spot_img
Wednesday, September 18, 2024
70.7 F
Washington DC.
spot_img

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।)

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट तीन सातादेखि (१६ साउन) बेपत्ता भएकी काभ्रे पनौतीकी ममता काफ्लेको आफ्नै पतिबाट हत्या भएको आशंकामा अहिले सामाजिक संजाल तरंगित छ। उक्त घटनासँगै अर्को जुर्मुराएको विषय भनेको केही संजाल प्रयोगकर्ताले लेखेजस्तै “पिआर, ग्रिन कार्डले निम्त्याएको दुखान्त” भन्ने तर्क पनि छ।

तर विचारणीय कुरा के छ भने, ममता काफ्लेले पिआर वा ग्रिन कार्ड भएको पुरुषसँग बिहे गर्नुले यो घटना पूर्वनिर्धारित थियो भन्ने जसरि चलनचल्तीको भाषामा “खुच्चिङ्ग” भनेजस्तो समाजिक संजालमा एकथरी मानिसले गरिरहेको दाबीमा कुनै सत्यता छैन र उक्त कुरा निन्दनीय छ।

कुनै पनि धनी वा पिआर होल्डर पुरुषसँग बिहे गर्नु र गरिब पुरुषसँग बिहे गर्ने कुराको भवितव्य र अपराधसँग कुनै सम्बन्ध हुँदैन। पीडितको फोटो हालेरै धनको लालसाले ममता काफ्लेको हत्या भयो, पिआर होल्डरसँग बिहे गरेकै कारण यस्तो हुनुनै थियो, धनी केटासँग बिहे गर्नु हुनेथिएन, धनी होइन असल जीवनसाथी रोजौं, पिआर र ग्रिन कार्ड नहेरौं, “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भन्ने जस्ता भाष्य स्थापित गर्न खोज्नु वास्तवमा आपत्तिजनक छ। सो कुराहरु पितृसत्तात्मक सोचको उपज बाहेक अरु केही होइनन्।

हामीले बुझ्नुपर्ने अर्को पाटो के पनि हो भने, यस प्रकारको सस्तो टिप्पणीले समग्र वैवाहिक सम्बन्धको नकारात्मक कुरालाई अतिरञ्जित गर्दछ र अपराधको सरलीकरण गर्दछ। भौतिक सम्पत्तिले कहिलेकाहीँ सम्बन्धमा गतिशीलताको भूमिका खेल्न सक्ला, कहिलेकाहीँ सम्पत्ति वा वित्तीय सुरक्षाले केही मनोवैज्ञानिक तनाव घटाएर वैवाहिक सम्बन्धलाई स्थायित्व प्रदान गरेर सम्बन्धमा सकारात्मक योगदान दिन सक्छ, तर सो कुरा पनि पूर्णतः सम्बन्ध बन्नु र अपराधको शृङ्खला को उद्गम स्थल थियो भनेर भन्नु अतिशयोक्ति हुन जान्छ। पढेलेखेका भनिएका मानिसहरूबाटै यस किसिमको तर्क आउनु त झन् सुहाउँदो कुरा होइन। न्यूनतम् रेस्नल अब्जर्भेसन समेत गर्न नसकेको सामाजिक संजाल प्रयोगकर्ताले कुराको सतही बहसलाई गलत दिशामा मोडिरहेका छन्।

घरेलु हिंसा एक यस्तो अपराध हो जुन हरेक आर्थिक स्थितिका मानिसहरूले गरिरहेका हुन्छन्। कुनै पनि आपराधिक मनस्थितिको मान्छेलाई उनीहरूको सामाजिक-आर्थिक स्थितिले अपराध गर्नबाट रोक्ने र दुरुत्साहन गर्ने प्रकृतिको हुँदैन। यदि श्रीमानले आफ्नी श्रीमतिको हत्या गरेकै हो भने पनि यहाँ सम्बन्धमा भावनात्मक परिपक्वता, परस्पर सम्मान, चरित्र र सम्बन्धमा समानुभूतिको कमी कारक तत्व हुनुपर्छ, न कि पिआर वा ग्रिन कार्ड हुनु र नहुनु।

तसर्थ “वास्तविक पार्टनर छान्नुहोस्, धनी पार्टनर होइन” भन्नेजस्ता कुतर्क पछाडिको आशय सकारात्मक छैन। त्यसले वास्तविक तथ्यलाई नजरअन्दाज गर्दछ र मूल मुद्दालाई विषयान्तर गराउँछ। सम्बन्ध बिग्रनु र भवितव्य सिर्जना हुनुमा पीडित व्यक्ति नै दोषी हुन्छ, न कि कुनै संस्था। कुनै पनि महिलाले पिआर भएको वा ग्रिन कार्ड भएको पुरुषसँग आफ्नो भविष्यको सुनिश्चितता र स्थायित्वका लागि वैवाहिक जीवन सुरु गर्नु नै गलत कदम हुनेछ भनेर समग्र डायस्पोरालाई नै बदनाम गराउने किसिमको तर्क वाञ्छनीय कदापी छैन। यसप्रकारको तर्कलाई कसैगरी समर्थन गर्न सकिन्न। यसको सट्टा, सम्मान, विश्वास, र भावनात्मक परिपक्वतामा आधारित स्वस्थ सम्बन्धहरूलाई प्रोत्साहन गरौं। मानवीय संवेदना कायम गरौं, शोकसन्तप्त परिवारलाई थप पीडा हुने खालको हलुका टिप्पणी नगरौं।

अधिवक्ता विशाल दत्त भट्ट,
अनामनगर, काठमाडौं।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img