क्रिप्टो दुनियाँका स्टार जस्टिन सनले फेरि एकपटक सनसनी मच्चाएका छन्। ट्रोनका संस्थापक र बिटटोरेन्टका सीईओ सनले मौरिजियो क्याटेलनको विश्वचर्चित कलाकृति “कमेडियन” (भित्तामा टाँसिएको एउटा साधारण केराको रूपमा परिचित) लाई न्यूयोर्कको सोथबिजले गरेको लिलामीमा $६.२ मिलियन अमेरिकी डलर (करिब ८.३७ अर्ब) तिरेर खरिद गरेका छन्।
सनले यो रोमाञ्चक खबर एक्स (पहिलेको ट्विटर) मार्फत सार्वजनिक गर्दै लेखेका छनः
“म यो घोषणा गर्न पाउँदा रोमाञ्चित छु कि मैले त्यो केरा किनेको छु!!! यो केवल एउटा केरा मात्र होइन, यो कला, मिम्स, र क्रिप्टो समुदायलाई जोड्ने सांस्कृतिक चमत्कार हो। यो कलाकृतिले इतिहासमा आफ्नो नाम लेखाउने मात्र होइन, भविष्यमा धेरै सोच र छलफलको ढोका खोल्नेछ। कला प्रेमीहरूका लागि यो नयाँ प्रेरणाको स्रोत बनोस् भन्ने मेरो चाहना छ।”
कला, क्रिप्टो र मिम्सको संगम
“कमेडियन” कलाकृति, साधारण केराजस्तो देखिए पनि, सधैं विवाद र चर्चाको केन्द्रमा रहँदै आएको छ। कला र आधुनिक समाजबीचको सम्बन्धलाई चित्रण गर्ने यस कलाकृतिले परम्परागत दृष्टिकोणबाट हटेर नयाँ व्याख्या स्थापित गरेको छ।
सनको यो कदम केवल कला संग्रहको एक हिस्सा मात्र नभएर, यसले कला, डिजिटल प्रविधि, र सांस्कृतिक प्रयोगबीचको सिमाना मेट्दै संसारभरका कलाप्रेमीहरूलाई आकर्षण गरेको छ।
सनको नयाँ ट्विस्ट: केराको भव्य भोज
जस्टिन सनको यो कदममा एउटा अप्रत्याशित मोड थपिएको छ। उनले उक्त केरालाई केवल संग्रहमा राख्ने मात्र होइन, “कलात्मक अनुभव” अन्तर्गत आफैंले खाने घोषणा गरेर सबैलाई चकित पारेका छन्।
“केही दिनभित्र म यो केरालाई खाएर यसको सांस्कृतिक र कलात्मक महत्त्वलाई सम्मान गर्नेछु । यसको महत्व केवल टाँसिएको फलमा सीमित छैन; यो हाम्रो समयको एउटा प्रतीक हो। प्रतिक्षा गर्नुहोस, यो रोचक अनुभव आउनेछ!”
यो घोषणाले कलाको स्थायित्व, स्वामित्व, र मूल्यका बारेमा नयाँ बहस छेडेको छ।
कला र विवादको सुनौलो संगम
जस्टिन सनको यस कदमलाई कसैले “साहसिक र ऐतिहासिक” भनेका छन् भने कसैले “विलासी मूर्खता” भन्दै आलोचना गरेका छन्। तर, यसले “कमेडियन” कलाकृतिलाई नयाँ उचाइमा पुर्याएकोमा कुनै शंका छैन।
केरा खाइन्छ कि जोगाइन्छ भन्ने विषयभन्दा पर, यो कलाकृति अब केवल भित्तामा टाँसिएको फल होइन। यो अब समय, पैसा र सांस्कृतिक मूल्यका नयाँ परिभाषाहरू खडा गर्ने प्रतीक बनिसकेको छ।
अब सबैको नजर छ – त्यो केराको अन्तिम यात्रा र जस्टिन सनले ल्याउने नयाँ कथा!
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया