spot_img
Saturday, September 28, 2024
73.9 F
Washington DC.
spot_img

किन मनाइन्छ होली ? पढौ पौराणिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फागु पूर्णिमा वा होली वशन्त ऋतुको सुरुवाती चरणमा  मनाइने पर्व हो । हामी खश पर्वतेहरुले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिँदा (पूर्व विद्या) यो पर्व मनाउँछौ भने तराई क्षेत्रमा होलिका दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्या) मनाइने चलन छ । पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर, रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ । नेपालको  तराई  क्षेत्रमा यो चाड मुख्यतः देवर भाउजुबीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको पाइन्छ ।

वैदिक र पौराणिक महत्व

होली मनाउने वैदिक र पौराणिक मत दुवै  चलन  चल्तीमा  छन् । वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो । नेपालको तराई क्षेत्रमा यो  दिन खेतमा पाक्तै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमा अर्पण  गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई  भन्ने गरिन्छ “ओराहा ” ! त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई “होला” भनिन्छ । नयाँ अन्न “होला” अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व होलिकोत्सव हुनपुगेको हो । प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ । श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा राशको वर्णन, भगवान कृष्णको लीलाहरुमा होलीको वर्णन, ‘रंग’ उत्सवको वर्णन, कालिदाशको “कुमारसंभवम्”  तथा “मालविकाग्निमित्रम्” ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ ।

सनातन हिन्दु ग्रन्थमा देवी देउताको मदन, राधा-कृष्णको मदन, राम सीताको मदन, उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु  प्रह्लाद, हिरण्यकश्यपु, आगोमा भस्म  नहुने होलीकाको कथामा प्रह्लादको अर्थ “आनन्द” हुन पुग्छ । रिष र उत्पीड़नको प्रतिक होलीका (बाल्ने दाउरा) बल्दा प्रेम र उल्लासको प्रतिक प्रह्लाद (आनंद) अक्षुण्ण रहन गएको देखाइएको छ । होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समयसंग बदलिँदै गएको छ । प्राचीन कालमा यो पर्व विवाहित महिलाहरुद्वारा परिवारको सुख समृद्धिकोलागि खेलिन्थ्यो र पूर्ण चंद्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए ।  होलीका दहन गर्ने दिन सार्वजनिक स्थल या घरको छेउमा झंडा या डंडा गाडी  होलीका अग्निकोलागि दाउरा जुटाई अन्न डढाईने चलन थियो ।

कंशको  निर्देशनमा राक्षशनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्री कृष्णलाई विषपूर्ण दुग्धपान गराई । बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै उ मरी र उसको शरीर पनि लुप्त भयो । नन्द गाउँ (मथुरा ) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन् पुगेपछि शिवलाई शान्त गर्न शिव र पार्वती बीच बिहे गराइएको थियो । कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ । फागु पूर्णिमा अर्थात मदनोत्सव वायु पुराण, भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो । महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरुलाई उनीहरुका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए । त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ ।

जे सुकै भएता पनि विभिन्न ४ युग – सत्य, त्रेता, द्वापर, कलिमा होली विभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउँदै आइएको पाइन्छ । यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो । फाल्गुण  महिनामा मनाइएकोले  फाल्गुनी हुँदै फागु भनिएको हो । यो पर्व नेपालमा  वशन्त पंचमीमा वशन्त श्रवण गरिसकेपछि शास्त्रीय रुपमा शुरु भएको मानिन्छ ।
 
प्रतिकात्मक अर्थ

अग्निको वासनात्मक आकर्षणलाई प्रतिकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको  देखिन्छ भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुँदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ । यसै दिन भगवान बिष्णुको नर-नारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा फ़ागु मनाइएको उल्लेख पनि पाइन्छ ।

प्रणय, प्रेम र शृंगार

फागुलाई मदनोत्सव भनिन्छ । यहाँ मदनको अर्थ हो प्रणय, प्रेम र शृंगार । हाँस र  हँसाउँ, जसले रंग लाइदिञ्छ उसलाई रंग लाइदेउ, क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो । फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो । नेपालमा फागू पूर्णिमालाई चीर पर्व  पनि भन्ने गरिन्छ ।  फागु पूर्णिमा सद्भावको प्रतिक हो । पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो । फागु सालको परागकण पनि हो । यसै  महिनादेखि साल फुल्न शुरु गर्छ । थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउँदा यसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ । फाल्गुण पूर्वा फाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति । फाल्गुनीको अर्थ हो- जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ । फाल्गुन र लिंग पर्यायवाची पनि हुन् । फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले  उन्मत्त  हुन्छ  फाल्गुने बैंस ।  फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ । फागुने बैंस’ थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ  नेपाली परम्परामा । ‘संस्कृत कोष’ अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ । प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो । अहिले पनि यज्ञादी कर्म सकिएपछि डढेको चरु लाउने चलन छँदैछ ।

फागुको  महत्व र होली मनाउने पद्धति

चाड पर्व मनाउनुको पछाडी केही नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन । यी चाड मनाउनुको पछाडी  चाड मनाउने व्यक्तिले उसकाे सामाजिक जीवनमा लाभ पाओस भन्ने अभिप्राय लुकेको हुन्छ । फेरी चाड पर्व मनाइँदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ । त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा  पाउनु जरुरी हुन्छ । होली संक्रांति सरह कि देवी हुन् । मानव शरीरको षड्विकारहरु माथि विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ । त्यसैले मानव विकार माथि  विजय प्राप्त गर्न होलिका देवी संग प्रार्थना गरिन्छ । अग्नि प्रति कृतज्ञता व्यक्त गर्नु यसको दोश्रो अंग हो । होली अग्निदेवताको उपासनाको एक अंग हो । अग्निदेवताको उपासना गर्दा व्यक्ति विशेषको तेजतत्व बढन पुग्छ र  उसको रजो र तमो गुण घट्दछ । त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो । पृथ्वी, पानी, तेज, वायु र आकाश यी पांच तत्वहरुको सहायताले देव तत्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो  । पृथ्वीमा स्पंदन नहुदा त्रेतायुगमा पंच तत्वमा विष्णुतत्व प्रकट हुन् पुग्यो । यज्ञको ज्वालासंगै यज्ञकुंडमा विष्णुतत्व प्रकट भएको दिन फाल्गुन पूर्णिमाको दिन थियो ।  दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी, सद्प्रवृत्तिका मार्ग देखाउने, ईश्वरीय चैतन्य प्राप्त गर्ने अध्यात्मिक साधनामा अग्रसर हुन, अग्निदेउता प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु । गुईंठा, उखु, सुपारीको पात,  दाउराको सामाग्रीको साथै आवश्यक पूजा सामाग्रीहरु तयार गरी थाली, बेसार, कुमकुम, चंदन, फूल, तुलसी पत्र, अक्षता, अगरबत्ती,  फुलबाती,  आरति, कर्पूर, कर्पूरार्ती, दियो, सलाई कलश, आचमनी, पंचपात्र, ताम्रपात्र, घंटा,  तेल बाती, गुलियो परिकारको नैवेद्य तयारपारी अग्निको पूजा गरिन्छ ।

फागु पूर्णिमानै मदनोत्सव

वशन्त पंचमीदेखि नै  मदनोत्सव मनाइने परम्परा  मान्छेको उत्पत्ति र उसको ऋतुकाल धर्म संग सम्बन्धित तुल्याइएको छ । छः ऋतुमा बाँडिएको मौसमसंग हाम्रो परस्पर सहसम्बन्ध स्थापित छ । जसरी प्रत्येक जीव(जन्तुकालागि  भिन्न(भिन्न ऋतुहरु प्रकृतिले छुट्याइ दिएको छ त्यसरी नै हाम्रा ऋषि मुनिहरुले वशन्त ऋतुलाई मानव मात्रकोलागि छुट्याइएको हो । ऋषि मुनिहरुले  वशन्त पंचमीको दिन देखि हर्षोल्लासका साथ् मदनोत्सब मनाउने शंकेत गरे । महको लागि माहुरीलाई यसैवेला आकृष्ट तुल्याए । त्यसकारण वशन्त ऋतु  मदनोत्सवको रुपमा रती र कामदेवको उपासना पर्व मानिन पुग्यो । त्यसैले हाम्रा पुर्खाहरुले वशन्त पंचमीमा सरस्वती र  कामदेवको  उपासना गर्न सिकाए । ‘‘भ्यालेन्टाइन  डे” उच्छ्रिङ्खलताको प्रतकि हो भने मदनोत्सव पति(पत्नी, सम्बन्धी र नातेदारहरु बीचको मर्यादित आपसीप्रेम, अभिव्यक्ति एवं सुदृढ़ीकरणको शालीन पर्व हो ।

“भ्यालेन्टाइन डे” को विपरीत मदनोत्सव विवाहोत्तर अथवा विवाहपूर्व संबंधकोलागि होइन यो विशुद्घ रूपमा दांपत्य संबंध बलियो बनाउने पर्व भएको कारण नैतिक/सामाजिक दृष्टिले पूर्ण रुपमा स्वीकार्य छ, श्रीमदभागवत महापुराण अनुसार, भगवान श्रीकृष्णले तिनलाई पति रूपमा चाहने गोपिनीहरुसंग यसै दिवशमा वृंदावनमा महारास गरे । श्रीकृष्ण कामदेव भन्दा नि सुंदर भएकाकारण मदन मोहन अर्थात कामदेवलाई पनि मोहित गर्ने अथवा मन्मथ अर्थात सबै प्राणीहरुको  मनलाई मथने र कामदेवको मन मथने भनिएको छ । ऋतूराज वशन्तको आगमन पछि प्रकृतिमा कामदेवले वाण छोड़छन् रे । त्यसैकुरोलाई स्वीकार्दै मदनोत्सवको वर्णन गर्दै कालिदास भन्छन- मदनोत्सव, बसंतोत्सव, कामदेवोत्सव  लोकानुरंजनको लागि हो ।  तन र मन मदनोत्सवको समयमा सर्वाभरण भूषित भएर घुम्दा अषोक वृक्ष फुल्न थाल्छ । वशन्त र कामोत्सवको दुंदुभी बज्न थाल्छ । त्यतिखेर हरेक दिन रात वशन्त युक्त हुन्थ्यो अहिले  होलीका या होलीको दिन आएर टुङ्गियो ।

“काम” हिन्दु  दर्शनका  संपूर्ण पुरूषार्थहरुमा श्रेष्ठ पुरुषार्थ हो । नर कामदेव स्वरुप  र प्रत्येक नारी रति हुन् ।

वशंतोत्सवमा काम र रतिको पूजा विधान समेटिएको हुन्छ । उपनिषद, वेद, पुराणले काम प्रति सहजता देखाई प्रश्ट्याएको छ । त्यसैले कुमार चरित जस्तो ग्रन्थले होली र फागुको उल्लेख ‘मदनोत्सव’ भनेर गरिदिएको छ । वशन्त ऋतु कामको सहचरी हो । यसैले वशन्त ऋतुमै मदनोत्सव मनाउने बिधान बताइएको हो ।

हाम्रो संस्कृतिले कामलाई दैवी स्वरूप मानेर कामदेवको रुपमा स्वीकार्यो । काम विकृत हुन् पुग्दा भगवान शिवले आफ्नो क्रोधाग्निले ‘काम’ लाई भष्म गरे र  ‘अनंग’ अर्थात अंग बिहिन  अवस्थामा जीवित गरे । ‘काम’ को सहचर्य उत्सव मनाउन थालियो । काम जब सम्म मर्यादामा रहन्छ त्यतिखेर सम्म त्यसलाई भगवानले पनि विभूति स्विकार्द्छन् । कामले मर्यादा छोड़दा आत्मघाती हुन् पुग्छ । शिवको तेश्रो नेत्र (विवेक) ले त्यसलाई भस्म गरिदिन्छ । हाम्रा प्रत्येक चाड पर्व हाम्रो सांस्कृतिक चेतनाको प्रतकि हुन । आशा, आकांक्षा, उत्साह अनि उमंग प्रदाता हुन् । यीनले मनोरंजन, उल्लास एवं आनंद दिएर हामीलाई, हाम्रो जीवनलाई सरस बनाउँछन् । त्यसकारण युगौंदेखि चलेका हाम्रा सांस्कृतिक धरोहर, परंपरा, मान्यता एवं सामाजिक मूल्य मान्यताका मूर्त प्रतिविम्ब ठानिएका छन् । यी चाड पर्व हामीलाई हाम्रो संस्कृतिको अंतर सम्बन्ध दर्शन गराउने तत्व हुन् । सत्, चित, आनंद रूपी त्रिगुणात्मक ब्रह्मको एक अंग हुन् । त्यसैले हाम्रो चाडले हामीलाई आनन्द दिन्छन् । मानव जीवनमा मंगल एवं सौभाग्यलाई आमंत्रित गर्दछन् ।

होली वसंत ऋतुको यौवनकाल हो, ग्रीष्म ऋतुको  आगमनको सूचक हो । यो ‘नवान्नवेष्टि यज्ञ’ पनि हो । फाल्गुन शुक्ल पूर्णिमाकै दिन हाम्रा प्राचीन आर्य पुर्खाहरु नयाँ अन्नको बाला बोकी अग्निहोत्र कार्य गर्थे । यसलाई ‘यव ग्रहण यज्ञ’ भनिन्थ्यो । अन्नको बालोलाई संस्कृतमा ‘होलक’ भनिन्छ । वसंत ऋतुमा सूर्य दक्षिणायणबाट उत्तरायण हुन् पुग्छ । फल-फूलहरुमा मुजुरा लाग्दा मौसममा ‘अमृत प्राण’ भरिन्छ । त्यसैले होली पर्व ‘मन्वन्तरको आरम्भ’ हुन् पुगेको हो । रंगले भरिएको चाडले जीवनलाई रंगीन बनाउँछ । आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु यस चाडमा प्रकट हुने अनुराग हो । 

स्रोत /साभार : नेपाली पत्रपत्रिका

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img