spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

साउन हरियालीको महिना : यसकारणले लगाइन्छ हरियो चुरा र मेहेन्दी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले याे महिनाभरि महिलाहरु हरियो चुरा र मेहन्दी लगाउँछन् ।

वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन ।

भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो साउन । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ ।

साउनमा प्रकृति र पोशाकको तालमेल देखिन्छ। प्राकृतिक रूपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय दृश्य देख्न पाइन्छ । साउन महिना हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रूपमा पनि लिन सकिन्छ । वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी महत्वको महिना हो ।

साउन लागेपछि बर्खा सकिएर चाडवाड पनि सुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतीको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहि आएको छ ।

त्यसैले साउन महिनाभरि नै हरियो बस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न गरिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पहेंलो पवित्रताको । त्यसैले साउन महिनामा हरियो, पहेंलो र रातो सम्मिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास छ।

किन साउन महिनामा हरियो चुरा र मेंहन्दी लगाइन्छ ?

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुने र यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि हरियो रंग परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ । बुध ग्रहको असर व्यक्तिको करिअर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ ।

साउनको महिनामा पर्ने सोमबारलाई धेरै महत्त्वपूर्ण मानिन्छ । शिव पुराणअनुसार यस महिनाको सोमबार उपवास बस्नेहरुको भगवान शिवले सबै मनोकांक्षा पुरा गर्ने विश्वास गरिन्छ । साउनलाई वर्षको सबैभन्दा पवित्र महिना पनि मानिन्छ ।

संस्कृतिविद्का अनुसार हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको छ । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको छ। साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रंग लगाइने गरिएको छ।

नेपालमा मेहेन्दी लगाउने चलन थिएन। संस्कृतिविद्हरुका अनुसार साउनमा हरियो र पँहेलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । नेपालमा यो चलन आउनु भन्दा पहिले महिलाले हातमा चिउरी लगाउने गर्दथे । चिउरी एक फूल हो, जसको पात पिसेर परेवाको विष्ट मिसाएर हातमा रातभरी लगाएर छोप्ने चलन थियो । लगाएको चिउरीबाट भोलिपल्ट हात रातो हुन्थ्यो । हातमा मेहन्दी लगाउने चलन नेपालको मौलिक नभएर आयातित सस्कृति भएको संस्कृतिविद्हरुकाको कथन छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img