कुनै शत्रुजीव अर्थात् रोग कीरा लाग्ने डर शाहीलाई छैन ।
बजारमा पाइने विषादीमा लगानी गर्न उल्टै स्वास्थ्यका लागि हानिकार हो भन्ने सामुदायिक सिकाइ केन्द्रबाट राम्रोसँग बुझेकी शाहीको जोड विषादीमुक्त तरकारी उत्पादनमा छ ।
गाईभैँसीको गहुँत, तितेपाते, सिस्नु, खुर्सानी, निम्बु, मेवाको पात मिलाएर घरमै जैविक विषादी बनाउन सिकेकी उहाँ उत्पादन लागतसमेत जोगाएको बताउनुहुन्छ ।
‘हामीले घरायसी तितेपातीलगायतका सजिलै पाउने वस्तुको प्रयोगबाट जैविक विषादी बनाएर रोगकीराको प्रकोपबाट जोगाउँछौ,’ शाहीले भन्नुभयो, ‘बजारमा पनि विषादीमुक्त तरकारी बिक्री गरेकी छु।’
स्थानीय सिकाइ केन्द्रमा जैवीक विषादी र कम्पोस्ट, गडौँले मल बनाउने विधिसमेत सिकेपछि प्रांगारिक (अग्र्यानिक) तरकारी फलाउन सहज भएको उहाँको भनाइ छ ।
लामो समय बुवा मानबहादुर शाहीले तरकारी उत्पादन गर्ने कार्यलाई फरक ढंगबाट निरन्तता दिइएकी उहाँले चार महिना (एक सिर्जन) मा करिब ३ लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
बुवा मानबहादुर नेपाली सेनाबाट अवकाश भए पनि तरकारी खेतीमा राम्रो दखल राख्नुहुन्छ । ‘छोरीलाई नजिककैको शिक्षा क्यापसमा स्नातक अध्ययनसँगै व्यावसायिक विषादीमुक्त कृषि उपज उत्पादन गर्न सहयोगी भूमिका खेलिरहेको छु,’ मानबहादुरले भन्नुभयो ।
‘सेवा निवुत्तपछि काम गर्न भारत गएँ । तर कोरोना आएसँगै घर फर्किएँ,’ मानबहादुरले भन्नुभयो, ‘घर आएर तरकारी सामान्य तरिकाले लगाइरहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘सिकाइ केन्द्रमा जैविक कृषिका कुरा छोरीले सिकिन् । अहिले अध्ययनसंँगै आम्दानी गरिरहेकी छन् ।’
विषादीमुक्त तरकारी मात्र होइन अहिले उहाँको परिवारले बेमौसमी तरकारी पनि गरिरहेको छ प्लास्टिकका घर बनाएर टमाटरलगायतका कृषि उपज सजिलै उत्पादन गर्ने गरेको मानबहादुरले बताए ।
गोठसुधारबाट मल र मूत्र व्यवस्थापन गरेर कम्पोष्ट मल र एक गैरसरकारी संस्थाको सहयोगबाट गडौँले मल घरमै उत्पादन गर्नुभएको छ । शाहिले भन्नुभयो, ‘मलमा पैसा लाग्दैन । सिँचाइ सुविधा पनि राम्रो छ । उत्पादन खर्च नलाग्ने र हामीलाई पनि रोग नलाग्ने कृषिउपज उत्पान गर्दै आएकी छु ।’
बजारमा अग्र्यानिक तरकारी
यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका—९ पर्सेनी गाउँका २२ परिवारले अग्र्यानिक तरकारी उत्पादन गर्ने गरेका छन् । सामुदायिक सिकाइ केन्द्रमा सञ्चालित ग्रेप परियोजाले जलवायु उत्थानशील र कृषि प्रविधि सिकाएपछि कृषक थप बलियो बनेका छन् ।
पर्सेनीका २२ परिवारको देखेर अहिले अन्य गहुँ, कमै बाली लगाउन ५ परिवारले समेत जलवायु उत्थानशील कृषि गर्न थालेका छन् । पहिले त्यस गाउँका २७ जनाले उत्पादन गरेको तरकारी व्यपारी (मण्डीवाल) ले घरबाटै खरिद गरेर बजारमा ल्याउने गरेको छ ।
‘पर्सेनीको तरकारी हो ? भनेर सोध्छन् । हो भनेपछि जोसुकैले किन्छन्,’ स्थानीय व्यपारी कुम्भ बुढाले भन्नुभयो, ‘विषादी तरकारीदेखि ग्राहक डराउन थाले ।’
अग्र्यानिक तरकारी उत्पादन गर्ने कृषक बढ्दै
वीरेन्द्रनगर नगरपालिकाभित्र ५ सय ५५ कृषकले अहिले विषादीमुक्त तरकारी फलाउँदै आएका छन् । जलवायुमैत्री कृषितर्फ आकर्षण बढिरहेको वरिष्ठ कृषि प्राविधिक रामदेव शाहको दाबी छ । ‘उत्पादन लागत कम, सहज बजारीकरण र स्वास्थ्यका लागि उपरोक्त छ भन्नेबारे हामीले किसानलाई खेतबारीमै अनुसन्धान गरेर देखाएका छौँ,’ कृषि प्राविधिक शाहले भन्नुभयो, ‘झोलमल, गड्यौँला मल, भकारो सुधारले कृषकको जीवनी परिर्वतन भएको पनि छ ।’
जलवायु अनुकूलन खेती नगर्न सक्दा किसानले लाखौको क्षती व्यहोर्नुपरेको छ । विषादी प्रयोग भएको तरकारीले हाम्रो स्वाथ्य र वातावरणमा समेत गम्भीर असर हुने गरेको जानकार बताउँछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया