राज्यका केही आधारभूत कर्तव्य हुन्छन् । नेपालको सन्दर्भमा राज्यले यी कर्तव्यहरु बिर्सिएका छन् । राणा शासकहरुले ती कर्तव्यहरुलाई सम्झन कोशिस गरेका थिए । कम से कम राज्यले जनतालाई न्याय दिनु पर्छ भन्ने उनीहरुले बुझेका थिए । हुन त न्याय भन्नु उनीहरुको आफ्नो स्वार्थमा हानि नोक्सानि हुनु हुँदैन भन्ने थियो । तर यो कुरा अहिले भन्नु हुदैँन ।
राज्यको एउटा आधारभूत कर्तव्य त्यस देशका नागरिकको सुरक्षा हो । भारतमा कुनै दिन मोदी गुजरातको मुख्यमन्त्री थिए । उनको समयमा घोद्रा भन्ने ठाउँमा मुस्लिमहरुको आम हत्या भयो तर मुख्यमन्त्रीले उनीहरुलाई बचाउन कोशिस गरेनन् । यही कारणले अमेरिकाले उनलाई अमेरिकी भिसा नदिने निर्णय गरेको थियो । उनी प्रधानमन्त्री भए पछि मात्र सो भिसाको काण्ड समाप्त भएको थियो । सो काण्ड सम्बन्धी विविसीले बनाएको एउटा डकुमेन्ट्री अहिले पनि भारतमा प्रतिबन्धित भएर विवादमा छ ।
मुख्यमन्त्री नै हुँदा मोदीको भारतका तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीसित भेट भयो । मोदीले बाजपेयीलाई खुबै मान्थे । बाजपेयीले भेट्ने बित्तिकै घोद्राको कुरा निकाले र भने, ‘तिमीले राज्यले मान्नु पर्ने पहिलो कर्तव्य नै पूरा गरेनौ । ’ भनेको मतलब मोदीले मारिएका मानिसहरुलाई सुरक्षा नै दिएन । राज्यको प्रतिनिधि भएर बसे पछि राज्यले गर्नु पर्ने कत्र्तव्यहरुको ख्याल गर्नुपर्छ भन्ने बाजपेयीको सन्देश थियो मोदिलाई ।
नागरिक प्रति राज्यले गर्नुपर्ने सामान्य र आधारभूत कर्तव्य पनि पुरा नगर्ने राज्यका पदाधिकारीहरु तीनै नागरिकको रगत पसिनाबाट जम्मा भएको राजश्व माथि ब्रह्मलुट गरेर राजश्री जीवन व्यतित् गरिरहेका छन् । राज्य धर्मच्युत भैरहेको छ । सरकार, संसद, न्यायालय, संवैधानिक अंगहरु देखि सेना, प्रहरी, निजामती हुदैँ स्थानीय तहका वडा कार्यालयसम्म राज्यधर्मको सामान्य पालना गर्ने कर्तव्य विमूख हुनु आज हामी नेपालीको नियती हुन पुगेको छ ।
यो कुरा माहाभारतमा पनि बराबर आउने गरेको छ । युधिष्ठिर राजा भए पछि देवर्षी नारद भेट्न आउँछन् र अनेक प्रश्न गर्छन् । तिनीहरु मध्ये यहाँ केही दिइएको छ । उनले सोध्छन्, ‘कच्चित् त्वमेव सर्वस्याः पृथीव्याः पृथिवीपते । समश्चानभिशङ्कयश्च यथा माता यथा पिता ।।’ अर्थात् देशका जनता साराले आफ्ना माता पिता सरी, तिम्रो विश्वास गर्छन् कि गर्दैनन् के छ यो समयमा ? जसरी आमाबाबुले आफ्ना सन्तानको रक्षा गर्दछन् उसरी नै शासकले आफ्ना जनताको रक्षा गर्नु पर्द छ भन्ने हो । तर हामीले देखेका, भोगेका, सुनेका र बुझेका छौं हामी नेपालीको हालत के छ । मानिसहरु खुरुखुरु आत्महत्या गरिरहेका छन्, बलात्कारीहरु सम्मानपूर्वक खुलेआम घुमिरहेका छन् र अन्याय अत्याचार गर्नेहरु भटाभट दोष मुक्त भइरहेका छन् । अपराधी र हत्याराहरुले राज्यबाट छुटकारा पाइरहेका छन् । अपराधीहरुले यसरी मुक्ति पाउने व्यवस्था हुनु नै राज्यको एउटा गम्भिर असफलता हो ।
एउटा कुरामा भने नारद मुनीले नेपालकै परिपे्रक्षमा सोधेका हुन् कि भन्ने पनि पर्न सक्छ । उनले सोधेका छन्, ‘कच्चिन्न भक्तं बीजं च कर्षकस्यावसीदसि । प्रत्येकं च शतं वृद्ध्या ददास्यृणमनुग्रहम् ।।’ अर्थात किसानलाई खान्की र बीउको दुःख पर्छ कि ? सैकडा एक मा उनले पाउने ऋण मिल्छ कि मिल्दैन ? नेपालमा कृषि मल नपाएर किसानहरुले एक ठाउँमा मल बोकेको गाडीबाटै मल लुटेर लगे । अर्को भण्डारबाटै मल लुटियो । सरकारले मलको व्यवस्था मिलाउन अनेक प्रयत्न गरे जस्तो त गर्यो तर कतैबाट मल समयमा आएन । किसानहरुले समयमा मल पाएनन् । किनभने सरकारले बोलेको पुरा गर्न सकेन । राज्य अविश्वसनीय भयो । किसानहरु निराश भए । अर्को कुरा ऋणको सम्बन्धमा यसमा भनिए जस्तै एक प्रतिशत व्याजमा पाउने नेपालममा कल्पना नगरे पनि हुन्छ । नेपालका व्यापारीहरुले व्याजको दर अति उच्च भयो भनेर दिन रात विरोध गरेको गरेकै छन् । तर सरकार मौन छ । यसबाट थाहा पाइन्छ नेपालको राज्यले गर्नुपर्ने काम गरेको छैन ।
त्यसैगरी जब धृतराष्ट्र माहाभारतको युद्ध पछि बनमा जान लाग्छन् त्यसबेला उनले युधिष्ठिरलाई केही अर्ति दिएर जान थाल्छन् । त्यसबेला पनि उनले राज्यले गर्नैपर्ने कामको चर्चा गरेका छन् । उनी भन्छन्, ‘विनितांश्च कुलीनांश्च धर्मार्थकुशलानृजून् । तैः धार्थं मन्त्रयेथास्त्वं नात्यर्थं बहूुभिः सह ।।’ अर्थात ‘विद्वान कुलीन मान्छेका सुन्नु तर्क र भावना, धेरै मान्छेसँगै राखी नगर्नू गुप्त मन्त्रणा’ । यसको ठीक उल्टो आजकल नेपालमा राष्ट्रिय सहमतिको तर्क गरेर देशको निर्णय गर्ने गरिन्छ । असलमा चार पाँच जना नेतामिलेर यस्तो निर्णय गर्दछन् । यसबाट धेरै मानिसहरुको चित्त त बुझ्छ तर राज्यले गर्नुपर्ने खास काम भएको हुँदैन । धेरै काम लोकप्रियताको लागि गरेको देखाइन्छ, समस्या समाधान हुने ठोस काम गरिएको हुदैँन । यस मानेमा राज्यको कत्र्तव्य पूरा भएको हुँदैन । धेरै मानिसको हुलमा राज्यको कत्र्तव्यको नै खयाल गरिंदैन । सिर्फ दल र दलीय स्वार्थको कुरामा काम हुने गरेको मात्र छ ।
धृतराष्ट्रले यो पनि भनेका छन् कि ‘पौरजानपदानां शौचाशौचे युद्धिष्ठिर । यथास्याद् विदितं राजन् पुनः पुनररिंदम ।।’ अर्थात ‘घटदो छ या बढदो छ आफुमा जन आदर, जसरी हुन्छ यो जान्न खोजी राख युधिष्ठिर’ । यसबाट पनि राज्यमा बस्ने मानिसहरुले जनचाहना के छ भनेर बराबर बुझ्न सक्नु पर्छ । तर यहाँ त आम मानिसहरु विभिन्न माध्यमबाट कराउँदै गर्छन् तर नेताहरु आफ्नो स्वार्थ छाड्नु हुन्न भन्ने कार्य गरिरहेका छन् । यसबाट राज्यमा बस्ने मानिसहरुको स्वार्थ त पुरा भैरहेको छ तर राज्यको धर्म र काम भने पुरा भैरहेको छैन । यसबाट पनि थाहा लाग्छ कि राज्यको प्रतिनिधित्व गर्ने मानिसहरु अलोकप्रिय हुँदै जान्छन् तर उनीहरुको स्वार्थ भने पुरा भैरहेको देखिन्छ । राज्यका प्रतिनिधिको रुपमा जनचाहना पुरा गर्ने कर्तव्य उनीहरु भुलिरहेका छन् ।
धृतराष्ट्रले भनेका ती कुरा खासमा राज्यको सँधै गर्नुपर्ने कत्र्तव्य भित्रको कुरा हुने गर्दछ । उनी भन्छन्, ‘एवं त्वया कुरुश्रेष्ठ वर्तितव्यं प्रजाहितम् । उभयोर्लोकयोस्तात प्राप्तये नित्यमेव च ।।’ अर्थात ‘यस्तो बन कि राजा, रिझाएर प्रजा कन, यहाँ किर्ति वहाँ स्वर्ग दुवै लोक सनातन’ । धृतराष्ट्रले यसरी प्रजालाई रिझाउने कुरा गरेका छन् तर नेपालका शासकहरु जति सक्यो प्रजालाई सताउने र आफ्नो स्वार्थ पुरा गर्ने तिर मात्र लागेका छन् । उनीहरुले राज्यको यो सामान्य धर्म ख्याल गर्न सकेका छैनन् ।
यसै गरी और्व ऋषिका अर्तिहरु पनि यसैसँग मिल्दछन् । एउटा श्लोकमा उनी भन्छन्, ‘यदा तु प्रतिषेद्धार पापो न लभते क्वचित् । तिष्ठन्ति बहवो लोकाः सदा पापेषु कर्मसु’ । अर्थात ‘यदि राज्यमा बसेको कोही मानिसले पनि पाप रोकेन भने त्यहाँ सबै मानिसहरु पापै पाप गर्न अघि बढ्छन्’ । यसबाट नेपालमा हुने भ्रष्टाचारको कुरा मिल्न आउँछ । यदि राज्यको जिम्मेवारी लिएका मानिसहरु नै भ्रष्टाचार गर्छन् भने राज्यका सबै अंगहरुमा बसेका मानिसहरु पनि यही काम गर्न तम्सिन्छन् । यस सम्बन्धमा भ्रष्टाचार छानबीन गर्ने आयोगका सदस्यहरु नै यस काममा संलग्न भएको देखिएकै छ । हाम्रा अदालतले केही यस्ता आयोगका कर्मचारीहरुलाई सजाय तोकेको पनि देखियो । तर राज्यका सार्वजनिक निकायहरु जताततै भ्रष्टाचारकै पापकर्म आम प्रवृत्तिका रुपमा फैलिएको छर्लङ्ग छ । देशका मुख्य मानिसहरु नै भ्रष्टाचारी भएकोले भ्रष्टाचार गर्नु सबैतिर सामान्य हुन पुगेको छ ।
उनीले यसै सिलसिलामा भनेका छन्, ‘जानन्नपि च यः पापं शक्तिमान् न नियच्छति । ईशः सन् सो पि तेनैव कर्मणा सम्प्रयुज्यते’। अर्थात ‘जानी जानी पनि पाप जसले खोज्दैन रोक्न, त्यस घडिमा आफूले पाप नगरे पनि सो मानिस पापी नै ठहरिन्छ ।’ भनाईको मतलव आफैले पाप नगरे पनि या आफैले पैसा नखाए पनि सो मानिस यदी उसलाई सो पापबारे थाहा छ भने सो पापको भागी ऊ पनि हुन्छ । यसबाट के थाहा हुन्छ भने कुनै अन्याय अत्याचार कतै भएको थाहा पाउने मानिसहरु नै चुप लागेर बसेको छ भने उनीहरुले त्यसबाट छुटकारा पाउँदैनन् । उनीहरु पनि पापी अर्थात जिम्मेवार ठहरिन्छन् । त्यसकारण समाजमा भइरहेका यस्ता कुकर्महरुको विरोधमा बोल्नु कर्तव्य हुन्छ र त्यस्तो काम गर्नु जायज मानिन्छ । तर, नेपालमा पापकर्म देखिरहेकाहरु पनि चुपचाप सहने, हेर्ने र मौन बस्ने प्रवृत्ति बढेर गएको छ ।
नेपालीहरु प्रति नेपाल राज्यको केही कत्र्तव्यहरु हुन्छन् जसबाट कुनै पनि सरकार टाढा जान सक्दैन । आधुनिक राज्य होस् या पुरानो आफ्ना नागरिकहरुको रक्षा गर्नु पहिलो कत्र्तव्य हो । यसैकारणले नागरिकको कसैले हत्या गरिदियो भने सो सरकारी मामिला हुन्छ । सरकार नै सो हत्याराको विरुद्ध न्यायालयमा मुद्दा लड्द छ । विदेशमा कुनै नागरिकमाथि अन्याय भयो भने सरकार नै अघि सर्नु पर्दछ । त्यसैकारण आफ्ना नागरिकहरुको रक्षाकालागि अरु देशहरुमा राजदूतावास राख्ने चलन छ । जब कुनै अर्को सरकारले आफ्ना नागरिकहरुमाथि अन्याय अत्याचार गर्दछ त्यसबेला आफ्नो सरकारले आवाज उठाउनु पर्दछ । तर नेपालको सरकारको भने कुरा बेग्लैछ । आफ्ना नागरिकहरु जति पनि अन्यायमा परेपनि त्यसबारे सरकार धेरैजसो मौन धारण गर्दछ । विदेशी सरकारहरु रिसाउला भनेर डराउछ । नेपालका लाखौं युवकहरु विदेशमा जाँदा नेपाल कै मानिसहरुले उनीहरुलाई ठगेको हुन्छ । त्यस माथि विदेशीले ठग्ने त बेग्लै छ । विदेशमा बसेका नेपाली नागरिकहरु चिच्याउँदै गर्छन् तर आफ्नो सरकारले सुन्दैन र सुने पनि नसुने झैं गरेर बस्छ । त्यस मानेमा नेपाली राज्यले नागरिक सुरक्षाको आधारभूत कत्र्तव्य पनि पुरा नगरेको देखिन्छ ।
नागरिक प्रति राज्यले गर्नुपर्ने सामान्य र आधारभूत कर्तव्य पनि पुरा नगर्ने राज्यका पदाधिकारीहरु तीनै नागरिकको रगत पसिनाबाट जम्मा भएको राजश्व माथि ब्रह्मलुट गरेर राजश्री जीवन व्यतित् गरिरहेका छन् । राज्य धर्मच्युत भैरहेको छ । सरकार, संसद, न्यायालय, संवैधानिक अंगहरु देखि सेना, प्रहरी, निजामती हुदैँ स्थानीय तहका वडा कार्यालयसम्म राज्यधर्मको सामान्य पालना गर्ने कर्तव्य विमूख हुनु आज हामी नेपालीको नियती हुन पुगेको छ । यस्तो राज्य नागरिकको संरक्षक र हितकारी नभएर शोषणको साधन हुन पुगेको छ । राज्यप्रति नागरिकको आशा, भरोसा र विश्वास भत्किएको छ । यसबाट देश हुनु र नहुनुको कुनै फरकपन नागरिकले अनुभव गर्न नसक्नुले नेपाल राज्यको सान्दर्भिकतामाथिनै जनमानसमा प्रश्न खडा भएको छ ।
श्रोत: आदित्यमान श्रेष्ठ /आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया