spot_img
Tuesday, December 3, 2024
35.1 F
Washington DC.
spot_img

हाम्रो पुस्तक प्रेम एक संस्मरण (भाग एक )

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया
साहित्यकार शान्ता काफ्ले

किताब हो कि जिन्दगी, कि जिन्दगी किताब हो ।
पढूं म जिन्दगी पूरा किताब भै सकिन्छ हो ।।

“पुरानो कोट लगाऊ ,नयां पुस्तक किन “ सुनेको थियो ! आज पुस्तककै कुरा !

जुन दिनबाट तिम्रो र मेरो सहयात्रा शुरु भयो त्यो दिनमा नै हाम्रो पुस्तकप्रतिको प्रेम पनि एकै भावमा रहेको मैले थाहा पाएं । मेरो माइतमा जस्तै धेरै किताब त्यहां (खरांगमा) थिएनन् तर तिमीले पढेका कोर्सबूकका किताबहरु (साइन्स म्याथ र अंग्रेजीका ) देख्दा मलाई तिमी पनि पुस्तक मन पराउंदा रहेछौ भन्ने लागेको थियो ।

ती किताबहरुका कुराहरु मेरा लागि नचिनेका मान्छे जस्तै थिए तर तिमीलाई पनि त मैले चिनेको थिएन नि ! तर मैले तिमीलाई त मैले हाम्रो बिहेको कुरा चलेदेखि नै आफ्नो आत्माभरि छापिसकेकी रहेंछु । नचिनिकन नै आफ्नो प्राणमा बसेको मान्छेलाई पढ्न मैले तिम्रा सबै किताबलाई चिन्नु पर्थ्यो । तर संस्कृत भाषाका काव्यहरु / महाकाव्यहरु घोकेर कन्ठस्थ पार्नुलाई पढ्नु भन्दै परीक्षाहरु पास गरे जस्तो सजिलो काम त यो थिएन । अनि मैले जुन पुस्तकका केहि शब्दहरु उक्काउन सक्थें त्यस्ता किताबमा पस्ने निधो गरें ।

त्यहां भएका अंग्रेजी पुस्तकमा एउटा किताब शेक्सपियरको नाटक थियो । अर्को “वार एन्ड पीस “ भन्ने किताब रहेछ । लियो टल्स्टोय को यो किताब पढ्न खोजेको दुईचार वटा लाइन पढेर जांगर मर्यो । वास्तवमा त्यस पुस्तकको भाषा निकै कठिन रहेछ ।

अरु किताबमा मुना मदन र गौरी पनि थिए । मुना मदन त मैले माइतमा पनि पढेको थियो तर फेरि पनि पढें । गौरी त पहिलो पटक पढ्न पाएको थियो । दशौं पटक पढेर पटकै पिच्छे धर्धरी रोएको अहिलेसम्म संझिन्छु । भानुभक्तको रामायण ,महाभारत र अरु किताब पनि थिए तर मलाई त अंग्रेजी पढ्नु थियो ।
तिमीले आइ.एस् सि पछि पढ्ने खर्च बनाउन दिंगला कै कुलुंगको विद्ध्यालयमा एक शैक्षिक सत्र जति पढाए पछि बि एस् सि पढ्ने निधो गरेका रहेछौ । यसैले हाम्रो बिहे पछि तिमी तुरुन्तै पढ्न गइहाल्यौ । मलाई अंग्रेजीको भूतले करक्कै पारेको थियो।

जसरी तसरी बुबा आमाको (सासु ससुराको) सहमति लिएं र दिंगलामा गएं । त्यहां अरुण हाइस्कूलका प्रधानाध्यापक दयानन्द श्रेष्ठ सरसंग पढेर प्राइवेट एस एल सि दिन परीक्षाको तयारी गरें । दयानन्द सरको तारिफ गर्न लायक धैर्य र वहांले गराउनु भएको मिहिनेतले परीक्षा पास गर्न सक्छु भन्ने हिम्मत आएको थियो तर परीक्षा केन्द्रमा भांडभैलो भएर परीक्षा बोर्डले त्यो परीक्षा केन्द्र नै रद्द गरिदिएछ । अग्रेजीमा डिग्री लिने अगाडिको बाटोमा तगारो लाग्यो ।

दयानन्द सरको मेहनतले अंग्रेजीमा केहि हिम्मत बढ्दै गएको थियो । माइतमा भएका केहि अंग्रेजी किताब लिएर खरांग आएं। तर मेरो ‘घर खानको “ लागि मेरो दिनको अठ्चालिस घन्टाको समय पनि नपुग भैदियो ;पढ्ने समय कहां र ! तर “घर खान” खर्च भएका त्यस्ता दिनहरुले मलाई जिन्दगीका किताबहरु मिहिन तरिकाले सिकाए ।

त्यो बेला मैले किताबमा पढेर नबुझेका / बुझ्ने कोशिश नै नगरेका पत्रै पत्र जिन्दगीका पाठहरु सिकिरहें ।

यस्तै भए पनि पुस्तकको भोक जिउंदै थियो ,यसैले घरमा मसला पोको पारेर आएका अखबारका टुक्रा लुकाएर घांस काट्न अथवा बारीमा काम गर्न आफु मात्रै गएका बेला पढ्थें । तिम्री आमाले थाहा पाउंदा मन पराउनु हुन्नथ्यो । वहांलाई अरु कामको धेरै नै महत्व थियो ।

पुस्तकप्रेमको अगाडिको यात्रा काठमान्डौ आए पछि पनि जारी नै रह्यो । तिम्रै प्रेरणा र तिम्रै सहयोगले अंग्रेजीका किताब पढेर शिक्षा शास्त्रमा स्नातकोत्तर तहसम्म पढ्न पाएं । तिमीले आफ्नो जागिरसंगै पढाइलाई पनि अगाडि लैजादै गरेको बेला आगरा विश्व विद्ध्यालयबाट समाज शास्त्रमा स्नातकोत्तर गरेका थियौ ।
तिमीले पढेका समाज शास्त्रका किताब पनि हामी संगसंगै पढ्ने गर्थ्यौ । परीक्षाको तयारी गर्दा कतिपय प्रश्नका उत्तरहरु मलाई सुनाउने गरेको हुनाले मलाई पनि समाज शास्त्र र मानव शास्त्रका केहि दार्शनिकहरुका नामहरु कन्ठै भएका थिए ।

हुन त मेरो पुस्तक प्रेमको कथा मेरी आमाको गर्भबाटै शुरु भएको हो कि जस्तो लाग्छ । मेरा बुबा र आमाको पुस्तक प्रेम आज भन्दा लगभग सय बर्स अघिको ग्रामीण समाजको परिवेशमा हेर्दा अद्वितीय र अनुपम थियो । हाम्रो घरमा अनगिन्ती विषयका धेरै पुस्तकहरु हुने गर्थे ।

बुबाले ईन्डिया पुगेर पहाड घर आउंदा पनि प्रशस्त पुस्तक ल्याउनु हुन्थ्यो ।अंग्रेजी हिन्दी उपन्यासहरु ,स्वास्थ्य सम्बन्धित पत्र पत्रिकाहरु अनि कादम्विनी ,सरिता चम्पक र यस्तै अरु पनि ! हाम्री आमा आफु पनि समय पाएसम्म पढिरहने र छोराछोरीलाई पढ्न प्रेरित गरिरहने गर्नु हुन्थ्यो । शायद् पढ्न रमाइलो लाग्ने बानी त्यहि बेला लाग्यो होला ।

हामीले काठमान्डौमा शुरु गरेको जिन्दगी एउटा महासंग्रामको शुरुवात थियो । नाबालक छोराहरुसंगै सम्पतिको नाममा एक / एक थान शैक्षिक प्रमाण पत्र लिएका हामीले यो महासंग्राममा धेरै सजिला र अप्ठ्याराहरु भोग्यौं । युद्ध जित्नै पर्थ्यो जितियो । त्यो कसरी संभव भयो भन्ने बयान अरु कथामा आइसकेको छ । आज त पुस्तककै कथा भन्दैछु ।

काठमान्डौका सांघुरा डेराहरुमा बस्दा पनि हामी आफ्ना कोर्सबुकहरु जोगाएर राख्ने गर्थ्यौं । आफ्नो घर बनाए पछि तिमीले बडो रहरले एउटा सिंगै कोठालाई पुस्तकालय बनायौ । त्यहां हामीले बेला बखत किन्ने गरेका किताबहरुका साथै तिमीले परियोजनाका लागि लेखेका तालिम दिग्दर्शन अनि कयौं प्रतिवेदनहरु बाहेक मैले तयार पारेका पुस्तक र तालिम सामाग्रीहरु समेत थिए । हामीले गर्ने कामसंग सम्बन्धित पुस्तकहरु पनि धेरै नै थिए । तिमी त्यो कोठामा दिनभरि लेखपढ गरिरहन्थ्यौ ।

पछि घरमा कम्प्युटर पनि आयो । लेख्ने काममा कम्प्युटरले सजिलो भयो । दैनिक र मासिक पत्र पत्रिकाहरु घरमा नियमित आउने गर्थे । कागज ,कलम अनि अक्षरको सुन्दर संसारमा हामी दुबैलाई आनन्द लाग्यो ।आफ्ना ईष्ट मित्र र नातागोताको घरमा जांदा कसैको घरमा किताब देखेर मन रमाउंथ्यो भने कसैको घरमा भने किताब नभएको देख्दा मलाई अचम्म लाग्थ्यो।

जिन्दगीका बाटाहरु एउटै रेखामा हिंडेनन् । अमेरिका आउनु एउटा संयोग /घटना / दुर्घटना जे भए पनि आइयो । यहांको परिवेशमा जिन्दगा जिउने शैली फेरियो । हाम्रो दैनिकीबाट फेरि पुस्तकहरु हराए । क्रमश : अर्को भागमा

किताब हो कि जिन्दगी (विश्व पुस्तक दिवसमा पोखिएको भाव):

किताब हो कि जिन्दगी ,कि जिन्दगी किताब हो ।
पढूं म जिन्दगी पूरा किताबमा सकिन्छ हो ।।
सुनूं किताबका कुरा सुनाउंछन् सिकाउंछन् ।
न सिद्धिने सबै कुरा सिकेर सक्नु छैन झन् ।।
अनन्त ज्ञान छन् कति ती लेखिए किताबमा ।
न खोजी बुझ्नु खै कुरा रहस्य अल्प ज्ञानमा ।।
छ पत्र पत्र जिन्दगी कथाभरी किताबका ।
अपूर्ण छन् कति कथा कुराहरु किताबमा ।।
न लेखिने न छापिने सुनाईए र बिर्सिए ।
किताबमा न आउंदा अमूल्य ज्ञान बिर्सिए ।।
सबै किताबमा सधैं न पाइने सुधा कुरा ।
कति छ द्वेष भावको विषादीका कुराछुरा ।।
बनेर राजहंस लौ म छानी नीर क्षिर त्यो ।
म जिन्दगी सजाउंला किताबमा पढेर त्यो ।।
किताबमा पढेर पो छ विश्व आज एक हो ।
बनाउने किताब ती गुरुहरु नमो नमो ।।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

आयुषले आमालाई लगाएका गम्भीर आरोप, सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु

टिकटकमा करोडौं कमाएर सफलता पाएका आयुष सिंह ठकुरीले आफ्नी आमाविरुद्ध गम्भीर आरोप लगाएका छन्। हिजो राति आयुषले टिकटकको लाइभ...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img