(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवसकाे सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले लेख्नु भएको लेखकाे पहिलाे भाग हिजाे बिहिबार प्रकाशन गरिएको छ । यो लेखको दोस्रो भाग हो । )
भारतीय स्वाधीनताले भीषण रक्तपात देख्न पर्यो । एक त राष्ट विभाजित भयो । दोस्रो, त्यस विभाजनको क्रममा लाखौं निरपराध भारतीय जनता निर्ममतापूर्वक मारिए। उनीहरू बेखबर भए । उनीहरू शरणार्थी भए । लोहियाले आजीवन आफूलाई प्रश्न गरे । त्यस किसिमको हिंसाको निमित्त को उत्तरदायी थियो ? विभाजन कसरी सम्भव भयो ? यस विषयमा लोहियाले एउटा अत्यन्त मार्मिक पुस्तक लेखेका छन् ‘भारत विभाजनका अपराधी’ । बृटिश साम्राज्यवाद विभाजनका निमित्त मुख्यतः जिम्मेवार छ भन्ने लोहियालाई थाहा छ । तर, त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरो छैन ।
बृटिश साम्राज्यवाद त यसै पनि भारतीय जनताको दुश्मन थियो नै तत्कालीन राष्ट्रिय नेतृत्वले के गर्यो ? यो मूल प्रश्न हो । त्यस बेला तत्काल लोहियाले पनि प्रतिरोध गर्न सकेनन् । लोहिया आफ्नो दोष स्वीकार गर्छन् । गान्धी विभाजनको पक्षमा थिएनन् । तर, गान्धीले पनि दृढतापूर्वक विभाजनको विरोध गरेनन् । गान्धी पनि विभाजनका निमित्त दोषी छन् । तर, विभाजका मुख्य अपराधी भने नेहरू र पटेल हुन् भन्ने लोहियाको धारणा छ । यस पुस्तकमा लोहियाले नेहरूको अति तीव्र निन्दा गरेका छन् । यो पुस्तिका प्रकाशित हुँदाताका लोहिया र नेहरूको सम्बन्ध एकदमै कटुतापूर्ण भइसकेको थियो । नेहरूको प्रश्नमा आफ्ना अनेकौं साथीहरूसित समेत लोहिया लडिसकेका थिए । १९४६-४७ मा सत्ताभिलाषाले नेहरू र पटेललाई बिलकुलै अन्धा एवं बुद्धिहीन बनायो भन्ने लोहियाको आरोप छ ।
महात्मा गान्धीको देहावसानका लगत्तै पछि त्यतिन्जेल कांग्रेसकै एउटा अंगका रूपमा क्रियाशील रहेको कांग्रेस सोशलिष्ट पार्टीले भारतीय राष्ट्रिय कांग्रेस छाड्नु पर्ने खण्ड आयो । यथार्थमा कांग्रेस सोशलिष्ट पार्टीलाई राष्ट्रिय कांग्रेस छाड्न मजबुर गरिएको थियो । स्तन्त्रतापछि नै भारतीय राष्ट्रिय कांग्रेसले कांग्रेस सोशलिष्ट पार्टीलाई पूर्णत: कांग्रेसमा विलीन गर्ने दबाव दिन थालेको थियो । राष्ट्रिय कांग्रेसले अब यस संस्थाभित्र रही स्वतन्त्र समूह र त्यस्तो समूहगत अनुशासन राख्न नपाइने प्रस्ताव पारित गरेको थियो । त्यतिन्जेल कांग्रेस सोशलिष्टहरू काग्रेसमा रहेर पनि आफ्नो स्वायत्त अनुशासन पालन गरेर बसेका थिए । कांग्रेस सोशलिष्ट पार्टीका सदस्यहरू एकसाथ दुई संगठनका सदस्य थिए । राष्ट्रिय कांग्रेसले अब यस किसिमको द्वैध सदस्यताका उपर प्रतिबन्ध लगायो । कांग्रेस सोशलिष्ट पर्टीका सामु एउटा अप्ठ्यारो निर्णको घडी उपस्थित भयो ।
लामो छलफलपछि सोशलिष्टहरूले आफ्नो मातृसंस्था अर्थात् राष्ट्रिय कांग्रेससित पूर्णतः सम्बन्ध-विच्छेद गर्ने निर्णय गरे । व्यक्तिगत रूपले लोहिया कांग्रेस पर्टीसित हतारमा सम्बन्ध तोड्ने पक्षमा थिएनन् । तर, विकल्प पनि थिएन । सम्बन्धका निमित्त उभयपक्षीय सद्भाव आवश्यक थियो । तर, राष्ट्रिय कांग्रेसको वृद्ध नेतृत्व सोशलिष्टलाई बर्दाश्त गर्ने पक्षमा थिएन । नेहरू र पटेल दुवै सोशलिष्टहरूप्रति अति असहिष्णु भएर गएका थिए। नेहरू र पटेलको नजर आगामी चुनवमा केन्द्रित थियो । नेहरू र पटेलको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेस बडो तेजीले एउटा चुनावी संस्थामा परिणत भइरहेको थियो । व्यक्तिगत रूपमा गान्धी राष्ट्रिय कांग्रेसलाई चुनावी संस्थाको रूप दिने कुराका विरोधी थिए ।
राष्ट्रिय कांग्रेसको स्थापनाको लक्ष्य भारतीय स्वाधीनता थियो । सो लक्ष प्राप्त भइसकेको थियो। स्वाधीनता संग्रामका दौरानमा भारतीय राष्ट्रिय कांग्रेसले भारतीय जनताको असीम श्रद्धा र प्रेम प्राप्त गर्यो । राष्ट्रिय कांग्रेसको नाम स्वयं आफूमा गौरवको कुरो थियो । तर, यो गौरव सम्पूर्ण राष्ट्रको गौरव थियो। कुनै खास सत्ताकामी समूहले यस गौरवको एकाधिकारी हुनु हुदैनथ्यो । तिलक र अरविन्द, लाजपत राय र चित्तरञ्जन दासको बलिदानले कांग्रेसलाई कांग्रेस बनाएको थियो । फेरि यस कांग्रेसको कुनै स्पष्ट आर्थिक सामाजिक कार्यक्रम पनि थिएन । उसको ‘एक मात्र लक्ष्य भारतीय स्वाधीनता थियो । यस्तो कांग्रेसलाई सत्ता र शासनको माध्यम बनाउनु हुँदैन एवं यस्तो कांग्रेसका नाममा भोट मागिनु हुँदैन भन्ने गान्धीको निश्चित विचार थियो । तदनुरूप गान्धी भारतीय स्वाधीनतापछि तत्काल राष्ट्रिय कांग्रेसलाई भंग गर्ने पक्षमा थिए ।
चुनाव लड्नका निमित्त नेहरू र पटेलले बेग्लै पार्टीको गठन गरून् भन्ने गान्धीको सल्लाह थियो । तर, यहाँ पनि गान्धीको सल्लाह सुनिएन । उल्टो त्यस राष्ट्रिय कांग्रेसमा स्वतन्त्र र साहसी विचार राख्ने सबै तत्त्वलाई पार्टीलाई नै छाड्न मजबुर गरियो । कांग्रेस सोशलिष्ट पार्टीका उपर लगाइएको प्रतिबन्ध यसै ध्येयबाट प्रेरित थियो । आखिर कांग्रेस सोशलिष्टका नेता र कार्यकर्ताले नासिक सम्मेलनमा (१९४८) आफू कांग्रेसबाट अलग भएको घोषणा गरे ।
मार्च १९४८ मा अर्थात् महात्मा गान्धीको देहान्त भएको १०० दिन नपुग्दैमा सोशलिष्टहरूले कांग्रेस छाडे । कांग्रेस सोशलिष्ट पार्टीका सबैले पूर्णरूपमा कांग्रेस छाडे भन्न सकिन्न । धेरैले छाडेनन् । धेरै सोशलिष्टहरू कांग्रेसमा नै बसे। कांग्रेस स्वयं त्यस समय वामपन्थी तथा दक्षिणपन्थीमा विभाजित थियो। जवाहरलाल नेहरू वामपन्थीका नेता मानिन्थे । सरदार पटेल दक्षिणपन्थीका सर्वमान्य नेता थिए। सामान्यतः कांग्रेसको संगठनमा सरदार पटेल प्रभावशाली थिए । तर, आम जनताका माझ जवाहरलाल नेहरू लोकप्रिय थिए । कांग्रेसभित्रका समाजवादीहरूका अनुसार नयाँ पार्टीको अर्थात् सोशलिष्ट पार्टीको गठनको कुनै औचित्य थिएन । कांग्रेसको समाजवादीकरण सम्भव थियो । जवाहरलाल नेहरूको नेतृत्व शक्तिशाली भएको खण्डमा राष्ट्रिय कांग्रेस स्वभावतः समाजवादका तर्फ उन्मखु हुने छ भन्ने उनीहरूको तर्क थियो। तदनुरूप उनीहरू कांग्रेसमा नै बसे । नेहरूको पटेलविरोधी संघर्ष उनीहरूको प्रमुख कार्यक्रम भयो । उनीहरूको तर्क र कार्यक्रममा स्पष्ट तारतम्य थियो ।
तर, कांग्रेसबाट बाहिर निस्केका समाजवादीहरू पनि नेहरूमोहबाट मुक्त भएनन् । भारतीय समाजवादी आन्दोलनको सर्वाधिक ठूलो विडम्बना के रह्यो भन्ने काग्रेसको भुतले कहिले उनीहरूलाई छाडेन । नेहरू र पटेलको द्वन्द्वको अद्भुत तर्कबाट पार्टी मुक्त भएन । मार्च १९४८ मा भारतीय सोशलिष्टहरूले नयाँ पार्टी अवश्य बनाए। तर, उनीहरूले नयाँ मन र नयाँ संकल्पको प्रदर्शन गर्न सकेनन् । नवगठित सोशलिलष्ट पार्टीसित अनेकौं बहुमूल्य थाती थियो । आचार्य नरेन्द्रदेव जस्तो ऋषिवत तथा सर्वादरणीय व्यक्तित्व थियो । जयप्रकाश नारयाण शानदार जननेताका रूपमा भारतीय राजनीतिमा उदित भएका थिए । अशोक मेहताको संगठन कौशल बेजोड थियो ।
लोहिया असंदिग्ध प्रतिभा तथा मौलिकताका स्वामी थिए । अरू पनि अनेकौं प्रसिद्ध र प्रतिभाशाली व्यक्तित्व थिए । अच्युत पटवर्धन थिए, युसुफ मेहर अली थिए, रामानन्द मिश्र थिए । एस एम जोशी, एन जी गोरे आदि अनेकौं नेता थिए । महिला नेतृको पनि अभाव थिएन । अरुण आसफ अली, कमलादेवी चट्टोपाध्याय र पूर्णिमा बनर्जी ४२ विद्रोहका प्रसिद्ध सेनानी थिए । तर, मार्च १९४८ मा नै थाहा भयो, पार्टीसित नयाँ मन र नयाँ सकल्प थिएन । यो एउटा दुर्भाग्यपूर्ण स्थिति थियो । डा. लोहियाले यस स्थितिलाई चिन्हे | त्यति मात्र होइन, यस स्थितिसित संघर्ष गर्न आफ्ना सबै साथीहरूलाई आह्वान गरे । मार्च १९४८ मा एकातिर सोशलिष्ट पार्टीको न्वारान भयो नवसंस्कार भयो । अर्कोतिर सोशलिष्ट पार्टी पूरा जोश र आवेगका साथ नयाँ बहस र विवादमा प्रविष्ट भयो । ती समस्त बहस र विवादको केन्द्रमा डा. लोहिया थिए । अनेकौ प्रश्न थिए । सताब्दीयौंको दासतापछि भारत स्वाधीन भएको थियो । स्वाधीन भारतका समस्याहरू अनेक थिए। ती समस्या अत्यन्त विकराल थिए । प्रत्येक समस्याले एकसाथ अनेकौं प्रश्नलाई जन्म दिएका थिए। विभिन्न राजनैतीक दलहरूको औचित्य र भविष्य ती प्रश्न र तिनको उत्तरसित सम्बन्धित थियो । प्रश्न नेहरू वा पटेलको व्यक्तित्वको थिएन ।
प्रश्न थियो, के स्वाधीन भारतको नेतृत्ववर्ग मुलुकको ऐतिहासिक भवितव्यसित परिचित थियो ? के भारतीय राष्ट्रिय कांग्रेससित भारतको नवीकरणको संकल्प र कार्यक्रम थियो ? मार्ने राष्ट्रिय कांग्रेससित थिएन । के भारतीय सोशलिष्ट पार्टीसित भारतको नवीकरणका निमित्त चाहिने दृष्टि, विचाधारा र संकल्प थियो ? स्वाधीनातापछि आचार्य कृपलानीको नेतृत्वमा एउटा नयाँ पार्टीको गठन भएको थियो- कृषक मजदुर प्रजापार्टी । पछि यो पार्टी र सोशलिष्ट पार्टीको एकीकरण भयो । एकीकृत नयाँ पार्टीको नाम प्रजा सोशलिष्ट पार्टी’ राखियो ।
प्रजा सोशलिष्ट पार्टीको सम्मेलन र मञ्चमा डा लोहियाको लक्ष्य र सिद्धान्तको कुरा बारम्बार उठ्यो। मार्च १९४८ को नासिक सम्मलेनदेखि १९५६/५७ को फूटसम्म डा. लोहियाले सिद्धान्त र विचारधाराको प्रश्नलाई विशेष महत्व दिए । ती वर्ष लोहियाका निमित्त अत्यन्त सृजनात्मक वर्ष थिए । ती वर्षहरूमा लोहियाको विचारधाराले अन्तिम रूप लियो । लोहिया सिद्धान्त र कार्यक्रमको प्रश्नमा कसैसित कुनै सम्झौता गर्न चाहँदैनथे । ती वर्षहरूमा प्रजा सोशलिष्ट पार्टीमा नेहरू र कांग्रेसको कुरा बारम्बार उठे । अधिकांश सोशलिष्ट नेताहरू नेहरूसित अतिशय सम्मोहित थिए । आफैँले बेग्लै सोशलिष्ट पार्टी गठन गरिसकेपछि फेरि नेहरू-मोहमा अलमलिनु राजनीतिक आत्मघात हो भन्ने लोहियाको मान्यता थियो । फेरि लोहियालाई राष्ट्रिय जीवनमा पनि नेहरूबाट विशेष आशा थिएन ।
तिनताक नै भारतमा विनोवा भावेको नेतृत्वमा तथाकथित भूदान आन्दोलनको होहल्ला सुरु भयो । कतिपय समाजवादीहरू भूदान आन्दोलनमा लागे । विनोवा भावेको आन्दोलन सर्वथा भावुक तथा कल्पनावादी प्रयास थियो । तर, राजनितिक रूपमा विनोवा भावे नेहरूका समर्थक थिए। सरकारी तन्त्रले विनोवा भावेलाई प्रशस्त प्रचार तथा प्रोत्साहन दियो । तर, विनोवा भावेमा कुनै तत्व वा दम थिएन । विनोवा भावेको एउटै भूमिका रह्यो। उनले समाजवादी आन्दोलनमा अनावश्यक भ्रान्तिको वीजारोपण गरे । महात्मा गान्धीका अनेकौ इमानदार शिष्य विनोवाका अनुयायी भए । अन्ततः भूदान आन्दोलन त्यसै सेलाएर गयो । लोहियाका विचारमा नेहरू र विनोवाको सम्मोहन आत्महीनताको परिचायक थियो ।
लोहिया समाजवादी दलको स्वतन्त्र शक्तिको जगेर्नामा विश्वास राख्थे । लोहियालाई कुनै बाहिरी सहारा वा शर्टकटमा विश्वास थिएन । लोभ गरेर वा र्याल चुहाएर सत्ता पाइन्छ भन्ने लोहियालाई थिएन । फेरि लोहियाको विचारमा सत्ता र पदमा ठूलो अन्तर थियो । कतिपय वरिष्ट समाजवादी पनि पछि पदको मोहमा परे । त्यस्ता सत्ताकामी र पदलोलुप समाजवादीहरू आखिर गएर कांग्रेसमा मिसिए । उनीहरू संसद् सदस्य, मन्त्री, राज्यपाल भए । कतिपय वरिष्ट समाजवादीहरू भूदानी सर्वोदयी भए। भूदानी र सर्वोदयीहरू पनि मुक्त रूपमा राज्याश्रय प्राप्त गर्थे । पछि डा. लोहियाले भूदानी र सर्वोदयीलाई मठी गान्धीवादीको संज्ञा दिएका थिए । लोहियाका शब्दमा नेहरू सरकारी गान्धीवादी थिए । सरकारी गान्धीवादी र मठी गान्धीवादीमा खुब मेल थियो । सरकारी गान्धीवादी प्राचीन जमानामा क्षेत्रिय अर्थात् राजपुत भएका थिए । मठी गान्धीवादी ब्राह्मण अर्थात् ती राजपुतको पुरेत भएका थिए । दुवै परम्पराको रक्षार्थ तत्पर रहन्थे ।
यसै अलमल र विवादमा १९५२ को आम चुनाव आइपुग्यो । त्यस आम चुनावमा सोशलिष्ट पार्टी नराम्रोसँग पराजित भयो । सोशलिष्ट पार्टीमा भने हतासाको तीव्रतर दौर प्रारम्भ भयो । जयप्रकाश नारायणको क्रान्तिकारी मार्क्सवाद विसर्जित भयो । जयप्रकाश नारायणमा ठूलो परिवर्तन आयो । उनी सम्झौतावाद तथा काल्पनिक भूदानका प्रबल प्रवक्ता भए। जयप्रकाश नारायण त्यतिन्जेलसम्म समाजवादी आन्दोलनका सर्वमान्य जननेता थिए । एकाएक उनले आफूले समाजवादी पार्टी छाडेको घोषणा गरे । उनी विनोवा भावेका अनुयायी भए। जयप्रकाश नारयाणले भौतिकवादका विरोधमा लेख्न थालें । भाषण दिन थाले । जयप्रकाश नारायण अनशन र आत्मशुदि गर्न लागे । त्यतिले नपुगेर उनी दलविहीन ग्राम स्वराज्यको कुरा गर्न थाले । जयप्रकाशप्रति व्यक्तिगत निष्ठा राख्ने समाजवादी कार्यकर्ताहरू झन् हतास भए । त्यतिन्जेल मार्क्सवादमा दीक्षित भइआएका पार्टी- कार्यकर्ताका निमित्त यो सर्वथा कल्पनातीत परिस्थिति थियो । प्रश्न जयप्रकाशको पलायनको मात्र थिएन । ठीक त्यही बेला अर्थात जयप्रकाशको पलायनपछि जयप्रकाशका परम विश्वासपात्र अशोक मेहता भन्न थाले- समाजवादीले नेहरूको विकास आयोजनालाई सहायता दिनुपर्छ ।
लोहियालाई यस किसिमको तर्क. सहय थिएन । लोहियाका विचारमा प्रजा समाजवादीलाई दल-बज्र संकल्प र कठोर परिश्रमको खाँचो थियो । लोहियाको वाणी यसै पनि बडो तिखो र धारिलो थियो । लोहियाले भने- ‘कुनै नेहरू वा विनोवा भावेको पुच्छर पक्रेर समाजवादी वैतरणी तर्नु छैन । समाजवादी पार्टीले आफ्नी आत्मशक्ति जाग्रित गर्ने खाँचो छ ।’ प्रजा समाजवादी पार्टीका बैठक र सभाहरूमा लोहियाले विनोवा र नेहरूका अन्तरविरोधका तर्फ संकेत गर्थे । जयप्रकाश र अशोक मेहता भने नेहरू र विनोवा भावेबाट अभिभूत थिए । स्वभावतः लोहिया र उनीहरूमा वैमनश्य बड्दै गयो । तिनताक आचार्य नरेन्द्रदेव प्रजा सोशलिष्ट पार्टीका अध्यक्ष थिए । डा. लोहिया पार्टीका महामन्त्री थिए । आचार्य नरेन्द्रदेवको चरित्र र सिद्धान्त- निष्ठा असंदिग्ध थियो । तर, अक्सर आचार्य नरेन्द्रदेव अस्वस्थ थिए। ५३/५४ तिर एकाएक प्रजा सोशलिष्ट पार्टीको आन्तरिक कलहले तीव्र रूप लियो । तिनताका प्रजा सोशलिष्ट पार्टीले केरलमा सरकार बनाएको थियो । कुनै पनि प्रजातान्त्रिक सरकारले निःशस्त्र भीडका उपर गोली चलाउन सर्वथा निन्दनीय हो भनी पार्टीले बारम्बार प्रस्ताव पारित गरेको थियो । तर, अब प्रजा सोशलिष्ट पार्टीको सरकारले खुद गोली चलाएको थियो । केरलका तत्कालीन मुख्यमन्त्री थाणु • पिल्लई गोलिकाण्डका निमित्त नैतिक रूपले जिम्मेवार थिए । गोलिकाण्ड हुँदा डा लोहिया जेलमा थिए । महामन्त्रीका हैसियतले डा. लोहियाले तत्काल थाणु पिल्लईको राजीनामाको माग गरे । तर, थाणु पिल्लईले राजीनामा गरेनन् ।
पार्टीको राष्ट्रिय समितिमा धाणु पिल्लईको प्रश्नको ठूलो कलह मच्चियो । नेहरू र विनोवाको प्रश्न पृष्ठभूमिमा छँदै थियो । केरलको गोलीकाण्डले आगोमा घीउको काम गर्यो । लोहियाका निमित्त गोलीकाण्डको प्रश्न सिद्धान्तको प्रश्न थियो । तर, उनका वरिष्ट साथीहरूले यस प्रश्नलाई आफ्नो शक्ति र प्रतिष्ठाको प्रश्न बनाए। जयप्रकाश नारायण र अशोक मेहताले राष्ट्रिय समितिमा लोहियाको सिद्धान्तहीन विरोध गरे । लोहिया राष्ट्रिय समितिमा अल्पमतमा परे । अशोक मेहतालाई त्यतिले मात्र पुगेन । बम्बईका तरुण समाजवादी मधु लिमये लोहियाका समर्थक थिए । अशोक मेहताको इशाराम मधु लिमये पार्टीको बम्बई शाखाद्वारा निलम्बित गरिए । पार्टीभित्रका लोहियाका अनुयायीलाई अनेकौं अत्तो थापी निलम्बन र निष्काशन गर्न थालियो । प्रजा सोशलिष्ट पार्टीमा बस्तु लोहियाका निमित्त दिनानुदिन असह्य हुँदै गएको थियो । एक दिन यस्तो पनि आयो, खुद डा लोहियाका उपर प्रजा सोशलिष्ट पार्टीले अनुशासनको कारबाही गर्नेभयो । अव डा लोहियासित कुनै अर्को बाटो रहेन । आखिर डा. लोहियाले आफ्नो नवीन पार्टीको स्थापना गर्नु पर्यो । यस पार्टीको नाम ‘भारतीय सोशलिष्ट पार्टी’ राखियो ।
जनवरी १९५६ मा डा. लोहियाको नेतृत्वमा हैदरावादमा नवीन समाजवादी दलको स्थापना भयो । असीम आशा, अनन्त विश्वास तथा वज्र-संकल्पका साथ डा. लोहियाले नवीन पार्टीको जग निर्माण गरे । संख्यात्मक दृष्टिले लोहियाका अनुयायी अत्यन्त थोरै थिए । तर, डा लोहियाको साहसको किनारा थिएन । अझ त्योभन्दा पनि ठूलो कुरो के थियो भने डा. लोहियाको आदर्शवादिता सर्वथा अपराजेय थियो । डा लोहिया भ्रममा कहिले बाँचेनन् । उनी कोसित संघर्षरत छन् भन्ने कुरो डा लोहियालाई थाहा थियो । कोही खास व्यक्तविशेष उनको शत्रु थिएन । ती व्यक्तिहरू त मात्र निमित्त थिए । भारतीय इतिहासमा बद्धमूल एवं आत्मघाती जडता उनका वास्तविक शत्रु थिए । संक्षेपमा उनका शत्रु अति शक्तिशाली थिए । क्रान्तिकारी समाजवादका सारा शत्रु उनका शत्रु थिए ।
दश या बीस वार्षमा ती शत्रुहरूको पराभव सम्भव थिएन । एउटा सम्पूर्ण जीवन पनि यस संघर्षका निमित्त पर्याप्त थिएन । समाजवादी संघर्षले आफ्नो गन्तव्य प्राप्त गर्न कैयौं शताब्दी लाग्नेछ । हजारौ वर्षको जडता २/४ वर्षमा समाप्तगर्ने कुरो गर्नु हवाई तथा निराधार कुरो हो । हैदरावादको सोशलिष्ट पार्टीको स्थापना सम्मेलनमा डा. लोहियाले आफ्ना राजनितिक मान्यता स्पष्ट राखे । हैदरावादको सम्मेलनमा लोहियाको विचारधारालाई हार्दिक समर्थन दिइयो । भारतीय समाजवादी आन्दोलनको इतिहासमा हैदरावाद सम्मेलन एउटा महत्वपूर्ण सीमा-चिह्नका रूपमा चिरस्मरणीय छ । हैदरावाद सम्मेलनको अध्यक्षीय भाषण तथा सिद्धान्त-वक्तव्य लोहिया विचारका अति महत्वपूर्ण दस्तावेज हुन् । डा. लोहियाले यी दुई दस्तावेजमा संक्षेपमा आफ्नो सम्पूर्ण विचारधारा प्रस्तुत गर्ने चेष्टा गर्नुभएको छ । ती दस्तावेज सर्वथा मननीय छन् ।
हैदरावादमा हुन त सोशलिस्ट पार्टीको गठन भयो । तर, पार्टीको सञ्चालन तथा विस्तार कदापि सजिलो थिएन । एक त साथी अत्यन्त थोरै थिए। फेरि जो थिए, ती पनि मध्यम वर्ग तथा निम्नमध्यम वर्गीय पृष्ठभूमिबाट आएका थिए । उही पुरानै प्रशिक्षण थियो । कांग्रेसी आदत छुटेको थिएन । नयाँ सोशलिस्ट पार्टीका सारा कार्यकर्ता पुरानै थिए । सोशलिस्ट पार्टीको व्यक्तिवादी राजनीतिको प्रभाव पूर्णतः मेटिएको थिएन । तत्काल मेटिने कुरो पनि थिएन । डा. लोहियालाई यो सबै थाहा थियो । लोहियालाई आफ्नो पार्टीको कमजोरी थाहा थियो । लोहियालाई आफ्नो कमजोरी पनि थाहा थियो। तर, उनले हिम्मत हारेनन् । त्यो युग भारतवर्षका लागि नेहरू-युग थियो। नेहरूको प्रभामण्डलका सामु जयप्रकाश नारायण र अशोक मेहता नतमस्तक थिए । अशोक मेहता आखिर नेहरूका कारिन्दा हुन पुगे ।
नेहरूका आखिरी दिनमा अशोक मेहनता भारतको योजना आयोगका उपाध्यक्ष भए । अशोक मेहनताले मन्त्री सरहको दर्जा पाएपछि इन्दिरा गान्धीको पालामा अशोक मेहता योजना मन्त्री भए । जयप्रकाश नारायणको बैग्ले कथा छ । तर, सोशलिष्ट पाटीको गठनताका जयप्रकाश, अशोक मेहता आदि तत्कालीन समाजवादी नेता लोहियाका कट्टर विरोधी थिए। प्रजा सोशलिष्ट पार्टीका तत्कालीन समस्त शीर्षस्थ नेताले लोहियाका विरुद्ध चरित्र हत्याको अत्यन्त घृणित अभियान चलाए । लोहियाका सैद्धान्तिक तथा राजनैतिक आग्रह के थिए, त्यो कुरासित कसैलाई वास्ता थिएन । लोहियाको विरोध गर्नु नै उनीहरूको एक मात्र ध्येय थियो । जवाहरलाल नेहरूको विपुल राजनैतिक संरक्षणको पृष्ठभूमिमा लोहियाका निन्दकहरू तिनताक खुब उफ्रे । तत्कालीन भारतीय अखबारहरूमा प्रधानमन्त्री नेहरूको पूर्ण दबाव थियो । अक्सर लोहियाका भाषण र वक्तव्यहरू राष्ट्रिय अखबारमा छापिन्थे । छापिए पनि लोहियाका विचार जानीजानी विकृत गरिन्थे । तिनताक लोहियाका बारे अनेकानेक दुस्प्रयास गरिए । नेहरू सरकार लोहियाको कट्टर विरोधी थियो। सम्पूर्ण पुँजीवादी प्रेस लोहियाको कट्टर विरोधी थियो ।
साम्यवादी प्रेस पनि तत्कालीन भारतमा प्रशस्त प्रभावशाली थियो । साम्यवादी पनि लोहियाका कट्टर विरोधी थिए । नेहरू, प्रजा सोशलिष्ट र कम्युनिष्टको गठबन्धनले लोहियालाई आजीवन पिछा गर्यो । तिनताका लोहियालाई सनकी र पागल भनियो । लोहियालाई मनोरोगी पनि भनियो । कतिले लोहियालाई हिटलरको शिष्यसम्म भने । ती वर्ष लोहियाका निमित्त चरम एकाकीपनका वर्ष थिए । सामान्य मुनुष्यका निमित्त ती वर्ष घोर निराशाका वर्ष थिए । तर, निराशाले लोहियालाई कहिल्यै पराभूत गर्न सकेन । बरु डा. लोहिया अक्सर निराशाका कर्तव्यको कुरा गर्थे । उनको एउटा प्रसिद्ध भाषण यसै शीर्षकअन्तर्गत अर्थात् ‘निराशाको कर्तव्य’ का नामले छापिएको छ ।
उनी एउटा संसदीय उप-चुनावमा विजयी भए । भारतीय संसद्मा १९६३ तिर लोहियाको संघर्षको प्रतिफल देखिन थाल्यो । त्यस वर्ष लोहियाको प्रवेश र उपस्थिति एउटा अविस्मरणीय घटना थियो । १९६२ मा भारत-चीन युद्धले नेहरूको छवि नराम्ररी क्षतिग्रस्त भएको थियो । प्रजा सोशलिष्ट पार्टीका नेताहरूको वास्तविकता पनि त्यतिन्जेल प्रकट भइसकेको थियो । राष्ट्रिय घटनाक्रमले लोहियाको आक्रोशको औचित्य सिद्ध गरेको थियो । भारतीय जनताले ६२ पछि लोहियाका कुरा ध्यानले सुन्न थाले । मई १९६२ मा जवाहरलाल नेहरूको देहान्तको समाचार लोहियाले अमेरिकामा सुने। लोहियाले १९७४ अधिका लडाकु नेहरूलाई। सशोक श्रद्धान्जलि अर्पित गरे । उनले श्रीमति इन्दिरा गान्धीलाई समवेदना पठाए । नेहरूको स्मृतिमा लोहियाले त्यस दिन अमेरिकाको गोराशाहीका विरुद्ध सत्याग्रह गरे । यो एउटा अद्भुत घटना थियो । आजीवनको राजनैतिक विरोधका बावजुद लोहियाले नेहरूलाई यस प्रकार अनुपम श्रद्धान्जलि दिए ।
१९६७ को भारतीय आमचुनाव लोहियाका निमित्त उल्लेखनीय उपलब्धि थियो । त्यस वर्ष लोहियाले भारतीय जनता र राजनैतिक दलका सामु गैरकांग्रेसवादको रणनीति पेश गरे । सत्ताधारी कांग्रेस पार्टीलाई हटाउन लोहियाले सबै विपक्षी दलको राष्ट्रिय मञ्चको आह्वान गरे । प्रशस्त प्रयास गर्नु पयो । तर, प्रयास खेर गएन । १९६७ को आम चुनावमा लोहिया विपक्षी दलहरूमा एकता कायम गर्न सफल भए । भारतीय राजनीतिबाट कांग्रेसको एकाधिपत्य समाप्त भयो । आठवटा राज्यमा गैरकांग्रेसी सरकार बन्यो । विपक्षी दलहरूले नवजीवन प्राप्त गरे । विपक्षी दलहरूले अपूर्व आत्मविश्वास प्राप्त गरे । लोहियाको पार्टीले पनि सन्तोषजनक सफलता प्राप्त गन्यो । प्रजा सोशलिष्ट पार्टी छिन्नभिन्न थियो । लोहियाको सोशलिष्ट पार्टी भारतीय संसद्मा प्रभावशाली विपक्षका रूपमा उदित भयो । व्यक्तिगतरूपमा पनि संसद्मा लोहियाले राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वमा अनेकौं प्रश्न उठाए । भारतीय संसद्को इतिहासमा लोहियाको उपलब्धि सधैं उल्लेखनीय रहनेछ ।
फरवरी १९६७ मा भारतको आम निर्वाचन भएको थियो । कांग्रेसले भारतीय संसद्मा अत्यन्त पातलो बहुमत प्राप्त गरेको थियो । कांग्रेसले मुलुकको विकराल समस्या समाधान गर्न सक्दैन भनी सबै भन्दै थिए । लोहियासमेतको हिस्सेदारीबाट राष्ट्रिय सरकार गठन गर्ने भने कुरो चलेको थियो । तर, कुरो कुरै रह्यो । त्यसै वर्ष (१९६७) को अक्टुवर महिना एउटा सामान्य शल्यक्रियाका निमित्त लोहिया दिल्लीको बेलिंडन अस्पतालमा भर्ती भए । डा. लोहिया अस्पतालबाट फर्केनन् । उनको घाउ नराम्ररी बल्झियो । धेरैले षडयन्त्रपूर्ण हत्याको आशंका गरे तत्कालीन सरकारले अस्पतालका डाक्टरहरूलाई जिम्मेवार देखायो । डाक्टरहरूले लापरवाही भने अवश्य गरेका थिए। लापरबाहीको हेतु के थियो, अझै रहस्यको गर्भमा छ । जे होस्, अत्यन्त रहस्यमय परिस्थितिमा डा. लोहियाको असामयिक निधन भयो । सम्पूर्ण हिन्दुस्तान उनको निधनमा शोकाकुल भयो ।
डा. लोहियाको आफ्नो निजी घर कहिल्यै भएन । संयोगवश, उनका निकटवर्ती नाता सम्बन्धी पनि केही थिएन । उनले निजी सम्पत्तिप्रति पनि कहिले केही सोचेनन् । सम्पत्तिप्रति उनीमा लोभ छँदै थिएन । उनी आजीवन अविवाहित रहे । यसै पनि परम्परागत विवाह तथा विवाह भन्ने संस्थाप्रति उनलाई कहिले विश्वास थिएन । स्त्री- पुरुष सम्बन्धमा बलात्कार र वचन भंग बाहेक सबै सम्बन्ध उनका विचारमा जायज थिए । एउटी सुशिक्षित बंगाली महिला रमा मित्र डा लिहियाकी अभिन्न मित्र थिइन् । दिल्ली छँदा डा. लोहिया रमा मित्रकै डेरामा बस्थे । डा. लोहियाको देहान्तका घडीमा रमा मित्र समीपमा थिइन् । अरू जो थिए, साथीहरू थिए । मधु लिमये, जर्ज फर्नाण्डिस, कर्पूरी ठाकुर, राजनारायण, किशन पटनायक, ओंप्रकाश दीपक आदि लोहियाका शिष्य थिए। लोहियाको बिग्रँदो अवस्था थाहा पाएर ती सब दिल्ली पुगे । १९४७ पछि जयप्रकाश र लोहियामा राजनितिक ऐक्य कहिले भएन । तर, लोहिया र जयप्रकाशको भावनात्मक सम्बन्ध कहिल्यै बिग्रेन । अस्वस्थ लोहियाको सुश्रुषा गर्न जयप्रकाश नारायण पनि सपत्निक पुगे । यसै पनि १९६६ / ६७ तिर आएर लोहिया जयप्रकाश नारायण पनि भूदान तथा सर्वोदयको वास्तविकताबार परिचित भइसकेका थिए । आफ्ना अन्तिम दिनमा जयप्रकाश नारायण स्वयं एउटा महान् जनआन्दोलनको नेतृत्व गरे । आजीवन लोहिया खुद त्यस्तै जनान्दोलनका पक्षधर थिए । स्वाधीन भारतम जनआन्दोलनको भूमिका छैन भन्ने जयप्रकाशको तर्क थियो । तर आखिर १९७७ मा अर्थात् लोहियाको देहावसानको १० वर्षपछि जयप्रकाश स्वयं आफैँ लोहियाका समीपमा उभिन पुगे । त्यसैले आज भारतमा लोहियार जयप्रकाशको नाम एकसाथ श्रद्धापूर्वक लिइन्छ ।
सर्म्पक गरिनासाथ लोहिया पूरा ताकतका साथ नेपाली क्रान्तिम संलग्न भए । लोहियाको अन्तर्राष्ट्रियवाद मात्र मौखिक नारा थिएन। उनी साँच्चो अर्थमा विश्व-नागरिक थिए । नेपाली क्रान्ति डा. लोहियाका निमित्त विश्व क्रान्तिको अभिन्न अंग थियो । विश्व क्रान्तिको भावनालाई हृदयंगम गरेर लोहियाले नेपाली क्रान्तिमा दिलचस्पी लिए। लोहियाको तिनताकाका लेख, टिप्पणी र पत्रहरू पढ्दा यो कुरा राम्ररी बुझिन्छ । त्यति मात्र होइन, लोहिया नेपालमा छिटै नै समाजवादी क्रान्तिको पहिलो प्रयोगभूमि हुन्छ भन्ने आशा राख्न थालेको थिए ।
स्वतन्त्र भारतमा लोहिया पहिलोपटक मई १०४९ मा जेल परे । समाजवादी पार्टीले त्यो दिनलाई नेपाल-दिवसका रूपमा मनाएको थियो। मईमा दिल्लीमा उग्र गर्मी हुन्छ । लोहिया र अन्य सैकडौं समाजवादी कार्यकर्ताहरू जुलुस निकालेर नेपाली राजदूतावासतर्फ बढ्दै थिए । नेपलमा मानवअधिकार बहाल होस् भन्ने माग थियो। जुलुस सर्वथा शान्तिपूर्ण थियो । राजदूतावासका नजिक पुगेपछि जुलुस आमसभामा परिणत भयो । लोहिया भाषण गर्न उठे । एकाएक पुलिसले अश्रुग्यासका गोला प्रहार गर्न थाल्यो । सभा छिन्न भिन्न भयो । समाजवादी पार्टीका प्रमुख कार्यकर्ताहरू भने डिगेनन् । आखिर लोहियासहित ४९ जना समाजवादी कार्यकर्ता गिरफ्तार गरिए। लोहियालाई यसअघि अश्रुग्यासको अनुभव थिएन। पछि जेलमा बड़ो व्यथित भएर लोहियाले आफ्ना सहयोगीलाई भने- स्टालिनले प्रनि यति छिटै आफ्ना सहकर्मीका उपर हात छोड्या थिएन। एक महिनाभरि लोहिया जेलमा रहे । लोहियाको गिरफ्तारीले नेपाली जनान्दोलनलाई विश्वमा व्यापक प्रचार र समर्थन प्रदान गर्यो ।
नेपाली जनआन्दोलनका नेतामध्ये लोहियाको विशेष स्नेह विश्वेश्वरप्रसाद कोइरालाप्रति थियो। एक त नेपाली कांग्रेसको संगठनमा विश्वेश्वरप्रसाद कोइरालाको विशेष हात थियो । त्यो करो लोहियालाई थाहा थियो । दोस्रो, विशेश्वरप्रसाद कोइराला पनि व्यक्तिगत विचारधाराका दृष्टिले समाजवादी हुनुहुन्थ्यो । त्यसो हुँदा लोहिया श्री कोइरालाबाट विशेष अपेक्षा राख्थे, यो स्वाभाविक थियो । दुवैजनाका बीचमा नेपाली कांग्रेसको कार्यक्रमबारे छलफल भइरहन्थ्यो । स्वयं लोहियाले नेपाली कांग्रेसको कार्यक्रमको मस्यौदा तयार गरेका थिए । त्यो कार्यक्रम आज पनि पढ्न सकिन्छ । त्यो कार्यक्रम संक्षिप्त, स्पष्ट र सटीक छ । तर, २००७ सालको क्रान्तिको दरम्यान त्यो कार्यक्रम लागू हुन सकेन ।
उल्टो २००७ सालको क्रान्तिका दरम्यान लोहिया र कोइरालाको सम्बन्ध बिल्कुलै बिग्रियो । ०७ सालको क्रान्तिका दरम्यान मै जग्गा वितरणको कार्यक्रम लागू गर्नु पर्छ भन्ने लोहियाको आग्रह थियो । नेपाली कांग्रेसले त्यसो गर्न सकेन । जग्गा वितरणबारे लोहिया लेनिनको उदाहरणबाट प्रभावित थिए । कानुन बनाएर जग्गा बाँड्न सकिन्न । क्रान्तिका दरम्यान मुक्ति सेनाको नेतृत्वमा नै जग्गा बाड्नु पर्छ । जग्गा वितरण पनि समाजवादी क्रान्तिको पहिलो शर्त हो । समाजवादीहरू सम्पत्तिको पवित्रताको पुँजीवादी सिद्धान्त मान्दैनन् । त्यसो हुँदा क्रान्तिका दरम्यान व्यक्तिगत जमिनदारीका उपर हमला गर्नु सर्वथा जायज हो भन्ने लोहियाको तर्क थियो । कोइराला यस तर्कबाट प्रभावित भएनन् । कदाचित् कोइराला असमर्थ थिए। त्रान्तिका दौरान कोइराला र नेहरूका बीचमा पनि सम्पर्क भयो । प्रधानमन्त्री नेहरूको बिछट्ट बेग्लै विचार थियो । कदाचित् कोइराला नेहरूको सुधारवादी र कानुनवादी दृष्टिकोणबाट प्रभावित हुनुभयो ।
लोहिया कोइरालाका घोर आलोचक भए । कोइरालाले क्रान्तिको महान् लक्ष्यसित गद्दारी गरे भन्ने लोहियाको आरोप छ । कोइराला सत्तामुखी र सम्झौतावादी भए भन्ने लोहियाको आरोप छ । त्यति मात्र होइन, ००७ सालको क्रान्तिका दरम्यान कोइरालाको भाइ भतिजावाद चलाए भनी लोहिया भन्दछन् । लोहिया भन्दछन्- ‘योग्यताका नाउँमा वा योग्य नै छन् भने पनि आफ्ना भाइ भतिजालाई पद दिनु अपराध हो । लोहियाका निमित्त यो प्रश्न उनको समाजवादी सिद्धान्तको तर्कपूर्ण विस्तार थियो । लोहियाले आजीवन निर्गुण समताको विरोध गरे । लोहिया समानताका नाउँमा बलिया र निर्धाको निरपेक्ष मूल्यांकन गर्ने पक्षमा थिएनन् । लोहिया भन्थे- निर्धाले विशेष अवसर पाउनु पर्छ । एसियाई समाजवादमा निर्धालाई विशेष अवसर दिएर मात्र समताको स्थापना सम्भव छ । त्यसैले कोइरालाको भाइभतिजावाद लोहियाका नजरमा अक्षम्य अपराध थियो ।
लोहिया जिद्दी स्वभावका मानिस थिए र त्यहाँ अभिमान पनि थिएन भन्न सकिदैन । एकपटक कसैसित रिसाएपछि लोहिया हतपत खुसाउन्नथे । कोइरालासित लोहियाको फेरि तत्काल सम्झौता भएन । १९६० मा कोइराला प्रधानमन्त्रीका रूपमा गिरफ्तार भए । त्यसपछि कोइरालाले लामो जेल यातना सहनु पयो । १९६५/६६ तिर लोहिया फेरि नेपालको प्रश्नमा रुचि लिन थालेका थिए। तिनताक केही नेपाली विद्यार्थी तथा तरुण लोहियासित सम्पर्क कायम गर्न सफल भए । लोहियाको निमित्त निजी भावना विशेष महत्व राख्दैन्थ्यो । एकप फेरि लोहिया नेपालका बारे बोल्न थाले । कोइरालाको स्वास्थ्य र रिहाइका निमित्त लोहियाले अनेकौंपटक सार्वजनिक रूपमा चिन्ता व्यक्त गरे ।
अन्तराष्ट्रिय जगत्मा नेपाली जनतन्त्रको पक्षमा जनमत तयार गर्ने लोहियाको वक्तव्यले प्रशस्त मदत गरयो । तिनताक नै लोहियाले कलकत्तामा सुवर्ण शम्शेरलाई पनि भेटे । नेपाली कांग्रेसका पुराना नेताप्रति लोहियाका मनमा प्रेम तथा सद्भाव थियो । कोइरालाबाहेक गणेशमान, केपी भट्टराई र एस. पी. उपाध्यायका बारे उनी अवसर सोधपुछ गर्थे । उनी भन्थे तर, नेपाली विद्यार्थी र तरुणले नेपाली कांग्रेसको पछि लागेर मात्र काम चल्दैन । सशक्त तथा राष्ट्रिय तरुण आन्दोलनले मात्र नेपाललाई नवजीवन प्रदान गर्न सक्दछ । सर्वप्रथम तरुणले आफैँले आफ्नो निमित्त सोच्न सक्नुपर्छ । तरुण आन्दोलन भन्न नै तरुणले आफूले आफ्ना निमित्त कार्यक्रम बनाउनु हो भन्ने उनको स्पष्ट तथा निश्चित् विचार थियो । लगभग यिनै विचारलाई लिएर तिनताक नेपालमा पनि तरुण आन्दोलन तथा संगठनको निर्माण गर्ने प्रयास भयो ।
अगस्त १९६७ मा बनारसमा नेपाली समाजवादी तरुणहरूको सम्मेलन भयो । त्यस सम्मेलनले नेपाली राजनीतिमा पहिलोपटक आत्मनिर्भर तरुण आन्दोलनको परिकल्पना गर्यो । उक्त सम्मेलनले प्रजातान्त्रिक समाजवादी युवक दललाई जन्म दियो । ‘प्रजातान्त्रिक समाजवादी युवक दल’ नेपाली राजनीतिमा आफ्नो किसिमको एक मात्र संगठन ठहरिएको छ, जो युवकले युवकद्वारा युवकका निमित्त गठन गरेका थिए ।
डा. लोहियाले प्रजातान्त्रिक समाजवादी युवक दलको स्थापना सम्मेलनलाई अनेक प्रकारले सघाउ पुर्याउनुभयो । र, दलका निमित्त उहाँको सन्देश सर्वाधिक मूल्यवान रहेको छ । ७ गुरुद्वारा रकाबगंज रोडको ठेगानाबाट प्रेषित २३ जुलाई, १९६७ को उक्त सन्देशमा लोहियाले भन्नुभएको छ- ‘सामान्य बलिदानले जनतन्त्र र समाजवादका देवताको चित्त बुझ्दैन । ती बढ़ो भीषण बलिदान माग्छन् । नेपाली तरुणको बलिदान थोरै भयो भन्ने मेरो भनाइ होइन, तैपनि अझै बलिदानको खाँचो छ । आहुति अझै अपर्याप्त छ, यो नबिर्स । र, एउटा अर्को सानो सल्लाह पनि म दिन्छु, संघर्षका दरम्यान एकैपटक एकदम ठूलो लक्ष्य राख्ने काम छैन । लक्ष्य बरु सानै होस् तर एकपटक लक्ष्यको निधो गरेपछि उक्त लक्ष्यका निमित्त तन-मन अर्पित गर्ने शक्ति प्रत्येक नेपाली तरुणले प्राप्त गरून् भन्ने मेरो कामना छ । तपाईंहरूलाई आफैं आई भेटेर कुरा गरौंला भन्ने धोको थियो, सकिएन । अहिलेलाई यसै सन्देशबाट सन्तोष गरेको छु ।
पहिलो भाग यहा पढनुहोसः लोहिया र एशियाली समाजबादी आन्दोलन
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
(नोट : स्वर्गीय प्रदीप गिरिले करिब ४५ वर्ष आगाडि लेख्नुभएको डा. लोहियाको जीवनीमा आधारित यो लेखको दोस्रो भाग भोलि प्रकाशन हुनेछ )
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया