मोरक्कोमा शुक्रबार राति गएको दुर्लभ र शक्तिशाली भूकम्पमा परी २ हजार ४९७ जनाको मृत्यु भएको छ भने कम्तीमा २ हजार ४२१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको बिबिसी समाचार एजेन्सीले रिपोर्ट गरेको । ६० वर्ष पछि मोरक्को व्यहोरेको सबैभन्दा घातक विनाशकारी ६. ८ म्याग्निच्युडको भूकम्प, माराकेचको दक्षिणमा उच्च एटलस पहाडहरूमा रहेका गाउँहरू मुनि धक्का दिदा व्यापक क्षति र आतंक मच्चाएको छ ।
भत्किएका भवनहरूको भग्नावशेषमुनि बाँचेका र पीडितहरूको खोजी गर्न विदेशबाट आएका उद्धार टोलीहरू चौबीसै घण्टा काम गरिरहेका छन्। तर, दुर्गम र असहज भूभाग, भारी उपकरणको अभाव र परकम्पको जोखिमका कारण काममा बाधा पुगेको छ । आइतबार ३.९ म्याग्निच्युडको पराकम्पन रेकर्ड गरिएको थियो, जसले प्रभावित क्षेत्रका बासिन्दामा डर र चिन्ता थपेको थियो।
भूकम्पमा धेरैले आफ्नो घर र सरसामान गुमाएका छन् र बाहिर वा अस्थायी आश्रयस्थलमा सुतिरहेका छन्। सबैभन्दा बढी प्रभावित क्षेत्रहरू ग्रामीण समुदायहरू छन् जुन परम्परागत माटोको इट्टा, ढुङ्गा र मक्किएका काठको घरमा बस्ने गर्दछन। ति परम्परागत घरहरुले भूकम्पीय जोखिमलाई थेग्न नसक्ने किसिमका भएको संचार माध्यमले बताएका छन् । मोरक्कन सरकारले आपतकालिन अवस्थाको घोषणा गरेको छ। यसैबीच, भूकम्पीया प्रभावित क्षेत्रको सहयोगका लागि फ्रान्स, स्पेन, बेलायत र अमेरिका गरी चार देशहरूबाट सहायता प्राप्त भएको छ ।
विश्वका मुलुकहरुले संकटको यस घडीमा मोरक्कोसँग आफ्नो ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेका छन् । पोप फ्रान्सिसले घाइते र मृतकहरूको लागि प्रार्थना गर्दै उद्धारकर्ताहरूको प्रयासको प्रशंसा गरेका छन् । शेफ जोसे एन्ड्रेसले उनको गैर-नाफामुखी संस्था, वर्ल्ड सेन्ट्रल किचेनले भूकम्प पिडितहरूलाई खाना उपलब्ध गराउन दुर्गम स्थानहरूमा खाना ट्रकहरू स्थापना गर्ने घोषणा गरेका छन् ।
त्यस्ता प्राकृतिक प्रकोपसँग जुध्न मोरक्कोको तयारी र लचिलोपनमाथि पनि प्रश्न उठेको छ । देश भूकम्पीय सक्रिय क्षेत्रमा अवस्थित छ, तर यस परिमाणको भूकम्प दुर्लभ हो । पछिल्लो ठूलो भूकम्प सन् १९६० मा आएको थियो, जसमा अगादिर सहरमा करिब १२ हजार मानिसको मृत्यु भएको थियो। विज्ञहरूले भवन संहिता र मापदण्डमा सुधार गर्नुका साथै भूकम्प सुरक्षाबारे जनचेतना र शिक्षा दिन अधिकारीहरूलाई आग्रह गरेका छन् ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया