भर्खरी सम्पन्न भएको किराँत राई समूदायले मनाउने साकेला उधौली पर्व नेपाल सहित विश्वभर छरिएर बसोबास गर्ने भूमिपुत्र किराँत समूदायले मनाउने महान चाड हो । उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंशीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
किराँत राई प्रकृति र पितृपूजक भएको मान्यता छ। किराँत राईले मनाउने विभिन्न चाडमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुईपटक मनाइन्छ। मङ्सिर पूर्णिमा मनाइने चाडलाई उधौली र वैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली भनिन्छ।
साकेला नृत्य, ढोल, झ्याम्टा सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लासका साथ नाच्ने गरिन्छ । विभिन्न नृत्यको भाव सिली माङपा तथा सिली माङपाको निर्देशनअनुसार वृत्ताकार बनाई प्रस्तुत गरिन्छ । सिली नाच मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपक्षीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।
साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थल तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासे भञ्ज्याङ लगायत साकेला स्थानमा साकेला सिली नाच्ने चलन छ।
उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नाका साथै साकेला स्थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवती समेत सहभागी हुने गरेका छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ। हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रुपमा सुरु गरिने साकेला उधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदान गरिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ ।
उधौली तथा उभौलीको अवसरमा किराँत राईले मात्र नभइ सबै जातजाति तथा धर्मका समूदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास हुन थालेको छ । यस पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राईको बिश्वास छ। साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गरी आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।
साकेला उधौली पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ। साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मानाउने गरेका छन् ।
अन्नबाली लगाउने समय अर्थात बैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिर पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ।
(श्रोत: गोरखापत्र, जागरण पोस्ट, नेपाल जन खबर)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया