हिजो शुक्रवार, कात्तिक शुक्ल प्रतिपदाको दिन देखि नेपाल सम्वत् ११४२ सुरु भएको छ। यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन। यस दिन सरकारले सार्वजनिक विदासमेत घोषणा गरिसकेको छ।
कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाडौंमा छ।
सामान्य ब्यापारी शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए ।
नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा नेपाल सरकारले शङ्खधर साख्वाः लाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो ।
नेपाल सम्वतको नयाँ वर्ष नेवारहरूले ‘ईश्वरको बास मानव शरीरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरीर’ हुने विश्वासका साथ मानव शरीरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्ह:पुजा’को दिन पर्छ, नेवार समुदायमा यसलाई पुरानो जात्रा (नख:) का रूपमा समेत लिइन्छ। ‘न्हुदा’ –नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलोपटक प्रयोग गर्नुभएको मानिन्छ ।
नेपाल सम्वत बारे थप जानकारी :
नेपाल सम्वत लिच्छवि राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव सम्वत’ लाई विस्थापित गरी लिच्छविकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएको सम्वत हो। तत्कालीन व्यापारी शंकधर शाख्वाले आफ्नो निजी सम्पत्तिबाट प्रजाहरूको ऋण तिरिदिएको र उनीहरूलाई ऋणमुक्त गरेपछि नेपाल संवत्को सुरुवात गरेको अधिकांश इतिहासविदहरू दाबी गर्दछन।
नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाले जनताको ऋण मोचन गरी स्थापना गरेको सो सम्वत विश्वमै देशका नाममा स्थापित एक मात्र सम्वत भएको दाबी गरिन्छ। यसैलाई मनन गरी २०५६ सालको नयाँ वर्षका दिनमा (नेपाल सम्वत ११२९) तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल सम्वतका प्रवर्तक शंकधर साख्वालाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेका थिए। नेपाल सम्वत नयाँ वर्ष सुरु हुने कात्तिक शुक्ल प्रतिपदाको दिन सरकारले सार्वजनिक विदासमेत घोषणा गरिसकेको छ ।
बहुसंख्यक जनताको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन्त समेतको कार्यमा नेपाल सम्वत अक्षुण्ण र अभिन्न रूपले गाँसिएको छ। जन्मपछिको पहिलो कर्मकाण्डी उत्सव ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल सम्वतको प्रयोग सुरु हुन्छ। हामीले मनाउने जन्मोत्सवहरू, जीवित पुर्खाहरूको जङक्व, मृत पुर्खाको नाममा गरिने श्राद्ध, तर्पण, पिण्डपानी , अर्पण आदि सबै नेपाल सम्वत कै तिथी अनुसारका साइतमा गरिन्छन ।हाम्रो धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवित रहेसम्म नेपाल सम्वतको अस्तित्व पनि स्वत: जीवित रहनेछ ।
नेपाल सम्वतको नयाँ वर्ष नेवारहरूले ‘ईश्वरको बास मानव शरीरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरीर’ हुने विश्वासका साथ मानव शरीरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्ह:पुजा’को दिन पर्छ, नेवार समुदायमा यसलाई पुरानो जात्रा (नख:) का रूपमा समेत लिइन्छ । ‘न्हुदा’ –नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलोपटक प्रयोग गर्नुभएको मानिन्छ । राणा निरंकुशता विरुद्धको नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपाली नेताहरू हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा उनी पनि नेपाल फर्के र लगत्तै उनले २००८ सालको नेपाल संवत् नयाँ वर्षको दिन पाटनको न्ह्याखामा इतिहासमा पहिलोपटक ‘न्हुदा’ कार्यक्रम आयोजना गरेका थिए ।
पञ्चायती निरंकुश शासन लागु भएपछि राजा महेन्द्र शाहले देशमा ‘एक भाषा’ नीति लागु गरे । यसपछि देशका अन्य भाषाहरू राजकीय प्रयोगमात्र हैन, सामाजिक प्रयोगबाटै कमजोर हुनथाले । यस्तो अवस्थामा नेपाल भाषाप्रेमी/प्रयोगकर्ता तत्कालीन निरंकुश शासक विरुद्ध आन्दोलित नेवार समुदाय नेपाल भाषा मंका खल:को नेतृत्वमा नेपाल भाषा प्रबद्र्धनको आन्दोलनमा होमिए । एक भाषा नीतिलाई प्रबद्र्धन गरिरहेको राज्य यो भाषा आन्दोलनको विरुद्धमा निरंकुश शैलीमा खनिएपछि आफ्नो आन्दोलनलाई सामाजिक जलप लगाउन यो संस्थाले नेपाल सम्वत नयाँ वर्षको दिनमा ‘न्हुदा’ कार्यक्रम भव्य रूपमा मनाउन थाल्यो र यसलाई निरन्तरता दियो ।
नेपाल सम्वत जोगाउन ब्राह्मण समुदायको योगदान:
देशको नाममा प्रचलित यो संवत्लाई नेवारहरूले केही दशकदेखि बढी उत्साहजनक रूपमा मनाउन थालेको मात्रै हो, वास्तवमा यसलाई सदियौंदेखि जोगाउने काम निश्चय रूपमै ब्राह्मण समुदायले गरेका हुन् । भित्ते क्यालेन्डर सुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राह्मणहरूको समिति– पञ्चाङ्गण निर्णायक समितिले तिथि, मिति, चाड, पर्व तोक्थ्यो, यी सबै नेपाल सम्वतमा आधारित हुन्थ्यो । सयौं वर्षसम्म यही समितिले यो सम्वतलाई जीवन्त बनाए ।
राणाकालमा जब नेपाल सम्वतलाई पुरै बन्देज गरियो, यही पञ्चाङ्गण समितिले नै नेपाल सम्वतको प्राण थामेको हो । यसलाई लिखित रूपमा विकास र प्रयोग गरेको पनि ब्राह्मणहरूले नै हो । तसर्थ नेपाल सम्वत अनेक अप्ठ्यारा मोडबाट गुज्रिँदासमेत आजसम्म जीवित हुुनुमा ब्राह्मणहरूको ठूलो भूमिका छ । आज पनि उही ब्राह्मण समुदायका विज्ञहरू सम्मिलित पञ्चाङ्गण समितिले नेपाल सम्वतकै आधारमा वर्षभरिको चाड, पर्व, उत्सव आदि निर्धारण गर्ने काम गर्छ । नेवार समुदायले केही दशक अघिदेखि यसको संरक्षण, सम्बद्र्धन र व्यावहारिक प्रयोगको माग गर्दै आन्दोलनमा भने छन् ।
म्हः (आत्म) पूजा:
नेपाल सम्वतको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका तात्कालिन अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय हो। आत्म पूजा शास्त्रीय भए पनि नेवार समुदाय बाहेक अन्य समुदायमा यसको प्रचलन छैन ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।