सन् १९९८ ताका यस पंक्तिकारले ओलाङ्चुङगोलाको वालुङ समुदायबाट बर्षेनी मनाउदै आएको फुटुक पर्वमा सहभागिता जनाएको थियो। कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको स्थापना पश्चात आयोजना (केक्याप ) टिम लेलेपबाट ओलाङ्चुङगोला तर्फ बिशाल तमोर नदीको किनार हुदै लुङ्थुङ् तर्फ उकालो लाग्यो। लुङ्थुङ् देखि उत्तरी भागमा प्राय: शेर्पा जातीका मानिसहरुको मात्रै बसोवास रहेको पाइन्छ। लुङ्थुङ्बाट उकालो लागेपछि तमोर नदीले दिशा फेर्दोरहेछ। बीच बाटोमा सुन्दर अनि मनमोहक छङ्छङे झर्नाहरु भेटिन्छन्।
छङ्छङे झर्ना अनि झ्याउँकिरीको संगीतले वातावरणलाई सार्है मनमोहक र आनन्दकारी बनाइदिएको थियो । ठाउँठाउँमा स्थानीय ढुवानीको साधन बनेको चौँरी र तिनको गलामा झुण्ड्याइएको घण्टीबाट निस्केको ‘घण्टङ् घण्टङ्’को आवाजले बाटो काटेको थाहा नै भएन।
कहिले तमोर छोड्दै त कहिले भेट्दै अनि तमोर नदीसँग लुकामारी गर्दै ठाडो उकालो हुदै देउरालीमा पाईला टेक्यौ। देउरालीमा उकालो चढी सक्नेले उकालो सकिएको खुशीयालीमा र ओरालो झर्नेले ओरालोमा केही नहोस् भनेर फूल, पाती चढाएको देख्यौँ । हामीले पनि त्यही धर्म निभाउदै उकालो चढी सिध्दियो भनेर पाती चढायौँ ।
एकछिन् उभिएर देउरालीको चिसो हावा खायौँ, रमायौँ। ओलाङ्चुङ्गोला पुग्ने बेलामा परैबाट झुरुप्प भएर रहेका घरहरु देखिन थाले।
हामी बिस्तारै तेर्सो बाटो हुदै ओलाङ्चुङ्गोला स्थित किपा दिदीको घर तर्फ लाग्यौँ। किपा दिदीले हामीलाइ हार्दिकतापूर्वक स्वागत गर्दै भनिन्-“सर, थाक्नु भएको होला पहिले खाना खाएर फुटुक हेरौँ है ?
किपा दिदीले पकाएको तातो खाना र साथमा तुम्बाको चुस्कीले ज्यान आएको महसूस भयो।
खाना खाएर आफ्ना झोला, सामान उनकै घरमा राखेर हामी पनि फुटुक हेर्न विस्तारै गुम्बा तर्फ उकालो चढ्यौँ । फुटुक पर्व कसरी मनाइन्छ भन्ने हर्ष र जिज्ञासा त्यतिकै थियो । फुटुकमा शेर्पाहरुले बसेर खान र मनोरञ्जन गर्न आ-आफ्नै पाल टाँगेर ‘गुम्बा’ क्षेत्रलाई बेहूली सिँगारेझैँ सिँगारेका थिए । फुटुकको बारेमा जिज्ञासा बढेको थियो। मैँले विशेष चासो दिएर फुटुकका हरेक चरणहरु हेरेँ ।
फुटुकमा सेलरोटी पोलिँदो रहेछ, प्रसाद, फलफूल र रोटी बनाएर भगवानलाई चढाउने काम हुँदो रहेछ । मुख्य लामाबाट भूत-प्रेत भगाउने मन्त्र पढिदो रहेछ।
वालुङ समुदाय र फुटुक पर्व :
कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङको ओलाङ्चुङगोलामा वालुङ समुदायको बसोबास छ। तीन हजार दुई सय मिटरको उचाइ रहेको तमोर किनारको हिमाली बस्ती ओलाङ्चुङगोलामा हाल वालुङका ५२ घरपरिवार छन् । वालुङ समुदायले दशैँको कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिदेखि तिहारको औँसी अर्थात् लक्ष्मीपूजाको दिनसम्म फुटुक पर्व धुमधामका साथ बर्षेनी मनाउने गर्दछ।
ओलाङ्चुङगोलामा करिव साढे चारसय वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ मा ओलाङ्चुङगोलामा मात्र मनाइने वालुङ समुदायको महत्वपूर्ण फुटुक पर्व परम्पराअनुसार आगोको राप (ज्वाला) ले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिन्छ। आगोमा घ्यू र तेल लगाएर राप वा ज्वालाले दिकिछ्योलिङ गुम्बाको धुरी कटाएपछि शुभ हुने विश्वास वालुङ समुदायमा छ।
परापूर्व कालदेखि मनाइँदै आएको फुटुक पर्वमा देश विदेशबाट पाहुनाहरु सहभागी हुने गरेका छन् । वालुङ समुदायका आफन्त, नातेदारहरु पर्व मनाउन अर्थात पर्वमा सहभागी बन्न ओलाङ्चुङगोलामा आउने गर्दछन । यस्तै, फुटुक पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सा, फले, ग्याब्ला, लेलेप , लुङ्गथुंग लगायत स्थानका बासीन्दाहरु सहभागी हुने गरेका छन।
पर्वको अन्तिम दिन समापनमा मुख्य लामाले देवता नृत्य प्रदर्शन गर्ने गर्दछन् । देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय र सत्यको जित कसरी हुन्छ भन्ने अभिनय देखाउने गरिन्छ । लामाको नृत्य र प्रस्तुति हेर्न साथै भगवान्को आशिर्वाद थाप्न लिनका लागि स्थानीयवासी र बाहिरका पाहुनाहरु गुम्बा नजिकै पाल र टेन्ट टाँगेर बस्ने गर्दछन्।
फुटुक पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पूजापाठ गर्ने गर्छन् भने देव नृत्य देखाउने गर्दछन् । करिव दुईसाता अवधिसम्म मनाइने फुटुक पर्वको पछिल्लो चार दिनलाई मुख्य दिन मान्ने गरिन्छ । मुख्य दिनमा आगोमा घ्यू र तेल लगाएर राप वा ज्वालाले गुम्बाको धुरी कटाएपछि पर्वको विधिवत् रुपमा समापन गरिन्छ।
फुटुक पर्वमा नयाँ कपडा फेर्ने, मिठोमसिनो परिकार बनाएर खाने प्रचलन छ । यसरी वालुङ समुदायले परापूर्व कालदेखि नै निरन्तर फुटुक पर्व मनाउँदै आएका छन् भने उनीहरुको भव्य र महत्वपूर्ण सांस्कृतिक पर्व फुटुक हो।
ताप्लेजुङ्ग सदुरमुकाम फ़ुङ्ग्लिङ्गबाट तीनदिनको पैदल यात्रा गरि पुगीने ओलाङ्चुङगोला नेपालकै दुर्गम र बिकट गाबिस मानिन्छ।