spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

दशैँ आयो खाउला पीउला ….

सम्बन्धित समाचार

बिहानै आँखा नखुल्दै आज दोधारमा परे म। तातो सिरक छोडौ कि नछोडौ। उठौं त थकित जीउ, नउठौं त कामको चटारो। कोरोना महामारीका कारण कार्यालय भने जानु परेको छैन तर पनि बाहिरी बातावरणले ओछ्यान छोड्नै गाह्रो बनायो।

यसो पर्दा खोली बाहिर च्याए। मन्द चिसो हावा संगै हुस्सु र कुहिरोले पार्किङ लट नै छोपेको रहेछ । बाहिरी बातावरण हेर्दा दशै आएझै लागेर मन चुलबुल भयो र जुरुक्क उठी आफ्नो नित्य कर्ममा लागे ।

बिस्तारै बढेको चिसो, त्यसमाथि उमेरको जालझेलमा थलिएको निन्द्रा, बिहानै उठेर ब्रेकफास्ट बनाउनु, खानु र दिउसोको लागी लन्च समेत तयार गर्नु पर्दा कुन जन्ममा पाप पो गरेको थिए कि भन्ने लाग्छ। बिहानै उठ्यो, चिया/कफी मगमा हाल्यो, झोलामा लन्च हाल्यो अनि अफिसको बाटो लाग्ने दिनहरु सम्झन्छु। खासमा अफिस आवत जावतको मज्जा पनि गजबैको हुन्छ।

कार्यालय समयमा थानकोटको ट्राफिक जाम जस्तै वासिङ्टन डिसी मेट्रो एरियाको ट्राफिकमा गाडी हुईक्याउनुको पिडाको बयान गरी नसक्नु हुन्छ । यही पिडालाई कम गर्न सरकारले कार्पोल तथा स्लगिङको ब्यबस्था गरेको छ । यस ब्यबस्था अनुसार हाइवेमा गाडी चलाउनका लागी आफ्नो गाडीमा तोकिएको सवारि सख्या अनुसारका मान्छे बसाएको हुनु पर्छ । कार्यालय आवत जावतका लागी कहिले आफ्नो गाडीमा त कहिले अर्कैको गाडीमा आलोपालो सवारी गर्नु नै मेरो दैनिकी बनेको छ।  कोरोना महामारीका कारण बिहान उठेर कार्यालय जानु परेको छैन।  मेरो दैनिकी पनि परिवर्तन भएको छ।

जिन्दगी मजाक मै पो बित्ने हो कि भन्ने पीर पनि लाग्छ, कहिलेकाहीँ । शनिबार र आइतबार बिदा पाउनेहरु सबै भाग्यमानी ठहर्छन अमेरिकामा। छुट्टीको दिनको ठेगाना हुनेले एक आपसमा भेट्घाट गर्छन, कहिले आफ्नो कथा सुनायो, कहिले अर्काको व्यथा सुन्यो । बिदेशमा कसैको मित्र, धेरैको अपरिचित त कतिको हाई हेलोको सम्ब न्ध । जेहोस बिदेशमा यत्तिको परिचयलाई नभएको भन्दा भएकै ठान्नुपर्छ, म सन्तुष्टै छु ।

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो र न्यानो हुन्छ । त्यसमा पनि प्रबासी नेपालीहरुकालागी चाडपर्बको महत्व झनै बिशेष हुने गर्दछ । भर्खरै मात्र बिदा गरिएको तीज पर्बलाई अमेरिकाका नेपाली भाषीहरुले परम्परागत रुपमा ठुलो महत्वका साथ मनाए । भर्जेनियामा डिसी मेट्रोबासी साथीभाइहरु बिच भएको तीज कार्यक्रममा आफ्नो परम्परालाई अगाल्दै बिशुद्ध नेपाली तीजको गीतमा रातो पहिरन र गहनामा धपक्क सजिएका महिलाहरुले  जुम भर्जुअल प्रबिधि मार्फत गीत गाए अनि नाचगान गरे। जुममा आफ्ना परिवार्, साथी भाईका साथ तीजको महत्वका बारेमा प्रबचन गरे, दर खाए र जुममा जोडिएर गुरु मार्फत पुजा पाठ गरे ,  ब्रत बसे । यसपालीको डिसि मेट्रो परिवारका  साथीभाइहरु बिच भएको तीज कार्यक्रमलाई डिसी मेट्रो वरिपरी बसोबास गर्ने प्रबासी नेपालीहरुले एउटा नमुनाका रूपमा मनाईएको पर्बका रुपमा मनन गरेका छन ।

बर्ष दिनको दौड धुपका बिच तीज पर्बलाई बिदा गर्दा गर्दै आफ्नो मात्रु पर्ब- दशै र तिहार नजिक आउँदा नेपाली मन बेचैन हुन थाल्छ । नेपाली पर्ब मात्रै हुन र यसपछीका अमेरिकन पर्बहरु- हलोइन्, थ्यान्क्स गिविङ र क्रीस्मसको चटारो अर्कै छ । नेपाली मुलका हामी अबिभावकका लागी आफ्नै मात्रु पर्ब -दशै तिहार र हाम्रा सन्तानका लागी दशै तिहारका साथै थप अमेरिकि पर्बहरुको चाजोपाजो मिलाउनु हम्मे हम्मे नै पर्छ ।

नेपालीहरुको महान चाड दशै भित्रिने तरखरमा छ। विदेशमा रहेकाहरु आफन्त सम्झेर नेपालको आफ्ना गाउँघर फर्कन्छन भने कोही आफ्ना अबिभावकलाई नै झिकाउने गर्दैथे तर कोरोनाले यसपाली त्यो अवसर दिएन। परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीतमा रमाउदै, नाच्दै, आफन्तहरु बिच भेट्घाट गर्दै, मिठो खादै नेपाली साँस्कृतिक महत्वलाई उजागर गर्न प्रबासी नेपालीहरु सबै एकजुट हुन्छन । पर्बका बेला बर्ष दिनको थकान मेटाउन कोही घरमै जमघट गर्छन्, तास खेल्छन त कोही आफन्त भेटन टाढा सम्म पुग्छन। तर गत साल हरु झैँ  यसपालीको अवस्था कठिन हुने पक्का नै छ। नेपालीहरुलाई अझ खसीको चटारो त छदै छ। दशैंमा खसीको मासु लिन जाने नेपाली भाषीहरुको रमिता नै लाग्छ फार्म हाउसमा। दशैंमा मासुका परिकारहरू सेकुवा र पक्कुमा नरमाउने प्रबासी नेपालीहरु बिरलै होलान अमेरिकामा। 

नेपालीहरुलाई बिदेसमा सबै भन्दा धेरै खटकिने चिज पनि नेपाली सस्कार र संस्कृतिको अभाव नै हो। उल्लास, उत्साह, र उमङको पर्व दशै र तिहारका हरेक दिन यादै यादमा बिताउनु प्रबासी नेपालीहरुको नियती बनेको छ । आशिष दिने र लिनेको बिचमा आत्मियताको आदान प्रदान लगायत आफु भन्दा ठुलोलाई आदर र सानोलाई माया बाँड्ने अबशर पनि दशैमा प्राप्त हुन्छ । त्यसमध्ये तिहारमा खेलिने देउसी भैलोले सम्पुर्ण नेपाली भाषीहरुमा विशेष महत्व राख्दछ । आफ्नो समय मिलाएर सकेको मनोरन्जन गर्न पछी पर्दैनन नेपालीहरु। यही अभावलाई पुर्ती गर्न सबै नेपालीहरु एक अर्काको घरमा जमघट हुने गर्दथे , दुख सुखका कुरा सटासाट गर्दै मिठो मसिनो खानपीनमा भुल्ने गर्दथे। यसरी खुसियाली र आत्मियता साटन यसपालीको परिस्थितिले जुराउने छैन।

संस्कृति धान्न वा मनोरञ्जन गर्न खेलीने देउसी भैलोको तौर तरीका नेपालमा मात्र हैन बिदेसमा पनि समय अनुकुल बदलिदैं जान थालेको छ । मादल र डम्फूको तालमा सुर मिलाएर आशिस दिदै देउसी खेल्ने पुरानो प्रचलन आजभोली ठाउँ अनुसार परिवर्तन हुँदै गएका छन्। देउसीमा भट्टयाउने भाकाहरु बदलिएका छन । पौराणीक, धार्मिक वा परम्परागत संस्कृतीको वेलिविस्तार लगाउँदै भट्याउने चलन हिजोआज कम हुँदै गएका छन् । तापनी , सकेको बिधि र तरिका अनुसार देउसी भैलो खेलिदै आएको थियो। यसपाली भने जुमबाटै रमाइलो गर्ने तर्फ सबैको सोच रहेकोछ।

नेपाल लगायत बिदेसमा समेत भएका सामाजिक संघ-सस्थाहरुले समाजमा सन्देश प्रवाह गर्ने अभिप्रायले देउसी भैलो खेल्न थालेका छन। त्यसबाहेक स्थानीय विभिन्न समुदाय, नेपालका राजनीतिक दलहरुका पुच्र्‍छर सगठनले समेत आर्थिक संकलन गर्ने अभिप्रायले खेल्ने गरेको देउसीले ठेट नेपाली सांस्कृतिक देउसी भैलोका भाकाहरु विर्सन थालेका छन। सिनेमाका गीतलाई बङ्ग्याई देउसी र भैलोको भाका बनाइदैछ! हिन्दी र अंग्रेजी गीतमा भडकिलो तरिकाले देउसी खेल्ने प्रचलनले स्थान जमाएको अवस्थालाई मनन गर्दा हाम्रो प्रीय पर्ब नै लोप हुने पो हो कि भन्ने चिन्ताले छोपेको छ।

अझ अमेरिका त यस्तो देश हो जहाँ प्रत्येक नागरिकले आफ्नो धर्म, सस्कार र संस्कृतिको प्रयोग गर्न सम्बिधानले नै खुल्लारुपले स्वागत गरेकोछ । परम्परागत महत्व बोकेका यी हाम्रा पर्वहरु न त डलरले किन्न सकिन्छ न कुनै अन्य मुद्राले नै। अत: हाम्रा सस्कार, संस्कृति र चाड पर्बहरुको संरक्षण र संम्बर्दनका लागी सबै प्रबासी नेपालीहरुले एउटा अभियान थाल्न आवस्यक भै सकेकोछ। 

अन्तमा, दशै आयो, खाउला पिउला!! कहाँ बाट आउला ? चोरी ल्याउला!! धत्त पापी म त छुट्टै बसौला!! आफु र छर छिमेकीको स्वास्थको ख्याल गरी रमाइलोका साथ मनाउनु होला यो दशै। 

बिजया दशमी तथा दिपावलीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख र शान्ति छाओस ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img