Thursday, April 23, 2026
83.6 F
Washington DC.

४० वर्षदेखि श्रममा सक्रिय प्रेम, ५० वर्षमा प्रेमविवाह, भन्नुहुन्छ– जिन्दगीका गोरेटाले धेरै पाठ सिकाए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल औषधि लिमिटेड बिजुलीबजारको गेटको छेउमा एक जना साना व्यापारी देखिनुहुन्छ। ती व्यापारीले सो स्थानमा पसल गर्नुभएको १५ वर्ष भयो। बाटोमा हिँड्दै गरेका बटुवालाई पानी पिलाउनुहुन्छ। ‘मास्क लगाएर हिँड्नुस् है’ भनेर सचेत गराउनुहुन्छ।

हँसिलो मुहार भएका ६३ वर्षी प्रेम खड्काको जीवन–संघर्ष भने त्यति मीठो छैन। सामान्य परिवारमा जन्मिएका प्रेमले कक्षा ४ सम्म अध्ययन गर्नुभयो। उहाँको बालपन गाँउघरमा दुःखसुख गर्दैमा बित्यो।

१७ वर्षको उमेरमा कोटेश्वरमा आएर हार्डवेयरमा सेक्युरेटी गार्डको जिम्मेवारी बहन गर्नुभएका प्रेमको मासिक तलब भने तीन सय रुपैयाँ थियो। ‘उः बेलाको ३ सय अहिलेको ३०÷४० हजारभन्दा बढी हो,’ प्रेम भन्नुहुन्छ, ‘त्यो उमेरमा त्यति पैसा कमाउने गाँउको पहिलो व्यक्ति सायद म नै हुँला।’

कोटेश्वरमा दुई वर्ष काम गरेपछि उहाँको विश्वासिलो र कामप्रतिको लगाव देखेर साहुले नयाँ बानेश्वरको हार्डवयरमा सारिदिए। ‘कामको बोझ बढ्न थाल्यो। नयाँ ठाँउमा सारेपछि साहुले सम्पूर्ण जिम्मा मलाई नै दिनुहुन्थ्यो। हिसाबमा अलि टाँठोबाठो थिँए। त्यसैले सबै गोदाममा आएका सामनको ठीक अनुपात निकाली पनि दिन्थेँ,’ प्रेम विगत सम्झिनुहुन्छ, ‘त्यसबापत साहु खुसी भएर बक्सिसस्वरुप केही रकम खल्तीमा पनि हालिदिनुहुन्थ्यो।’

कम गर्दै जाँदा समय बितेको पत्तै भएन। कामअनुसारको सेवा सुविधा पनि प्रेमले नपाउनुभएको होइन। ३ सय बाट सुरु गरेको तलब समयअनुसार ५÷६ हजार पुग्यो। ‘हार्डवेयरमा मात्रै २० वर्ष काम गरेको अनुभव छ मसँग। कमाएको पैसा हाँसखेल रमाइलो गर्दै सक्काएँ। तर खर्च गरेर सकेकोमा अपसोच भने छैन,’ उहाँ हाँस्दै सुनाउनुहुन्छ, ‘दुईदिने चोला मरिलानु के नै छ र ? त्यसैले पनि हाँसेर बाँचें। कुनै असुन्तुष्टी रहेन।’

२० वर्षसम्म हार्डवेयरमा काम गर्दाखेरि मानिसको चहलपहलमा क्रमशः कमी आउन थाल्यो। त्यो कमीले उहाँमा आलस्य बढ्यो। आफूले काम गरेकै ठाउँमा आफ्ना छोरालाई लगाइदिएर आफू गाँउ फर्किनुभयो। गाँउमा केही समय खेतीपाती गर्नुभयो। तर, पैसा खेलाइरहेको हातले माटो खेलाउँदा प्रतिफल ढिला आउने भएकाले खेतीपातीमा रमाउन सक्नुभएन। त्यसपछि गाँउमै सानोतिनो होटल खोल्नुभयो।

गाँउकै एक घुम्तीमा एउटा सामान्य होटल सञ्चालन गर्नुभयो। त्यहाँ ७ वर्ष बिते। तर भनेजस्तो व्यापार नभएपछि अन्ततः होटल व्यवसाय पनि छोड्नुभयो। त्यहीबीचमा उहाँलाई बज्रपात आइलाग्यो। दुःखसुखकी सहयात्री जीवनसँगीनीको देहावसान भयो।

‘श्रीमतीको टीबी रोगका कारण मृत्यु भयो। बचाउन अनेक प्रयास गरेँ। तर केही लागेन। पहिलो श्रीमतीबाट एउटा छोरा र छोरी जन्मिएका थिए,’ आँखा टिलपिल बनाउँदै सुनाउनुहन्छ प्रेम।

पत्नीवियोग सहन नसकेपछि प्रेम पुनः काठमाडौँ आएर नेपाली औषधि लिमिटेडअगाडि आएर पसल सुरु गर्नुभयो। ‘यहाँ पनि त्यति सजिलै पसल राख्न पाएको हैन नी !’ प्रेम सुनाउनुहुन्छ, ‘यहाँका हाकिमलाई आफ्नो अवस्थाको बारेमा बताएँ। बल्ल त्यसपछि उहाँ राजी हुनुभएको हो। यहाँ चुरोट खानचाहिँ नदिनू है भन्नुभएको थियो।’

पसल गर्दा गर्दै संयोगवश उहाँको एक महिलासँग प्रेममा पर्नुभयो। आफ्नो ५० वर्षको उमेरमा भएको दोस्रो प्रेम विवाह अहिलेको बुढेसकालको सहारा भएको उहाँ बताउनुहुन्छ। ‘श्रीमती पनि यहीँ वरपर मकै पोल्ने काम गर्छिन्। दिनको आठ सयदेखि एक हजारसम्म कमाउँछिन्। म यता दैनिक एक हजार कमाउँछु,’ प्रेम उत्सुकताका साथ बेलीविस्तार लगाउनुहुन्छ।

प्रेमको पसलमा पानीका बोतल, चकलेट, मास्क, पराग, चाउचाउ, कलम, रेकर्ड फाइलजस्ता सामान छन्। मानिसलाई ओहोरदोहोर गर्न अप्ठ्यारो नहुने गरी सड्कपेटीको भित्री भागमा उहाँको सानो र चिटिक्क परेको पसल देख्न सकिन्छ।

‘मलाई जिन्दगीका गोरेटाले धेरै पाठ सिकाए। धेरै संघर्ष पनि गरेँ। यहाँ पसल सञ्चालन गरेको १५ वर्ष बितेको पनि पत्तै भएन। अब शरीरले साथ दिए अझै यही ठाँउमा १० वर्ष हाँसेरै कटाइदिन्छु,’ उन्मुक्त हाँसो हाँस्दै प्रेम सुनाउनुहुन्छ, ‘६३ वर्षको उमेरमा थोरै दुःख गरेर दैनिक एक हजार आम्दानी गर्नु सन्तोषकजनक काम हो मेरा लागि। म यसैमा खुसी र सुखी छु।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img