लमजुङको दुधपोखरी। पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका। युवा पलायनका पीडा भोगिरहेका नेपालका अधिकांश गाउँजस्तै पीडामा छ दुधपोखरी। युवा नै गाउँमा नभएपछि पर्यटन कसले चलाउने हो? सदरमुकाम बेंसीसहर भन्दा पूर्वीदिशाका साविकका कोल्की, ईलमपोखरी, गौंडा, विचौर र दुधपोखरी गाविसहरू गाभिएर २०७३ सालमा बनेको हो दुधपोखरी गाउँपालिका।
स्थानीय बढ्दो स्थायी र अस्थायी बसाइसराइँको चेपुवामा छ दुधपोखरी। कतिसम्म भने गाउँका सबै बालबालिका बजार क्षेत्रका निजी विद्यालयतर्फ लैजादा ठूलोकाभ्रेमा एक विद्यालय लगभग बन्द अवस्थामा पुगेको छ। पर्यटनको लागि स्थानीय खासगरी युवा जनशक्तिको पलायन होइन, स्थायी बसोबास र लगाब चाहिन्छ। गाउँपालिकाले स्थाानीय श्रमशील र कर्मशील युवालाई रोक्ने कार्यक्रम पनि साथसाथै लैजानु पर्ने देखिन्छ।
पर्यटन क्षेत्रमा प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुन्छ। प्रचारप्रसारको लागि ब्रान्डिङ गर्न आवश्यक छ भने एकपटक ब्रान्डिङ भएपछि पनि समयक्रममा पुनः ब्रान्डिङ गर्न पनि उत्तिकै जरूरी हुन्छ। प्रचार प्रसार भनेको कुनै पनि स्थान, क्षेत्र वा विषय सम्बन्धी सूचना तथा जानकारीहरू बढी भन्दा बढी व्यक्तिहरू समक्ष पुर्याउने कार्य हो। दुधपोखरी गाउँपालिकाका पर्यटन विकासको सम्भावनाको उचित प्रचार प्रसार गर्न आवश्यक छ। प्रचारप्रसारको अभावमा थुप्रै महत्वपूर्ण र रमरणीय क्षेत्रहरू ओझेलमा परिरहेका छन्। यसैले प्रचारप्रसार कार्यको लागि लमजुङ पत्रकार महासंघसँग समन्वय गर्न आवश्यक छ भने संघ र प्रदेश स्तरिय पर्यटन सम्बद्ध निकायसँग जोडिन पनि उत्तिकै आवश्यक छ। यस्तै ब्रोसर निर्माण, रेडियो, टेलिभिजन, पत्रपत्रिकामार्फत् प्रचारप्रसार, वेबसाइट, सामाजिक सञ्जालको प्रयोग, फोटो, डकुमेन्ट्री निर्माण, ब्लग तथा भ्लग निर्माण, पर्यटन अभियान (बैठक, अध्ययन अवलोकन मुख्य मुख्य स्थानहरू), होर्डिङ बोर्डहरू, टेलिफिल्म, फिल्म सुटिङस्थल बनाउन सकिन्छ। दुधपोखरी क्षेत्रका केही स्थानको बारेमा बनेका एकाध डकुमेन्ट्री, ब्लग तथा भ्लगहरू युट्युबमा हेर्न, पढ्न सकिए पनि यसलाई अझै बढोत्तरी गर्न आवश्यक छ। स्थानीय एक युवा क्लबले आइटेनरी बोर्ड बनाएर जोर्ने बजारमा पर्यटकलाई सुसूचित गर्न खोजेको छ। यस्ता कार्यमा गाउँपालिका नै अग्रसर हुनुपर्ने देखिन्छ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा रहेको दुधपोखरी कुण्डको आधारमा यस गाउँपालिकाको नाम दुधपोखरी गाउँपालिका बनेको हो। हिमालको काखमा रहेको दुधपोखरीकुण्ड लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रूपमा प्रसिद्ध छ। यस गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर छ। आक्षांश २८.१८’ देखि उत्तर, देशान्तर ८४.५७’ पूर्वमा पर्ने गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला पर्दछ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार यस गाउँपालिकको कुल जनसङ्ख्या ८,५५८ पुगेको छ, जसमा पुरुषको सङ्ख्या ४,१७८ र महिलाको सङ्ख्या ४,३८० छ भने घरधुरी २,४७० पुगेको छ।
यहाँ सघन र छरिएका बस्तीहरू छन्। यहाँको वडा नम्बर १ को घमरचोक, पात्लेछेउनासा (कल्को), वडा नम्बर २ को भुम्लीचोक, विचौर, वडा नम्बर ३ को ठूलोकाभे, फुलङगिरि माडी, सानोकाभ्रे, वडा नम्बर ४ को ताजी, सामघडेरी, उदी, नमार्खु, वडा नम्बर ५ को कोल्कीभन्ज्याङ, जोर्ने र वडा नम्बर ६ को गौंडा, ओखारी, भीरकुना महत्वपूर्ण सघन बस्ती हुन्।
धार्मिक तथा सांस्कृतिक विशेषता
संविधान अनुसार नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो। गण्डकी प्रदेश पनि बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भएको प्रदेश हो भने दुधपोखरी गाउँपालिका पनि बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषता भएको स्थानीय तह हो। यहाँ विभिन्न जाति, धर्म, सम्प्रदायका आ—आफ्नै मौलिक परम्परा एवम् संस्कृति अनुसारका पुरातात्विक महत्वका विभिन्न मन्दिर र गुम्बा आदि ऐतिहासिक धरोहरका रूपमा छन्। दुधपोखरी गाउँपालिकाको प्राचीनकालीन कला र संस्कृति झल्कने यस्ता धरोहरले यहाँको पर्यटन विकासमा टेवा पुर्याउँछन्। गण्डकी प्रदेशका धार्मिक सांस्कृतिक सम्पदा (२०७८) मा यस गाउँपालिका क्षेत्र भित्र रहेका विभिन्न तीन वटा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदालाई समावेश गरेको छ। जसमा वडा नम्बर १ घमरचोकस्थित दुर्गा मन्दिर र प्रसिद्ध दुधपोखरी तथा वडा नम्बर २ को चम्पावती लाम्दी दोभान त्रिवेणीधाम मन्दिरलाई समावेश गरिएको पाइन्छ।
प्रदेशले धार्मिक सांस्कृतिक तथा पुरातात्विक महत्त्वका क्षेत्रहरूको संरक्षण र सुधार सम्बन्धी मापदण्ड (२०७७) मा प्राचीकालीन कला र संस्कृति झल्कने पुरातात्विक महत्वका ऐतिहासिक दरबार, मठमन्दिर, गुम्बा, विहार, मस्जिद, स्तुप, स्मारक, देवालय आदि सम्पदा तथा धरोहरहरूको मर्मत सम्भार गर्दै आएको छ। प्राचीन, पुरातात्विक सम्पदा भन्नाले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्य कलाको दृष्टिकोण महत्त्व राख्ने कम्तिमा १०० वर्ष नाघेको मन्दिर, स्मारक, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तुप आदिलाई बुझाउने उल्लेख छ। यसैले दुधपोखरी गाउँपालिका क्षेत्र भित्र रहेका जस्तै ऐतिहासिक गौंडाकोट दरबार लगायतलाई संरक्षण गर्न सकिनेछ।
नेपाल यसै पनि धार्मिक, सांस्कृतिक विविधताले भरिएको देश हो। यस गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न अवसरमा पूजाआजा गरिने ५० भन्दा बढी साना ठूला धार्मिकस्थलहरू, प्राकृतिक तालहरू, झरना तथा गुफाहरू र अग्ला अग्ला पहाडहरू छन्। गाउँपालिकाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रहरूको पहिचान, विकास एवम् सम्वद्र्धन गर्ने नीति लिएको छ।
प्रसिद्ध धार्मिक तथा प्राकृतिक दुधपोखरीकुण्ड छ। दुधपोखरीमा रानी चम्पावतीले आफ्नो छोरा द्रव्य शाह र नरहरी शाहलाई युद्दबाट जोगाउन आफ्ना दूधको धाराबाट चेपे नदी उत्पन्न गरेकी भन्ने स्थापित मान्यता छ।
वडा नम्बर १ प्रसिद्ध धार्मिक तथा प्राकृतिक दुधपोखरीकुण्ड छ। दुधपोखरीमा रानी चम्पावतीले आफ्नो छोरा द्रव्य शाह र नरहरी शाहलाई युद्दबाट जोगाउन आफ्ना दूधको धाराबाट चेपे नदी उत्पन्न गरेकी भन्ने स्थापित मान्यता छ। यस्तै, चोवान ऋषिको तपस्या स्थल, महादेवको बासस्थान रहेको भन्ने पनि मान्यता छ। यहाँ जनै पूर्णिमाको अवसरमा ठूलो धार्मिक मेला लाग्दछ। यस कुण्डमा नुहाएमा सबै पापबाट मुक्त भई मोक्ष प्राप्त हुने विश्वास छ। विभिन्न पोखरी, भेडी र गाई गोठ रहेका छन्। अनुपम प्राकृतिक स्थल, धर्म गौंडो, चेपे नदीको मुहान भएको व्याख्या पाइन्छ। त्यस्तै दुधपोखरी गाउँपालिका वडा नम्बर १ घमरचोकमा ऐतिहासिक तथा प्राचीनकालीन दुर्गा मन्दिर छ। यस मन्दिरमा परापूर्वकालदेखि बडादशैंमा पूजा गर्दै आइएको पाइन्छ। यसैगरी वडा नम्बर २ चम्पावती लाम्दी दोभान त्रिवेणीधाम मन्दिरलाई उक्त पुस्तकमा समावेश गरिएको छ। यो मन्दिर पनि ऐतिहासिक तथा प्राचीनकालीन हो। दुधपोखरी कुण्डको प्रवेशद्धार, शिव मन्दिर रहेको, मेलाको अयाोजना हुने र सार्वजनिक स्थलमा रहेको छ। यहाँ त्रिवेणी धाम संरक्षण समिति छ। ईलमपोखरीको नामबाट साविकमा ईलमपोखरी गाविस समेत थियो। ईलमपोखरी एक प्राकृतिक पोखरी हो। सिमसार क्षेत्रबाट पानीको मुल पलाएर पोखरी बनेको छ। ईलमपोखरी जानेबाटोमा ऐतिहासिक तथा पुरातात्विक महत्वको इलमकोट छ। इलमकोट वनको बीचमा पर्दछ। इलमकोटमा उतिबेलाको बङ्कर रहेको अहिले पनि स्पष्टै देख्न सकिन्छ। ईलमपोखरी आसपासमै देउरालीपोखरी र लेवार्चोपोखरी समेत छन्।
यस गाउँपालिका र छिमेकी दोर्दी गाउँपालिकको उच्च शिखरको रुपमा रहेको लिपेडाँडामा वडा नम्बर ३ फुलिङगिरी क्षेत्रका बासिन्दाले सामुदायिक वनको रूपमा भेंडीगोठ, भैंसीगोठ राख्ने गर्दछन्। लिपेडाँडा समुद्री सतहभन्दा करिब ३,२०० मिटर उचाइमा छ। यस स्थानमा बौद्ध स्तुपा निर्माण गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिने स्थानीय युवा केवी गुरूङ बताउनुहुन्छ, “यसले धार्मिक पर्यटनमा पनि टेवा पुग्दछ। यस डाँडामा बर्सेनि हिउँ पर्ने हुनाले हिउँ खेल्न पनि सकिन्छ भने चितवन, पाल्पाको श्रीनगर, पोखरा, तनहुँको डुमे्रबजारको दृश्यावलोकन गर्न सकिन्छ।” पूर्वशिक्षक श्याम श्रेष्ठ लिपेडाँडालाई करिबकरिब कास्कीको पुनहिलसँग तुलना गर्नुहुन्छ। दुधपोखरीको वडा नम्बर २ मा महाबजु मन्दिर, वडा नम्बर ५ को तस्योमा दुई वटा माने भएको पुरानो सम्पदा छ। गौंडाकोटमा हर्कविर स्वामीको गुफा छ। सबै वडाहरूमा मोटरबाटो पुगेतापनि आन्तरिक तथा बाह्य स्थानहरूबाट आउने पर्यटकको चाप नभएकोले यस गाउँपालिकाको केन्द्रमा व्यवस्थित २ वटा होटलहरू सञ्चालनमा छन्। गौंडा, जोर्ने, विचौरमा केही साना होटल र व्यापार छन्।
दुधपोखरी सांस्कृतिक पर्यटनको दृष्टिले पनि प्रमुख पर्यटन गन्तव्य हो। यहाँको सांस्कृतिक परम्पराको मौलिक विशेषता छ। नाचगान र जात्रामा पर्यटक लोभिन्छन्। यहाँका प्राचीन कला पनि पर्यटनको मुख्य श्रोत हुन सक्छ। गौंडामा गुरूङ जातिको अध्ययन केन्द्रको भवन बनेपनि सञ्चालनमा आइसकेको भने छैन।
यसैगरी दुधपोखरीको जैविक विविधताले पनि पर्यटकलाई लोभ्याउँछ। यहाँका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरू जैविक विविधताको अनुपम स्थल हुन्। जैविक विविधिताले स्थानीय तहको पर्यावरणीय सन्तुलन र देशी विदेशी पर्यटकहरू आकर्षण गरी स्थानीय समृद्धि हासिल गर्न सहयोग पुर्याउँछ।
केही प्रयासहरू
गाउँपालिकाको स्थापना भएपछिका नीति तथा कार्यक्रमहरूको अध्ययन गर्दा दुधपोखरी गाउँपालिकाले पर्यटनको क्षेत्रमा बजेट खर्च गर्दै आएको पाइन्छ। गाउँपालिका क्षेत्र भित्रका परम्परागत कला, संस्कृति, रहनसहन, रितिरिवाज, पदमार्गहरू, प्राकृतिक सुन्दरता आदिको संरक्षण र प्रवर्द्धनको गर्ने गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङ बताउँछन्। विकासको भरपर्दो माध्यम पर्यटन भएको हुनाले स्थानीय कला, संस्कृतिहरूको जगेर्ना, प्रवर्द्धन र बजारीकरणको माध्यमबाट पर्यटकीय गाउँपालिकाको रूपमा विकास गर्नुपर्ने उपाध्यक्ष क्षेत्रबहादुर गुरूङ बताउनुहुन्छ।
गाउँपालिका क्षेत्र भित्र पूर्वाधार विकास, सांस्कृतिक तथा धार्मिक क्षेत्रका कार्यहरू गर्दा पर्यटन लक्षित कार्यक्रममा जोड दिइएको छ। गाउँपालिका भित्रको पर्यटन प्रवर्द्धन लेभारच्यो र ईलमपोखरीमा ताल निर्माण, गौंडाकोटमा भ्यु टावर निर्माण कार्य सम्पन्न भएको साथै देउराली—लेभारच्यो—ईलमपोखरी लगायतका पर्यटकीय स्थानलाई मोटरबाटोले जोडिएको पनि छ। दुधपोखरीकुण्डसम्म जाने बाटो मर्मत गरी दुधपोखरी क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्ने नीति छ भने देउराली ताल र लेभारच्यो ताल क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको छ। उक्त क्षेत्रलाई पर्यटकीय रूपमा विस्तार गर्न विशेष पहल गर्ने काम गर्ने र आ.व २०७९÷८० को बजेट निर्माण गर्दा पर्यटन क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्ने प्राथमिकता तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारी बताउनुहुन्छ। “दुधपोखरी गाउँपालिकाको समग्र भूगोल, पर्यटनसँग सम्बन्धित गतिविधिहरू र पर्यटन विकासको लागि कदम चाल्नुपर्दछ,” अधिकारी भन्नुहुन्छ, “गाउँपालिका भित्र रहेका समुदाय तथा बस्तीस्तरसम्म पुगी विकासका प्राथमिकता निर्धारण गरी गाउँपालिकाको सन्तुलित विकासमा अघि बढ्नुपर्दछ।” गाउँपालिकाले पर्यटन विकास गुरूयोजना निर्माण गरेपछि पर्यटनमार्फत् स्थानीय आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा राखिएको अध्यक्ष गुरूङ बताउनुहुन्छ।
पदयात्रामा देख्न सकिने विभिन्न किसिमका चराचुरूङ्गी, वन्यजन्तुहरू, वनस्पतिहरू चैत वैशाखमा वनै ढाक्ने गरी फुल्ने लालीगुराँसका वनहरू गुरूङ समुदाय र तिनका कला, संगीत, र संस्कृतिले पदयात्रालाई थप मनमोहक बनाउँछ। यस गाउँपालिकाले पर्यटकीय पदमार्ग, वनभोज स्थल निर्माणमार्फत पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने नीति अवलम्बन गर्ने नीति लिएको छ। गण्डकी प्रदेशले अन्य प्रदेशको तुलनामा घरबास कार्यक्रमलाई जोड दिएको पाइन्छ। तर घरबास सञ्चालन भने अपेक्षित बन्न सकेको छैन। स्थानीयको जनजीविकाको मुख्य सबाल, बसाइसराइँले घरबासले अपेक्षित उपलब्धि पाउन नसकेको हो। पर्यटकलाई आकर्षित गर्ने खालका घरबासहरू नहुनाले पनि समस्या देखिन्छ। घरबासमा समुदायले अपनत्व लिनुपर्दछ तर तालिम, बजेट, सहयोग पाउनको लागि घरबासमा जोडिए पनि दीर्घकालसम्म सञ्चालनमा ल्याउन भने स्थानीयले उति चासो राखेको देखिन्न। गण्डकी प्रदेशले होमस्टेको गुणस्तरियता अभिबृद्धिमार्फत् पर्यटन प्रवर्द्धन गर्न मापदण्ड निर्माण गरी वितरणमा पारदर्शिता कायम गर्ने प्रयास गर्दै आएको छ। प्रदेशले सीमान्तकृत व्यक्तिहरूलाई स्थानीय पर्यटन क्रियाकलपाहरूमा प्रत्यक्ष रूपमा सहभागी हुन प्रोत्साहित गर्ने र पर्यटनको स्थानीय अर्थतन्त्रसँग पश्च र अग्रसम्बन्ध स्थापित गर्ने मान्यता अघि सारेको छ। यस्तै उनीहरूका परम्परागत सिपहरू प्रदर्शित गर्ने र उनीहरूलाई रोजगारीका लागि तालिम प्रदान गर्ने, सरकारद्धारा प्रवद्र्धित घरबास पर्यटन र गरिबी न्युनीकरण बीचको सम्बन्ध हुन्छ। गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक, सांस्कृतिक, ऐेतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रहरूको पहिचान विकास एवम् सम्वर्ध्दन गर्ने नीति छ। घरबास कार्यक्रमलाई विस्तार गरी सञ्चालकलाई आवश्यक तालिमको व्यवस्था गरी गुणस्तरिय घरबास कार्यक्रम सञ्चालन गर्ने विशेष पहल गर्ने, पर्यटकीय विकासको सम्भावनालाई मध्यजनर राख्दै यस क्षेत्रमा घरबास सञ्चालन गर्ने नीति छ।
गाउँपालिका क्षेत्र भित्रको पर्यटन प्रवर्द्धन गर्न लेभारच्यो र ईलमपोखरीमा ताल निर्माण, गौंडाकोटमा भ्यु टावर निर्माण भएको छ। यस्तै देउराली, लेभारच्यो, ईलमपोखरी लगायतका पर्यटकीय स्थानलाई मोटरबाटोले जोडेको छ। वडा नम्बर १ घमरचोक, वडा नम्बर २ भुम्लिचोक र वडा नम्बर ६ गौंडामा घरबास सञ्चालनमा आएपनि प्रभावकारी भने छैन। गाउँपालिकाले पर्यटन प्रवर्द्धनको लागि उपयुक्त स्थलहरूको पहिचान गर्ने, स्थानीय कला, संस्कृतिको संरक्षण र व्यावसायीकरण गर्नको लागि सहयोग गर्ने र पदमार्गहरूमा उपयुक्त भौतिक पूर्वाधारहरू निर्माण र विकासको लागि सहयोग पुर्याउने भने पर्यटनबाट लाभ लिन सक्दछ। यसैगरी स्थानीय रूपमा रहेका मौलिक तथा हस्तकला सम्बन्धी व्यवसायहरूको संरक्षण गर्ने, आर्थिक विकासका सम्भावनाहरूलाई फराकिलो पार्ने, पर्यटन क्षेत्रमा लगानीका लागि मार्गप्रशस्त गर्ने र पर्यटकीय सम्पदा तथा उत्पादनहरूको विकास र प्रर्वद्धनका माध्यमवाट स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने हो भने दुधपोखरीले जिल्लाका अन्य स्थानीय तहले झैं पर्यटनबाट लाभ लिन सक्दछ। पर्यटनबाट स्थानीय अर्थतन्त्रको आधारशीला तयार गर्न गाउँपालिका तत्पर हुनुपर्ने देखिन्छ।
पदयात्रा
जोर्ने हुँदै प्रसिद्ध दुधपोखरीकुण्ड जाने पदमार्ग र पदयात्रा उत्कृष्ट छ। दुधपोखरीकुण्ड जाने विभिन्न मार्ग छन्। श्यामकुमार श्रेष्ठका अनुसार जोर्ने —ईलमपोखरी—लिपेडाँडा हुँदै दुई दिनको यात्रापछि दुधपोखरीकुण्ड पुग्न सकिन्छ। यसैगरी जोर्नेबाट कालठूडा (मङ्गेठूटा) हुँदै पनि दुधपोखरीकुण्ड पुग्न सकिन्छ। यस मार्गबाट जाँदा गैरीखर्कमा तीनचार बजे पुगिन्छ। यहीं क्याम्पिङ गरेर बास बस्ने र बिहानै उठी साढे २ घण्टा हिडेर दुधपोखरीकुण्ड पुग्न सकिन्छ। गैरीखर्कको सेरोफेरोमा कोल्मारा वा कोल्मा रह (रा भनेको गुरूङ भाषामा पोखरी) छ। यस्तै गैरीखर्कबाट किस्तापोखरी पनि जान सकिन्छ। तर किस्तापोखरी गएर दुधपोखरी जान नहुने जनविश्वास समेत छ। गैरीखर्कबाट अघि बढ्दा लेक लाग्ने हुनाले छिटो हिड्न सकिन्न। चिसो हुन्छ। माथि गएपछि उकालो छैन। तेर्सो तेर्सो परेको ढुङ्गे पहिरो र केही स्थानमा ढुङ्गैढुङ्गाको ढड्यान छ। यस मार्गका मुख्यमुख्य स्थानमा स्थान र दुरी उल्लेख भएका माइलस्टोन, सङ्केत बोर्ड, जानकारीमुलक बोर्ड राख्न जरुरी छ। यस कुण्डमा जाने उपयुक्त समय असार, साउन र भाद्र महिना हो। भाद्र महिनामा जनैंपूर्णिमामा मेला नै लाग्दछ।
जोर्ने—देउराली—ईलमपोखरी—लिपेडाँडा हुँदै दुधपोखरीकुण्डसम्म पुग्ने पदमार्ग निर्माण कार्यको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी निर्माण कार्यको लागि प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य गर्ने पनि नीति छ भने दुधपोखरी गाउँपालिकालाई आकर्षक, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रूपमा पहिचान स्थापित गराउन जोर्ने—ईलमपोखरी लिपेडाँडा—हुँदै दुधपोखरीकुण्डसम्म पुग्ने पदमार्ग निर्माण कार्यको विस्तृत परियोजना तयार गर्न चालू आर्थिक वर्ष २०७९/०८० मा १० लाख रुपैयाँ विनियोजित छ।
पदमार्गमा पर्ने गाउँहरूमा व्यवस्थित होटलहरूको विकास गर्ने, पाहुनाहरूलाई स्थानीय संस्कृति अनुसार स्वागत तथा बिदाइ गर्ने, मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतीकरण गर्ने, स्थानीय परिकारहरूबाट निर्मित खाद्य पदार्थहरू उपलब्ध गर्न सकेमात्र उनीहरू खुशी हुन्छन्। पदयात्रीको सहयोगका लागि नजिकका सम्पर्क व्यक्तिका सम्पर्क नम्बर पनि ठाउँठाउँमा राखिदिनुपर्दछ।
भीरमौरी शिकार
परम्परागत रूपमा हाम्रा पुर्खाहरूले गर्दै आइरहेको मह शिकार गर्ने तरीकालाई पर्यटकहरूले साहसिक र अनौठो रूपमा लिई त्यसको दृश्यमा रमाउने गर्दछन्। यस गाउँपालिका क्षेत्रमा पनि भीरमौरी शिकार गर्ने पुरानो प्रचलन रही आएको छ। स्थानीय व्यक्तिले मात्रै होइन, विदेशी पर्यटक समेत भीरमौरी शिकार गर्न आउने गरेका स्थानीयले बताए। यस गाउँपालिकाको वडा नम्बर २ को महभीर, वडा नम्बर ४ को छारेखोला, वडा नम्बर १ को सप्रौँ, माडीदेखि बाङ्गेओडारसम्मको भागमा भीरमौरी शिकार गर्न सकिन्छ। भीरमौरी काड्ने काममा स्थानीय गुरूङ जातीका मानिसले पूर्खादेखि नै गर्दै आएको पाइन्छ। वैशाख १५ बाट सुरु हुने भीरमौरी काढ्ने काम जेठ १५ सम्म गरी एक महिनासम्म चल्दछ। यसरी काढेको खासगरी मह र मैन बेचेर स्थानीयले आयआर्जन समेत गर्ने गरेका छन्। यसलाई विधिवत रूपमा संरक्षण गरेमा गाउँपालिकाले राजस्व समेत आर्जन गर्ने देखिन्छ। भीरमौरीको मह शिकार गर्नुलाई आजकल साहसिक पर्यटनको रूपमा पनि लिने गरिएको छ।
साहसिक यात्रा
गाउँपालिकाले साहसिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकामा साइक्लिङ प्रतियोगिता गर्नको लािग आवश्यक भौतिक संरचना तयार गरी कार्यक्रममा जोड दिइने नीति छ। दुधपोखरी गाउँपालिकामा पात्लेगाऊँ—च्याँदी तरेर—चित्रे—माडी—पुङखर्क—मुलिडाँडाको फेदी—ठाडोखोला—बाङ्गे—बाङेओडा (करिब ३०० जना बासबस्न मिल्नेस्थान) हुँदै दुधपोखरीकुण्ड पुग्न साहसिक यात्रा गर्न सकिन्छ।
मनोरन्जनात्मक क्रियाकलाप
गाउँपालिकाले पनि खेलकुद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना छ। हरेक वडा एक खेल मैदान बनाउने नीति कार्यान्वयन गर्दै खेल मैदान बनाएपछि प्रतियोगितात्मक फुटबल प्रतियोगिता हुने गरेको छ। यसैगरी ईलमपोखरीमा २०६४, २०६५ र २०६६ सालमा ईलमपोखरी महोत्सव पनि लगाइएको पाइन्छ। ईलमपोखरीको साथमा रहेको इलुदेवीको मन्दिर परिसरमा प्रदेश सरकारको सहयोगमा २०७७ सालमा सामान्य पार्क बनेको छ। तर यस पार्कको प्रभावकारी प्रयोग, संरक्षण र व्यवस्थापन हुन सकेको छैन।
कुण्ड, नदी, पोखरी, खोला, झरना, गुफाहरू
पर्यटकीय आकर्षणका स्रोतहरूका रूपमा रहेका विभिन्न स्रोतहरूमध्ये झरना, गुफा तथा पोखरीहरू पनि यस गाउँपालिकामा रहेका महत्वपूर्ण प्राकृतिक स्रोतहरू अन्तरगत पर्छन। यहाँ रहेका यी मनोरम पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेको खण्डमा आयआर्जन तथा पर्यटन विकासको क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने निश्चित छ। यस गाउँपालिकामा रहेका पानीका मुख्य स्रोतहरूमा नदी, खोला, पोखरी, ताल, झरनाहरू रहेको छन्। वडा नम्बर १ मा चेपे नदी, दुधपोखरीकुण्ड पर्दछन्। यस्तै वडा नम्बर २ मा बुढीखोला झरना छ जहाँ पाहा पाइन्छ भने भुम्लिचोकमा साततले झरना छ। मारखोलामा विशेष जातिको कालो रंगको पाहा पाइने जुन सुत्केरीको लागि उपयोगी हुने जनविश्वास छ भने यहाँको भालुखोला झरनामा रकक्लाम्बिङ समेत गर्न सकिन्छ।
यसैगरी वडा नम्बर ३ मा प्रसिद्ध ईलमपोखरी रहेको छ। ईलमपोखरी जैविक विविधताको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। यस पोखरी दुधपोखरी गाउँपालिका क्षेत्र भित्रका विभिन्न बस्तीको लागि खानेपानी, सिँचाइको मुख्यस्रोत हो। वडा नम्बर ४ मा देउरालीपोखरी, लेवार्चोपोखरी, लाङ्दी खोला छन्।
यसैगरी वडा नम्बर ५ मा ब्रमुछहरे झरना, मल्ङेग्यकार छहरे झरना छन् भने यही वडामा अलमले गुफा (कहाँ जाने भनेर गन्तव्य थाहा नहुँदा गुफामा जाँदा गन्तव्य पहिल्याउन सहयोग गर्ने जनविश्वास रहेको) छ।
दृश्यावलोकन
ग्रामीण मनोरम पर्यटकीय क्षेत्रको रूपमा रहेको दुधपोखरी गाउँपालिकाको केन्द्र हालको केन्द्र गौंडामा सानो बजार भएपनि उत्तरतर्फका हिमालहरू हेर्न उत्कृष्ट स्थान हो। गौंडाबाट काखमै देखिने बौद्ध हिमाल, हिमचुली, मनासलु, कंगारू, लमजुङ, अन्नपूर्ण पहिलो, दोश्रो र तेश्रो हिमाल, माछापुछ«े हिमालको दृश्यले जो कोही पनि मत्रमुग्ध बन्ने श्रेष्ठ बताउँछन्। सूर्य उदाउँदा र सूर्यास्तमा जोर्ने, ईलमपोखरी, लिपेडाँडा, जोर्नेबाट गणेश हिमालसमेत देख्न सकिन्छ। यहाँका डाँडा, हरियाली र प्राकृतिक सुन्दरता दृश्यावलोकन गर्न सकिन्छ। सूर्य उदाउँदा र सूर्यास्तमा जोर्ने, ईलमपोखरी, लिपेडाँडा, जोर्नेबाट गणेश हिमालसमेत देख्न सकिन्छ। दुधपोखरीका पर्यापर्यटन र जैविक विविधताको अपार स्रोतको रूपमा रहेका वनजङ्गल तथा जडिबुटी, भीरपाखा र सुन्दर मानव बस्ती पर्यटकीय आकर्षणका केन्द्र हुन्। दुधपोखरीको बेंसी भेगमा चेपे नदीको कलकल र निर्मल पानीले दृश्यावलोकनलाई मनमोहक बनाउने बताउनुहुन्छ स्थानीय युवा के. बी गुरूङ।
प्रदेशसँग जोडिन आवश्यक
दुधपोखरी गाउँपालिकाले पर्यटन विकासमा प्रदेश सरकारका कार्यक्रमसँग जोडिन आवश्यक छ। गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्रदेश समृद्धिको आधार, पर्यटनको दिगो विकास भन्ने सोच राखेको छ। दुधपोखरी गाउँपालिकाले समृद्ध दुधपोखरी, सुखी दुधपोखरीबासीको गन्तव्यमा पुगी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा पूरा गर्ने लक्ष्य लिनुपर्दछ। यसलाई सहसम्बन्धित र आन्तरिकीकरण गर्दै दुधपोखरी गाउँपालिका क्षेत्रको दिगो पर्यटन विकासमा अघि बढ्ने जमर्को गर्नुपर्दछ। गण्डकी प्रदेश सरकारले दिगो पर्यटन विकासबाट उत्पादन र रोजगारीमा बृद्धि गरी प्रदेशको अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य राखेको छ। आर्थिक विकासको क्षेत्र भित्र पर्यटनलाई प्रमुख उपक्षेत्रको रुपमा राख्दै यसलाई प्रदेश विकासको मेरुदण्डको समावेश गरेको छ। गण्डकी प्रदेश स्थितिपत्र (२०७५) मा समृद्धिका सात मुख्य संवाहकहरूमा पर्यटन, कृषि, उर्जा, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासन समावेश छन्। यस्तै उक्त स्थिति पत्रले समृद्धिका पाँच मुख्य सहयोगीहरूमा प्राकृतिक सौन्दर्य, जैविक विविधता, सामाजिक विविधता बीच एकता, सांस्कृतिक सम्पन्नता, सहअस्तित्व र पहिचान र जनसाङ्ख्यिक लाभलाई समावेश गरेको छ। गण्डकी प्रदेश प्रथम पञ्चवर्षिय योजना आधारपत्र (२०७६) अनुसार नेपालमा आउने पर्यटक मध्ये करिब ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउँछन् भने वार्षिक रूपमा आन्तरिक र बाह्य गरी करिब १० लाख पर्यटक भित्रिन्छन्। यसबाट केही सङ्ख्यालाई मात्रै गाउँपालिकाको भ्रमण गराउन सकेमा दुधपोखरीको आर्थिक विकासमा हुने अहिले अनुमान मात्रै गर्न सकिन्छ। यसैगरी प्रदेशका ११ जिल्लाका मानिसहरूलाई भ्रमणका लागि आकर्षित गर्न सकिन्छ। यसले स्थानीय अर्थतन्त्रको विकासमा एक टेवा पुग्दछ।
श्रोत: भगवान खनाल/आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया