आज असार पन्ध्रको दिन धान रोपाइंँ गरी दही र चिउरा खाएर यो पर्व मनाइंदै छ । कृषि सभ्यतामा असार महिनालाई ‘मानो खाएर मुरी उब्जाउने’ अवसरको रुपमा लिने गरिन्छ । आजका दिनलाई नेपाली किसानहरुले महान् पर्वको रुपमा लिन्छन् ।
आजको दिन नेपाल जस्तो कृषिप्रधान देशको लागि अत्यन्तै महत्वपूर्ण छ । खेतालाहरु घरको सिरान को गराबाट रोपाई सुरु गर्दै छन् भने हलीले हिलोमा खुट्टा चोबल्दै ” ल है साहिलो दाईको खेतमा अन्न धेरै उब्जियोस ; ह ह माले ह ह !” भन्दै बकैनोको भाटोले कालेलाई हिर्काएको आवाजले हिलो खेल्न आएका भूरा नै तर्सिने , कान्छी दिदीले ” मेलो सक्नु पर्छ है , आउनु पर्यो अब ” भन्दै जिस्काईदिने , अरु बेला हिलोबाट घिनाउने सहरबाट आएकी मामाकी छोरी नि हिलोसंग खेल्ने , जस्ता कुराहरुले यो दिनलाई असामान्य बनाउछ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरु आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन ब्यस्त हुन्छन् ।
खेतालाहरुले काम सकेर थकाइ मार्ने बेलामा घरबेटी दहि चिउरा लिएर जाने गर्दछन् र गीत गाउदै आलीमा बसेर भोकलाई भगाएर एक साझको काम सकेर अर्को बेलाको लागि फेरी त्यै अगाडि कै जोस र उत्साहको साथ मेलो सक्ने तरखर गर्छन् ! धान रोप्न सुरु हुन्छ अनि पन्चे बाजा बजाउदै :
छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।
असार भरि राम्रोसँग वर्षात् भएमा खेतीपाती राम्रो हुने, रोगव्याधी नआउने र खडेरीको समस्या टर्ने बताइन्छ । अझ यस महिनाका असार १५ गतेलाई विशेष चार्डको रुपमा मनाइन्छ । दही–चिउरा र केरालाई विशेष परिकारको रुपमा लिई खाने गरिन्छ । सुन्दर प्रकृति, सिमसिमे पानीको वर्षात् र अरुबेला नफूलेर यही महिनामा मात्र फूल्ने असारे फूलको बिरुवाले असार महिनाको विशेष चिनारी झल्काउँछन् । अरु समयमा नघन्किने असारे गीतका भाका यही समयमा हरेक गरिखाने किसानका ओठहरुबाट बुलन्द हुने गर्दछ । अतः असार , धार्मिक साँस्कृतिक, कृषि र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
असार १५ का दिन एक पटक हिलो कुल्चनु भन्ने मान्यता छ । परापूर्वकालमा असार १५ गतेका दिन रोपाईंकै क्रममा त्यसबेलाका तत्कालिन राजा रानीले पनि हिलो कुल्चिएर रोपाईं कार्यक्रममा संलग्न भएको र रोपाईं सकिएपछि किसानहरुसँगै बसेर दही–चिउरा खाएको किम्वदन्तीसँग पनि असार महिनाको इतिहास जोडिएका छ ।
महिनाभरि हिलो माटोसँग खेल्ने र खेतीपातीमा नै व्यस्त रहने भएकाले शरीरमा थकान, बिरामी र छाला सम्बन्धी विभिन्न रोगहरु लाग्ने गर्दछ । रोपाइं गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा साउनमा खीर भन्ने गरिन्छ ।
मानिसहरुलाई त्यतिबेला असार १५ मा दहीको प्रयोग गर्नुको वैज्ञानिक कारण थाहा नभए पनि आयुर्वेदका विज्ञहरुले दहीलाई कब्जियतबाट मुक्त राखी पेटलाई सफा पार्ने, शरीरमा शीतलताको सञ्चार गराउने, तागत प्रदान गर्ने, छालालाई नरम बनाउने आदि अति उत्तम गुणहरु रहेको बताउँछन् । फलस्वरुप रोपाईंको क्रममा शारिरीक, मानसिक स्वास्थ्यका लागि हलि र रोपाहारहरुले दहीको प्रयोग गर्ने प्रचलन विकसित हुँदै आएको मान्न सकिन्छ । चिउराले भोक खटाउने र दिनभर खेतीपातीमा काम गर्न सहज हुने पौराणिक मान्यता पनि छ ।
यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असारे गीत गाउंदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउंदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् । यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुने जनविश्वास रहेको छ ।
असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुदा हिउंदको शुरुवात भयो भन्ने गरिन्छ ।
असार महिना नेपाली किसानका लागि मानो रोपेर मुरी उत्पादन गर्ने समय हो । अहिले किसानलाई खेती लगाउनका लागि चटारो परेको छ । किसान खेतीपातीमा तल्लिन भएपनि पर्याप्त मलजलको अभावका कारण चिन्तित भएका छन् । देशमा राजनीतिक परिवर्तन भएपनि कृषि क्षेत्रमा खासै परिवर्तन हुन सकेन । कृषकका हकहितका निम्ति कुनैपनि सरकारले उचित ध्यान दिएनन् । जसका कारण किसानहरुले समस्यामाथि समस्या झेल्नुपरेको हो ।
आजका दिन नेपाली किसानहरुले खेतमा सामूहिक रोपाइँ कार्यक्रम गर्ने हिलो खेल्ने र दही चिउरा खाई हर्षोल्लासपूर्वक धान रोप्ने परम्परा कायमै छ । तर हिजोआज असार महिना र असार पन्ध्रलाई विकृतीतिर ढल्काइएको देख्न सकिन्छ । खेतीपातीमा आधुनिकीकरण, कृषकहरुलाई वैज्ञानिक र प्राविधिक ज्ञान भन्दा पनि हाम्रो संस्कार संस्कृतिलाई सिध्याउने र पश्चिमीकरण गर्ने कामहरु हालसालैको असार पन्ध्रका सामाजिक सञ्जालमा चर्चाका लागि पोष्ट गरिएका विकृत तस्वीरले घाम झैं छर्लङ्ग पार्दछ ।
हामी कृषिप्रधान देशका कृषकहरु हौं । सरोकारवाला निकायका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले नै गमलामा धान रोपेर असार पन्ध्रको खिल्ली उढाएको पाइन्छ । सम्बन्धित निकाय र सरकार पनि सजग हुनुपर्दछ, हुनेबेला आएको छ । वर्षमा ३ सय ६४ दिन कार्यालयमा बसेर असार पन्ध्रमा नाटकिय शैलीमा एक दिन मात्र कृषकको खेतमा हिलो खेलेर कृषिक्रान्ति हुनेवाला छैन भन्ने कुरामा स्पष्ट हुनुपर्यो । असार पन्ध्रमा मन्त्रीले खेत रोप्दैमा उत्पादन बढ्ने हैन । यदि मन्त्री ज्यू र सरकारी प्रतिनिधि ज्यूहरु साँच्चिकै कृषिक्षेत्रलाई देश विकासको मेरुदण्ड बनाएर लैजाने हो भने विकसित देशका कृषकहरु जस्तै यहाँका कृषकहरुलाई पनि सक्षम बनाउने कार्यक्रम ल्याउनुस्, नेपालमा अझै ९५ प्रतिशत क्षेत्र एवम् भूभागमा परम्परागत कृषि प्रणालीबाट खेतीपाती गरिंदै आइएको छ । अब परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै कृषि उत्पादनको आधुनिक यूगमा प्रस्थान गर्ने कृषि कार्यक्रम जनताको बीचमा ल्याइदिएमा मात्र देशमा कृषि क्रान्ति हुनेछ ।
८० प्रतिशत नेपालीहरु कृषि पेशामा लागिरहँदा पनि देशमा खाद्यान्न अभाव हुन्छ र विदेशबाट आयात गर्नुपर्छ । सरकारले कृषि क्षेत्रको विकासको लागि आवश्यक बजेट नछुट्याई साना तथा ठूला सिचाइँ आयोजना सम्पन्न गर्न नसक्नु तथा समयमा मल खादको ब्यबस्थापन गर्न नसक्दा यस्ता समस्या झेल्नुपरेको हो । यतिबेला मल खादको अभावले तराईका खेतहरु बाझै छन् , यो नेपाली किसानहरुको लागि विडम्बना हो । कृषिको व्यवसायीकरण गर्दै युवा आकर्षण गर्न वैज्ञानिक खेती प्रणाली लागु गर्न कृषिबाट उत्पादित खाद्यान्नको बजार व्यवस्थापन गर्न कृषि अनुदान सर्वसुलभ मलविउ औजारको व्यवस्था र ठूला तथा साना सिचाइँ परियोजना साचालन गर्न आगामी दिनमा सरकारले उचित ध्यान पुर्याउनु पर्दछ। नेपालमा जबसम्म कृषिमा कृषकहरुको लागि विशेष कार्यक्रम आउँदैन तब सम्म नेपालका कृषकहरुले ६ महिना पनि खान नपुग्ने रोपाईंको चटारो भइरहने छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया