Monday, May 19, 2025
61 F
Washington DC.

जापानमा बढ्यो साइबर अपराध 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल जस्तो सूचना प्रविधिको विकास प्रारम्भिक अवस्थामै रहेका गरिब तथा साना देशहरूमा साइबर अपराधको समस्या भयावह रुपमा बढेको छ नै; अति विकसित र प्राविधिक क्षमता उच्च रहेको जापानमासमेत सन् २०२२ मा साइबर अपराधको संख्यामा आश्चर्यजनक रुपमा बढेको पाइएको छ ।

जापान प्रहरीको अनुसार – सो वर्ष साइबर अपराधको संख्या १६० बाट ह्वात्तै बढेर १२ हजार ३६९ पुगेको छ । यसमा इनक्रिप्टेड मालवेयरबाट आक्रमण गर्ने मामिला अत्याधिक छ ।

प्रहरीले अनुसन्धान थालेका कूल १२ हजार ३६९ साइबर क्राइममध्ये तीन हजार ३०४ ठगी, एक हजार ५६० बाल वेश्यावृत्ति र अश्लिलता कानूनको उल्लङ्घन र ५२२ वटा अनधिकृत कम्प्युटर पहुँच सम्बन्धी कानुनको उल्लङ्घनका थिए ।   हरेक दिन इन्टरनेटमा शंकास्पद रुपमा प्रवेश गर्न खोज्ने प्रवृत्ति बढेको र हरेक इन्टरनेट प्रोटोकलमा सात हजार ७०७ दशमलब ९ को दरले साइबर आक्रमण भइरहेको अभिलेख जापानिज प्रहरीले जानकारी दिएको छ । 

 कोभिड– १९ को कारणले घरबाटै काम गर्न थालिएपछि कम्पनीका तथ्याङ्कहरू ह्याक गर्न प्रयास गर्ने र त्यसबापत फाइदा उठाउन धम्की र लेनदेनको माग गर्ने अपराधिक प्रवृत्ति अकासिएको छ । यसरी तथ्यांक (डाटा) मा अनधिकृत प्रवेश गरी बार्गेनिङ गर्ने घटनामा ५७ दशमलब ५ प्रतिशतले वृद्धि भई २३० पुगेको छ । यी अपराधजन्य घटनाहरूको तथ्यांक जापानका २४ वटै प्रदेशहरूबाट संकलन गरिएको प्रहरीले जानकारी दिएको जापान टाइम्सले उल्लेख गरेको छ ।

ठूला व्यापारिक कम्पनीहरू मात्र तथ्यांकमा अनधिकृत प्रवेश गर्ने इनक्रिप्टेड मालवेयरको आक्रमणमा परेका होइनन् की साना तथा मध्यम व्यवसायिक कम्पनीहरू पनि यस्ता साइबर आक्रमणमा परेका छन् । 

गत वर्ष अप्रिलमा जापान प्रहरीले यस्तो जटिल साइबर अपराधमा अनुसन्धान गर्नको लागि एक विशेष अनुसन्धान ब्यूरो गठन गरेको थियो । सो विशेष ब्युरो गठनका लागि कानुनी आधार सिर्जना गर्न जापानी संसद्को माथिल्लो सदनले गत वर्ष मार्च ३० मा प्रहरी कानुनलाई संशोधन गरिदिएको थियो । सो लगत्तै स्थापना भएको विशेष प्रहरी ब्युरोमा प्रहरी अधिकारीहरू र प्राविधिक अधिकारीहरूसमेत दुई सय जनालाई खटाइएको थियो भनी जापानको दैनिक पत्रिका आसाइ सिम्बोनले उल्लेख गरेको छ । 

सो साइबर अपराध अनुसन्धान गर्ने विशेष प्रहरी ब्युरोले देशैभरी अनुसन्धान गर्ने अधिकार पाएको छ । सो ब्युरोको एक वर्षको अनुसन्धान पछि साइबर अपराधमा अचाक्ली वृद्धि भएको र सूक्ष्मरूपमा इनक्रिप्टेड मालवेयरहरु मार्फत कम्प्युटर र इन्टरनेट प्रणालीका डाटाहरूमा आक्रमण गर्ने शंकास्पद गतिविधि नयाँ चुनौतीको रुपमा देखिएको पत्ता लागेको हो ।
ब्युरोले गरेको अनुसन्धानमा यस्तो साइबर आक्रमणमा पर्ने कम्पनीहरूमा ठूला उद्योगहरू ७५, सेवा क्षेत्रका ४९ र चिकित्सा क्षेत्रका २० उद्योग व्यवसाय परेको तथ्यांक छ ।

साइबर अपराधमा परेकामध्ये ११९ कम्पनीहरूले साइबर आक्रमणकारीले माग गरेको रकम दिएर बच्ने प्रयास गरेका थिए । धेरैजसो साइबर आक्रमणपछि आफ्नो सेवा पूर्ववत् सुचारु गर्न आक्रमणकारीहरूको धम्की र मागलाई मान्नु परेको विवशता पनि पीडितहरूले उल्लेख गरेका छन् ।

आधाजसो साइबर आक्रमणका पीडितले पूर्ववत् कम्प्युटर प्रणाली सुचारु गर्न एक महिना भन्दा बढी लागेको र दश मिलियन देखि ५० मिलियन यानसम्म खर्च गर्नु परेको पीडा प्रहरी अनुसन्धानकर्ताहरूलाई बताएको उल्लेख छ ।  

सन् २०१८ देखि जटिल किसिमका साइबर आक्रमणका घटनाहरू तेब्बर रुपमा वृद्धि भैरहेको छ । कोभिड– १९ का कारण घरबाट काम गर्ने चलन बढ्दै गएपछि तथ्यांक असुरक्षाको अवस्थामा यस्तो बढोत्तरी भएको पनि प्रहरीले जनाएको छ ।
नेपालमा साइबर अपराधलाई परिभाषित गर्ने र प्रभावकारी अनुसन्धान गर्न कानुनको अभाव त छँदैछ, पर्याप्त दक्ष जनशक्ति र संस्थाको समेत अभाव रहेको कुरा बेलाबखत उठिरहन्छ । तर, यो अपराधको जटिलतालाई सामना गर्न खास तयारी भैरहेको छैन । विद्युतीय कारोबार ऐन, २०६३ को असान्दर्भिक साहारा लिएर नेपाल प्रहरीले यस सम्बन्धी गुनासो र उजुरीको सम्बोधन गर्ने प्रयास गरिरहेको छ । यसका लागि दक्षिण कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीको क्षमता सुधार कार्यक्रम सञ्चालित पनि छ ।    

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img