आमाबिना यस सृष्टिको कुनै अर्थ हुँदैन भन्ने विश्वास बलियो बन्दै गएपछि हाम्रा पुर्खा मातृप्रधान बने। नारीमा रहेको प्रजनक शक्तिले देवत्वकरण प्राप्त गर्यो।
भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो। यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ। विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो। धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठूलो छ। किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ।
सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ सांस्कृतिक, १ सय २९ भाषभाषी र १० धर्मावलम्बीहरू रहेका छन्। नेपालको यस विविधतालाई कलह होइन सम्पत्तिका रूपमा लिनुपर्छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय बिचौलिया प्रवृत्तिले गर्दा नेपालको धर्मको अध्ययन पाठ्यक्रमबाट समेत हटाइँदैछ। नेपालमा धर्मको बुझाइमा अनेक जिलिगाँठी बुनेर नेपाल अधार्मिक राष्ट्र हो भन्नेसम्मको विचार प्रशारण गरिन्छ तर संविधानतः नेपाल बहुधार्मिक देश हो। नेपालको संविधानको धारा ३ ले भन्छ- नेपाल बहुधार्मिक राष्ट्र हो। अनि यही संविधानको धारा धारा ४ ले भन्छ नेपाल धर्म निरपेक्ष राज्य हो। राष्ट्र र राज्य दुवैको भूगोल हुन्छ। जनता हुन्छ। सरकार हुन्छ र सार्वभौमसत्ता हुन्छ। हाम्रो संविधानको धारा ३ को बहुधार्मिक भूगोल, जनता र सार्वभौमसत्ता कुन हो र धारा ४ को धर्मनिरपेक्ष भूगोल कुन हो छुट्याउन सकिँदैन। स्मरण रहोस् भूगोल, जनता र सार्वभौमसत्ता नभएको राज्य हुँदैन। सरकारले शासकीय संरचनामा धर्मनिरपेक्ष नीति अवलम्बन गर्न सक्छ। यति सहज कुरालाई संविधानमा यति जटिल बनाइएको छ कि अदालतमा बहस गर्नु परेमा संविधानको धारा ३ अनुसारको नेपालको बहुधार्मिक भूगोल र धारा ४ को धर्मनिरपेक्ष भूगोल एउटै होइन भनेर संविधान अनुसार प्रमाणित गर्न सकिन्छ।
नेपालका धर्म यहीँका हिमाल पहाड र तराइका सेरोफेरोमा जन्मिएका हुन्। केही धार्मिक परम्पराहरू आयातीत पनि छन्। नेपालका बोन, शाक्त, शैव, ब्रह्म, बौद्ध, वैष्णव, किराती आदि नेपाली नागरिकका संस्कारबद्ध परम्पराबाट निर्माण भएका धार्मिक सम्प्रदाय हुन्। धार्मिक सम्प्रदाय दैनिक पूजाआजा गर्ने धर्मसँगमात्रै होइन यो त पहिचानसँग पनि जोडिएको हुन्छ। जाति, भाषा, धर्म, संस्कृति भनेका राज्यको पहिचान मापन गर्ने एकाइ हुन्। कुनै पनि जाति वा धर्मको पहिचान राज्यसँग जोडिएको हुन्छ। जाति वा समुदायले आफ्नो पहिचान राज्यसँग जोड्न चाहनु नागरिकको अधिकार पनि हो। देशका प्रत्येक जनजातिको भाषा, धर्म, संस्कृतिको संरक्षण सरकारको दायित्वको कुरा हो।
वैदिक सनातन होस् वा जनजातिगत प्रकृतिपूजक धर्म होस् दुवै परम्परागत शक्तिकी देवीको पूजा तीन किसिममा वर्गीकरण गरेर गर्ने गरिन्थ्यो वा गरिन्छः १, सौम्य रूप, २, काम्य रूप र ३, उग्र रूप। सौम्य स्वरूपिणी देवीको ईश्वरीय प्रतिरूप उमा, पार्वती, कमला, लक्ष्मी आदि हुन्। छठीमाई, अन्नपूर्णा, त्रिपुरा सुन्दरी आदि काम्य रूपका प्रतीक हुन् भने उग्र स्वरूपमा चण्डी, काली, डाकिनी, साकिनी आदि हुन्। हिजोआज तन्त्रको नाम सुन्ने वित्तिकै बोक्सी विद्या, कालो जादू, भूत प्रेत आदि कुरा बुझ्न थालिएको छ। तर यो भ्रममात्र हो।
जगतको सृष्टि, स्थिति, प्रकृति, जन्म, मृत्यु आदिका बारेमा धर्म वा सम्प्रदायका आफ्नै धारणाहरू हुन्छन्। पुरुष र प्रकृतिको संयोजनबाट सृष्टि र वियोजनबाट प्रलयका क्रियाकलाप निरन्तर चलिरहन्छन् भनेर धर्म र दर्शनले भनेको हुन्छ। यो तथ्यलाई भौतिक विज्ञानले पनि नकार्न सक्दैन। परमाणुमा निहित ऋणात्मक र धनात्मक उर्जाले कुनै वस्तु सञ्चालनमा रहेको हुन्छ। क्वान्टम फिजिक्क्स पछि स्ट्रिङ थ्यौरी (जीवा सिद्धान्त) र वेभ थ्यौरी (तरङ्ग सिद्धान्त) ले त हरेक वस्तु पदार्थ वा शक्ति दुईमध्ये एक अवस्थामा मात्र अस्तित्वमा रहन्छ भनेको छ। पदार्थको स्थितिमा रहेको बेला मात्र कुनै वस्तुलाई हाम्रो आँखाले देख्न सक्छ। शक्तिको स्थितिमा रहेको अवस्थामा हाम्रो आँखाले देख्न सक्दैन। किनभने मानिसको आँखाले त्रिआयामिक स्थितिमात्र देख्न सक्छ।
विज्ञानले सृष्टिको मान्यतालाई जसरी व्याख्या गरे पनि सृष्टिको शक्ति भनेको नारीरूप हो भन्ने शाक्त मतको धारणा हो। अर्थात् शक्तिलाई प्रधान देवता मानेर पूजा गर्ने सम्प्रदायलाई शाक्त भनिएको हो। शक्ति (देवी) को धेरै प्राचीन कालदेखि पूजा हुँदै आएको छ। अरु सम्प्रदायमा जस्तै शाक्त मतको उद्देश्य पनि मोक्ष नै हो तर शक्तिको सञ्चय गरी बलशाली बन्नु, शक्तिको उपासना गर्नु, शक्ति नै जीवन र सत्य हो भन्नु शाक्त सम्प्रदायको मूल सार हो।
सिवालिक वा सपादलक्ष पर्वतको आसपासमा बस्ने नेपालीका पुर्खाले आमा नै संसारको स्रोत हो भन्ने ज्ञान यहीँ पाएको हो। आमा मानिस मात्र होइन सम्पूर्ण प्राणीजगतकै जननी हुन्। आमाबिना यस सृष्टिको कुनै अर्थ हुँदैन भन्ने विश्वास बलियो बन्दै गएपछि हाम्रा पुर्खाको आदिम समाज मातृप्रधान बन्यो। नारीमा रहेको प्रजनक शक्तिले देवत्वकरण प्राप्त गर्यो।
आत्मा, चेतना, स्थूलवस्तु, त्यसको उत्पति र आधार पञ्चतत्व हुन्। पृथ्वी, जल, तेज, वायु र आकाश (इथर) तत्वबिना मानिसको अस्तित्व नै हुँदैन। यस अर्थमा सबै मानिसहरू शाक्त सम्प्रदायको विचार बोकेर हिँडिरहेका छन्। अर्थात सम्पूर्ण नेपाली समाज शक्तिपूजक सम्प्रदायको समुच्चय हो।
साहित्यिक, दार्शनिक धारबाट हेर्दा शक्ति पूजाको स्रोत वेदसम्म पुग्छ। जनजातिको कुरा गर्दा किरात जातिको स्रोत पनि वेदमा उल्लेख छ। आर्य, अनार्य, क्षेत्री, बाहुन, राई, लिम्बू, थारू, झाँगर, यादव, राजपुत,थकाली, कोच, राजवंशी, शेर्पा, तामाङ सबै जाति कुनै न कुनै रूपमा शाक्त मत मान्छन्। नेपालमा शाक्त दर्शनको प्राचीनतालाई हेर्दा वैदिक र पौराणिककालसम्म पुग्नुपर्ने हुन्छ। तर कतिपय शाक्त सम्प्रदायका अनुयायीहरूले यस धर्मलाई वैदिक धर्मभन्दा पुरानो मान्छन्। यस धर्मको विकास वैदिक धर्मसँग मेल खायो वा यसलाई पछिल्लो कालमा सनातन धर्ममा समावेश गरियो यस कुराको अध्ययन हुन बाँकी नै छ।
वैष्णव सम्प्रदायमा विष्णुको पूजा; शैव सम्प्रदायमा शिवको पूजा गरिए जस्तै शाक्त सम्प्रदायमा भगवती शक्ति स्वरूपाको पूजा हुन्छ। शाक्त मतावलम्वीहरूका लागि शक्ति भन्नु नै स्त्री (देवी) अवतार हो। शाक्तहरूका पनि अनेक मत र मार्ग छन्। शाक्त मत तन्त्रको पूजा गर्ने पद्धतिको मार्ग हो। शाक्त सम्प्रदायको सिद्धान्त त्रिपुरा रहस्य, मालिनी विजय, कुलार्णव तन्त्र आदि ग्रन्थहरूमा उल्लेख छ। कतिपय शाक्तहरू वेद, पुराण, देवीमाहात्म्य, देवी भागवत, चण्डी आदिलाई पनि सिद्धान्तको स्रोत मान्छन्।
वैष्णव सम्प्रदायमा विष्णुको पूजा; शैव सम्प्रदायमा शिवको पूजा गरिए जस्तै शाक्त सम्प्रदायमा भगवती शक्ति स्वरूपाको पूजा हुन्छ। शाक्त मतावलम्वीहरूका लागि शक्ति भन्नु नै स्त्री (देवी) अवतार हो। शाक्तहरूका पनि अनेक मत र मार्ग छन्। शाक्त मत तन्त्रको पूजा गर्ने पद्धतिको मार्ग हो। शाक्त सम्प्रदायको सिद्धान्त त्रिपुरा रहस्य, मालिनी विजय, कुलार्णव तन्त्र आदि ग्रन्थहरूमा उल्लेख छ। कतिपय शाक्तहरू वेद, पुराण, देवीमाहात्म्य, देवी भागवत, चण्डी आदिलाई पनि सिद्धान्तको स्रोत मान्छन्।
वेद, पुराण, दर्शन, स्मृति, महाकाव्य, उपनिषद तन्त्रग्रन्थ आदि देवी वा शक्तिमाताका महिमाले भरिएका छन्। ऋग्वेदका मन्त्र स्त्री हि ब्रह्मा बभूविथ (ऋग्वेद. ८.३३.१९) अर्थात नारी नै ब्रह्मा, ज्ञानका स्रोत, उत्पत्तिकी आधार हुन् भनिएको छ। त्यति मात्र होइन वेदमा नारीलाई सरस्वतीको रूप पनि मानिएको छ। प्रतितिष्ठ विराऽसि, विष्णुरिवेह सरस्वति। सिनिवालि प्र जायतां भगस्य सुमतावसत्। (अथर्ववेव १४.२.१५) अर्थात् हे सरस्वति ! तिमी यहाँ विष्णुजस्तै प्रतिष्ठित हौ। ए भाग्यमानी नारी ! तिमी सृष्टि गरेर भाग्यदेवको कृपा गर्छ्यौ।
ऋग्वैदिक नारी शक्तिका रूपमा रहेका वाक, श्रद्धा र सरस्वती (त्रिदेवी) जस्तै शाक्त दर्शनले पनि शौम्य, काम्य र प्रचण्ड गरी तीन देवीको कल्पना गरेको छ। साङ्ख्य दर्शनले पनि प्रकृति र पुरुष (चित्, लोग्ने मानिस भनेको होइन) लाई मिलाउने शक्तिरूपी देवीको कल्पना गरेको छ।
निगम र आगम दुवै शास्त्रमा शाक्तमतको विवरण पाइन्छ। निगम शास्त्र (वेदाचार) को मूल सूत्र ऋषि वादरायणको ‘अथातो ब्रह्म जिज्ञाषा’ हो भने शाक्ताचारको मूल सूत्र अगस्त्यको अथातो शक्तिजिज्ञाषा’लाई मानिन्छ। निगम शास्त्र अनुसार शक्तिदेवीको स्वरूप र उपासना पूर्णत वैदिक विधिमा आधारित हुन्छ भने आगम शास्त्र अनुसार देवी नै यस सन्सारको आदि र अन्त्य हुन भनेर तन्त्र र मन्त्र विधिमा आधारित हुन्छ।
नेपालमा किरातकालदेखि नै शक्ति पूजाको परम्परा रहेको पाइन्छ तर मध्यकालदेखि चाहिँ व्यापकरूपमा शक्ति पूजाको विस्तार भएको पाइन्छ। आधुनिक कालमा पनि शक्तिपूजाको आकर्षण घटेको छैन। देवी मन्दिरहरूमा जानेको घुइँचो हेर्दा साधनामा फरक वृत्ति देखिए पनि शक्ति पूजा लोप भएको छैन भन्ने प्रमाणित हुन्छ।
आगम मत अनुसार देवीका सगुण र निर्गुण रूपको उपासना हुन्छ। शाक्त आगमले तन्त्र साधनाका माध्यमबाट आध्यात्मिक अभ्यास गर्नु र मोक्ष प्राप्त गर्नुलाई मुख्य उदेश्य मान्दछ। साधना भनेकै आध्यात्मिक अभ्यास हो। यस्ता अभ्यास बाह्य र आन्तरिक गरी दुइ प्रकारका हुन्छन्। बाह्य ध्यानमा देवीको प्रतिमा स्थापना हुन्छ भने आन्तरिक ध्यानमा योगका माध्यमबाट कुण्डलिनी जगाएर सिद्धि प्राप्त गर्ने गरिन्छ। यहाँनिर शाक्त दर्शन र शैव दर्शन एक आर्कामा अन्तर्भूत भएको देखिन्छ। किनभने शाक्त र शैव दुवैमा तन्त्र विधि अनुसार साधना हुन्छ।
शक्ति प्राप्त गर्ने इच्छाले निर्माण भएको शक्ति उपासना सार्वकालिक हो। वैदिक सनातन होस् वा जनजातिगत प्रकृतिपूजक धर्म होस् दुवै परम्परागत शक्तिकी देवीको पूजा तीन किसिममा वर्गीकरण गरेर गर्ने गरिन्थ्यो वा गरिन्छः १, सौम्य रूप, २, काम्य रूप र ३, उग्र रूप। सौम्य स्वरूपिणी देवीको ईश्वरीय प्रतिरूप उमा, पार्वती, कमला, लक्ष्मी आदि हुन्। छठीमाई, अन्नपूर्णा, त्रिपुरा सुन्दरी आदि काम्य रूपका प्रतीक हुन् भने उग्र स्वरूपमा चण्डी, काली, डाकिनी, साकिनी आदि हुन्। हिजोआज तन्त्रको नाम सुन्ने वित्तिकै बोक्सी विद्या, कालो जादू, भूत प्रेत आदि कुरा बुझ्न थालिएको छ। तर यो भ्रममात्र हो। तन्त्र प्रणालीमा पञ्चमकार अर्थात मदिरा, मासु, माछा, मुद्रा र मैथुनलाई लिएर गलत अर्थ लगाइएको छ। त्यसैले यो भ्रम सिर्जना भएको हो। पञ्चमकारको सही अर्थ भनेको पञ्चमकार प्रयोगको अवस्थामा पनि उपासनालाई भुल्नु हुँदैन भनेको हो। अर्थात गृहस्थीले पनि शाक्त मत पालन गर्न सक्छन्। सिद्धिप्राप्तीका लागि घर छाडेर जोगी नबनेपनि सम्भव छ भन्ने कुरा बुझाउन नसकेर शाक्त मतावलम्बीहरू यौनाचारी हुन्छन् भनियो। शैव सम्प्रदायीहरूलाई लिङ्ग पुजक भनेजस्तै शाक्त सम्प्रदायका पञ्चमकारीलाई योनिपूजा गर्ने समुहमा राखियो। तर गुह्येश्वरी, कामाख्यमा पूजा गर्ने मानिसहरू त पहिले भन्दा बढेकै छन्। तान्त्रिक अभ्यास गर्ने केही भ्रष्ट र स्वार्थी तान्त्रिकहरूले तन्त्रमन्त्रको नाममा महिलाहरूमाथि लाञ्छना पुग्ने काम गरेको भरमा शाक्त मत लोप भएको मान्न सकिँदैन।
नेपालमा किरातकालदेखि नै शक्ति पूजाको परम्परा रहेको पाइन्छ तर मध्यकालदेखि चाहिँ व्यापकरूपमा शक्ति पूजाको विस्तार भएको पाइन्छ। आधुनिक कालमा पनि शक्तिपूजाको आकर्षण घटेको छैन। देवी मन्दिरहरूमा जानेको घुइँचो हेर्दा साधनामा फरक वृत्ति देखिए पनि शक्ति पूजा लोप भएको छैन भन्ने प्रमाणित हुन्छ। नेपालका हरेक गाउँ र शहरमा देवी (शक्ति) आराधनाका मन्दिरहरू छन्। गुह्येश्वरी, दन्तकाली, वागेश्वरी, कमलाक्षी, छत्रेश्वरी, पाथीभरा, सिंहवाहिनी, छिन्ताङ भगवती, कमलामाई, विन्ध्यवासिनी, सखडा भगवती, तालबाराही, गढीमाई, दक्षिणकाली, शोभा भगवती, पाथीभरा जहाँसुकै होस् शक्तिको आराधना गर्ने श्रद्धालुको भीड लाग्छ। फरक यत्ति हो आजकल शाक्त साधना पद्धतिले धार्मिक पर्यटनको रूप पनि धारण गरेको छ।
आवरणःपलाञ्चोक भगवती। तस्बिरः राजेश घिमिरे
२०७९ भदौ ९ गते प्रकाशित सामाग्री पुनःपोष्ट गरिएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया