सहसचिव राधिका अर्याल सचिवमा बढुवा हुनुभएको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फबाट वरिष्ठताका आधारमा बढुवा गर्ने निर्णय गरेको हो । साथै बैठकले प्राविधिकतर्फबाट विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिवहरू दामोदर रेग्मी र अर्जुनजंग थापा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बन्नुभएको हो।
शाखा अधिकृतबाट सिधै सहसचिवमा फड्को मार्नुभएकी सचिव राधिका अर्यालले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्नु भएको थियो। २०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्याल खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा एकैपटकमा उपसचिव र सहसचिव दुवै पदमा नाम निकाल्नुभयो। २०६९ सालमा अन्तर्वार्तामा सहसचिवमा नाम निकालेपछि उहाँले उपसचिवको कार्य अनुभव नलिँदै सहसचिव हुनुभएको हो।
अर्यालले सेवा प्रवेश गरेदेखि हालसम्म विभिन्न मन्त्रालय, विभाग तथा महाशाखामा रहेर काम गरिसक्नुभएको छ । शाखा अधिकृत भएपछि श्रम मन्त्रालयबाट काम सुरु गरेकी अर्यालले सहसचिव भएपछि ५ वर्ष सम्म महिला मन्त्रालयमा काम गर्नुभयो । त्यहाँ काम गर्दा महिला अधिकारका लागि विभिन्न नीति नियम बनाउन र तिनको कार्यान्वयन गर्ने काममा सरिक हुनुभयो । उहाँले यस क्रममा महिला अधिकार सम्बन्धी महासन्धिको कार्यान्वयनको अवस्थाका बारेमा सिड कमिटीमा प्रतिवेदन पेस गर्ने अवसर समेत पाउनुभएको छ।
करिब ११ वर्ष अघिदेखि सहसचिवको भूमिकामा रहनुभएकी अर्याल काठमाडौँको निम्न मध्यम परिवारमा जन्मनुभएको हो। कृषि पेसामा निर्भर परिवारमा सङ्घर्ष गर्दै पढेर अर्यालले वनस्पति विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ निजामती सेवामा रहेर काम गर्न पाउँदा गौरव अनुभूति गर्ने सचिव अर्यालको किशोर अवस्थाको रहर भने शिक्षिका बन्ने थियो । समयसँगै पेसा बदलिए पनि केही उदाहरणीय काम गरेर देश र जनतामाझ छुट्टै पहिचान स्थापित गर्ने उहाँको रहर भने कत्ति पनि बदलिएको छैन।
नयाँ जोस जाँगर र लगनशीलताको साथ १९ वर्षको निजामती सेवाको यात्रा पूरा गर्नुभएकी सचिव अर्याल बुझ्न सक्ने बेलाको हुँदा सम्म पनि हाम्रो समाजमा सबै छोरीले पढ्ने चलन आइसकेको थिएन। ५ जना दिदीबहिनी र एक जना दाजु मध्ये उहाँ भन्दा माथिका ३ जना दिदीहरूले त पढ्नै पाउनु भएन। दाजुले भने पढ्नुभएको थियो। आफूले पढिसकेपछि बहिनीहरूलाई पनि पढाउनु पर्छ भनेर उहाँको दाजुले उहाँ र उहाँकी बहिनीलाई पढ्न प्रेरित गर्नुभयो। दाजुको शिक्षाप्रतिको जागरणका कारण पढ्न पाएकी अर्यालले १ कक्षा देखि ७ सम्म काठमाडौँको पृथ्वीनारायण माविमा र ८ देखि एसएलसी सम्म लैनचौरको कन्या मा.वि. मा अध्ययन गर्नुभयो। स्कुलमा पनि राम्रो पढ्नुभएकी अर्यालले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी वनस्पति विज्ञानमा स्नातकोत्तर सम्म अध्ययन गर्नुभयो। यसका साथै उहाँले जनप्रशासन सङ्कायमा स्नातकोत्तर तह र जापानको टोकियो विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ ।
विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह पढी सकेपछि आफैले पढेको विद्यालयमा पढाउन थाल्नुभएकी अर्याललाई भविष्यमा विश्वविद्यालय तहको अध्ययन सकेपछि कलेजमै पढाउँछु भन्ने लागेको थियो। तर समयसँगै लक्ष्य पनि बदलियो। एमएस्सी सकेपछि साथीहरूले लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन खुलेको छ जाँच दिने होइन भन्न थाले। उहाँले पनि कोसिस गर्नुभयो र पहिलो पटकमा शाखा अधिकृतको प्रारम्भिक परीक्षामा र तेस्रो पटक अन्तिम चरणको परीक्षामा सफलता हासिल गर्नुभयो । २०६१ सालमा निजामती सेवामा प्रवेश गरेकी अर्याल यस क्षेत्रमा प्रवेश गरेपछि शिक्षण पेसा बाट बिदा लिनुभयो । निजामती सेवा जिम्मेवारी भित्र रहेर देश र जनताको हित हुने काममा संलग्न भई आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिन पाउँदा उहाँलाई आनन्द र गौरवको अनुभूति हुन्छ।
शाखा अधिकृत भएपछि अर्यालले विभिन्न निकायमा रहेर ७ वर्ष सम्म काम गर्नुभयो । कार्यालयको जिम्मेवारीको साथसाथै आफ्नो वृत्ति विकास प्रति पनि सचेत अर्यालले यसै क्रममा उपसचिव र सहसचिव दुवै पदको लागि खुला प्रतियोगिता मार्फत परीक्षा दिनुभयो । दुवै पदको लिखित परीक्षा नाम निस्कियो। तर अन्तर्वार्तामा चाहिँ सहसचिवमा मात्र दिनुभयो । पहिलो पटकमै सफल भएपछि २०६९ सालदेखि ११ वर्ष सहसचिवको जिम्मेवारीमा रहनुभयो ।
आफ्नो सफलताको सबै श्रेय दाजु, श्रीमान् र परिवारलाई दिने अर्याललाई दाजुले स्कुल पढ्न पठाउनु भयो र परिवारले पनि यस कदमलाई सकारात्मक रूपमा लियो । जसले उहाँलाई विद्यालय तह र विश्वविद्यालय तहको पढाई सम्पन्न गर्न पूर्ण रूपमा सहयोग मिल्यो। दाजुको हौसलाले निजामती सेवामा निजामती सेवामा आउनुभएकी अर्यालको विवाह शाखा अधिकृत भएपछि भयो । नेपाली सेनाको प्रमुख सेनानी पदमा कार्यरत रहनुभएका उहाँका श्रीमानले पनि उहाँलाई अघि बढ्न निरन्तर साथ दिनुभयो। परिवार पनि निकै सहयोगी पाएकी अर्याललाई सासू ससुराले पनि बुहारीले घरको मात्र काम गर्ने हो भन्ने सोच नराखी वृत्ति विकासमा सधैँ सहयोग गर्नुभयो। घरायसी काममा सघाउनुभयो । जसको कारण उहाँलाई पढ्ने पर्याप्त समय मिल्यो ।
हाम्रो सामाजिक सोच अझै फेरिएको छैन। जुनसुकै क्षेत्रमा पनि महिलालाई उच्च जिम्मेवारी र संवेदनशील तहको जिम्मेवारी दिन आनाकानी गर्ने गरेको देखिन्छ। अर्यालको बिचारमा महिलाले आफ्नो क्षमता प्रमाणित गर्न पुरुष भन्दा बढी नै खटिनुपर्छ। अर्को कुरा महिलालाई घर परिवारको जिम्मेवारी, सामाजिक दायित्व र कार्यालयको काम साथसाथै लैजानुपर्ने हुन्छ। यस्तै दोहोरो तेहरो जिम्मेवारीकै बिच कार्यसम्पादन गरी आफ्नो वृत्ति विकास गर्नुपर्ने हुन्छ।
निजामती सेवा टिमवर्कमा आधारित भएकोले यति नै काम गरे भनेर मापन गर्न सकिँदैन तर महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसा पीडित महिला तथा किशोरी र ज्येष्ठ नागरिकको हक र अधिकार स्थापित गर्नको लागि काम गर्ने अवसर महिला मन्त्रालयमा प्राप्त भयो उहाँलाई । यस पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक एक वर्ष काम गर्नुभएकी अर्याललाई यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त भयो। काम गर्ने क्रममा सहकर्मी तथा सिनियरबाट सधैँ सहयोग र मार्गदर्शन प्राप्त गरेको स्मरण गर्दै अर्याल भन्नुहुन्छ-‘ कतिपय अवस्थामा काम गर्ने क्रममा चुनौती र अप्ठ्याराहरू आउनु त स्वाभाविक नै हो। त्यसैले यस क्षेत्रका चुनौतीको सामना गरी अवसर र सम्भावनामा ध्यान दिएर सोही अनुरूप काम गर्न सकेमा सफलता हासिल गर्न सकिन्छ।’
अहिले हाम्रो समाजमा महिलाले अधिकार पाउने क्रम विस्तार हुँदैछ। राज्यको पनि महिला सशक्तीकरणमा ध्यान गएको छ। तर सामाजिक सोचमा भने अझै परिवर्तन भैसकेको छैन। जुनसुकै क्षेत्रमा पनि महिलालाई उच्च जिम्मेवारी र संवेदनशील तहको जिम्मेवारी दिन आनाकानी गर्ने गरेको देखिन्छ। महिलाले आफ्नो क्षमता प्रमाणित गर्न पुरुष भन्दा बढी नै खटिनुपरेको उहाँको अनुभव छ ।
महिलालाई घर परिवारको जिम्मेवारी, सामाजिक दायित्व र कार्यालयको काम साथसाथै लैजानुपर्ने हुन्छ। यस्तै दोहोरो तेहरो जिम्मेवारीकै बिच कार्यसम्पादन गरी आफ्नो वृत्ति विकास गर्नुपर्ने हुन्छ। त्यसैले महिलाको सफलताको डोरो उसको परिवारसँग जोडिएको हुन्छ। परिवारले साथ र हौसला दिएमा तथा सहयोग गरेमा मात्र महिलाले सफलताको सिँढीहरू सहजै पार गर्न सक्छन्। निजामती सेवामा महिलाको प्रतिनिधित्व बढाउन महिला स्वयंको परिश्रम मेहनत र इच्छाशक्तिका साथै परिवारको पनि हौसला र सहयोग हुनुपर्ने उहाँको सुझाव छ ।