अमेरिकी राष्ट्रपतिय निर्वाचन २०२४ मा डोनाल्ड ट्रम्पको विजयकालागी एलन मस्कको $११९ मिलियनको योगदानले ठूलो प्रभाव पारेको छ ।। मस्कले ट्रम्पको चुनावी अभियानमा विशेष योगदान दिएका छन्, जसका कारण ट्रम्पको विजय पश्चात टेस्ला कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। बुधबार बिहान जब ठूला अमेरिकी मिडियाहरूले ट्रम्पको संभावित विजयको घोषणा गरे, त्यसका आधारमा मस्कको टेस्लाका सेयरहरू प्रीमार्केट ट्रेडिङमा १२% बढे र यसले मस्कको व्यक्तिगत सम्पत्तिमा $१२ बिलियनले वृद्धि गर्यो। अर्थात, आर्थिकरूपमा समेत मस्कले आफ्नो लगानी उठाउदै नाफामा गए।
मस्कले आफ्नो $११९ मिलियनलाई ट्रम्पको America PAC (सुपर पीएसी) मा लगानी गरेका थिए, जसले मुख्यत: ब्याटल ग्राउन्ड राज्यहरू (तिब्र प्रतिस्पर्धा हुने राज्यहरू) मा ट्रम्पकालागी मत बढाउनको लागि ठूलो सहयोग पुर्याएको मानिएको छ । अर्को तर्फ यस PAC ले लगानीबाट टेस्लाको मुनाफामा उल्लेखनीय प्रभाव पार्न मद्दत पुर्याएको छ।
मस्कका योगदानहरू केवल आर्थिक मात्र होइन, उनी ट्रम्पको रणनीतिक सल्लाहकारको रूपमा पनि कार्य गर्दैछन्। ट्रम्पसँग नियमित संवाद राख्दै मस्कले आफ्नो कम्पनीहरूको भविश्य र व्यवसायिक हितका लागि फाइदा पुर्याउन सघाएका छन्। यसका साथै, ट्रम्पले आफ्नो चुनाव जितेपछि मस्कलाई “सरकारी कार्यक्षमता आयोग”को प्रमुख बनाउन सक्ने संकेत पनि दिएका छन्।
मस्कका लागि, ट्रम्पको चुनावमा सफलता भनेको केवल एक राजनीतिक विजय मात्र होइन, यो उनीसँगको व्यवसायिक सम्बन्ध र भविश्यको लागि एक ठूलो अवसर पनि हो। विशेष गरेर, मस्कका कम्पनीहरू, टेस्ला र स्पेसएक्स, अमेरिकी सरकारको निगरानीको दायरामा छन्, र ट्रम्पले घोषणा गरेका छन् कि यदि उनी राष्ट्रपति बने भने, उनी व्यवसायलाई थप सहज बनाउनका लागि नियमहरूलाई लचिलो बनाउनेछन्।
यस प्रकार, मस्कले ट्रम्पको चुनावी अभियानमा लगानी गर्दै आफ्नो वित्तीय भविष्यको दिशा तय गरेका छन्। मस्कको $११९ मिलियनको जादूले ट्रम्पको ह्वाइट हाउस प्रवेशका लागि मुख्य भूमिका खेल्न सफल भएको छ ।


