एउटी झापाली चेलीको सुमधुर गलाले झापादेखि चितवन र काठमाडौं हुँदै अन्तर्राष्ट्रिय भूमिसम्म परिचित गराएको छ । छन्दकविता वाचन गर्न पनि गति , यति र लयको बोध हुनुपर्छ। यसको ज्ञानसमेत भएकाले उहांलाई छन्दप्रेमी स्रष्टा र पाठकहरूले माया गरेका छन। झापा, विर्तामोड निवासी उहांको नाम हो मीना अधिकारी। उहांको गद्य लेखाइ पनि दिनानुदिन खिपिएर चिल्लिँदैछ । सार्है मिठो किसिमले प्रस्तुत गर्नु भएको बिस्मृति भित्रको स्मृति साहित्य उहांको यस गद्य लेखाइलाई हामिले प्रस्तुत गरेका छौ।
****************
आज बिहान चार बजे उठे । आफ्नो नित्य कर्म गरे । ५ बज्यो । किरिरि फोनमा घण्टी बज्यो ,उठाएँ । चितवनबाट दार्जिलिङ को यात्रामा ग्रुपमा हिड्नु भएको साहित्यकार विद्वान कवि दाजु होमनाथ घिमिरे ज्यू को फोन रहेछ । हामी दमक आइपुग्न लाग्ददैछौँ । पुस्तक ल्याइदिएको छु लिन आउ है बहिनी भन्नु भयो । म हस्याङफस्याङ गर्दै पुस्तक लिन हिँड्दै बिर्तामोड को पश्चिम बस स्टेण्ड पुगेँ । तिस मिनेट प्रतिक्षा गरेपछि हरियो रंगको बस आइपुग्यो । शिवरात्रि को दिन २५ गते बिहानै को अमृत समयमा आदरणीय कवि दाजुको आशीर्वाद र उहाले लेख्नुभएको दुई वटा पुस्तक उपहारमा प्राप्त भयो । (१) गोरेटो छन्द कविता संग्रह (२) जिन्दगीका तरङ्गहरु( गजल संग्रह) एक मिनेटको भेटमा दाजुबाट आशीर्वाद लिंदै म बिदा भएँ । बाटामा हिंड्ने क्रममा पुस्तक को पाना पल्टाउँदा किताब को चेपमा कटकटे नयाँ एकहजार को नोट बहिनीका लागि दक्षिणा राखिदिनुभएको रहेछ । ओहो ! दाजुको चेलिबेटी बहिनी प्रति को सद्भाव देखेर एकैछिन खुसीमा भाबुक बने । आँखामा गहभरी आशु भरिएर बर्बरी भए । ” मान्छे जीवनमा दुइचोटी रुन्छ कि दुखी हुँदा कि खुसी हुँदा ” म खुसी भएर रोये । हजार को नोटलाई पुस्तक छपाउन हुन्छ भनेर जतनले खुत्रुकेमा राखेँ ।
त्यसपछिको समय म पुराणको निम्ता मान्न खनाल परिवारले लगाउनु भएको पुराणमा पुगेर १२ बजे को आरती पछि प्रसाद ग्रहण गरेर साहित्यकार बहिनी गीता सुवेदी ( नेपाल) संग चन्द्रगढी लेखनाथ पुस्तकालय मा पुग्यौँ । त्यहाँको साहित्यिक कार्यक्रममा नारी सन्दर्भमा लेखिएको एउटा कविता वाचन गर्ने अवसर मिल्यो । तिन बजे कार्यक्रम सकियो । आदरणीय गुरुहरु दिदी बहिनी दाजुभाइ आफ्ना आफ्ना गन्तव्य स्थल तिर लाग्नु भयो ।
त्यतिकैमा गुरु होम सुवेदी ले स्कुटी स्टाटस गर्दै हुनुहुन्थ्यो। मैंले उहाँ संग सर हजुरले दिव्य राज भुर्तेललाइ चिन्नुहुन्छ ? भनेर सोधे , चिन्दछु भन्नुभयो । अप्ठ्यारो महसुस गर्दै मलाई पुर्याइदिन सक्नुहुन्छ सर भने । सक्छु ल बस्नुहोस् मेरा पछाडि पट्टि भनेर इजाजत पाएपछि बसे । उहाँले भुर्तेल को गेटमा पुर्याइदिनुभयो । बडेमानको घर रहेछ। ठुलो आँगन वरिपरी बरबगैचा ।
म २०३४ सालमा त्यस ठाउँमा बसेर सिलाइकटाइ सिक्दा काठको दोमल्ला घर अगाडि इनार अलिक अगाडि राम मन्दिर थियो । म बालमन्दिरमा तालिम लिन जान्थे । त्यस्बेला चन्द्रगढी भद्रपुर की चल्ता फिर्ता नारीमा मेची आमा हुनुहुन्थ्यो । तिन महिने सिलाई कटाई प्रसिक्षण पनि उहाँको मातहतमा भएको थियो । त्यस बेला म १३ वर्ष पुरा गरेर १४ लागेकी थिए । झापा जिल्लाको प्रत्येक गाउ पन्चायत बाट १- १ जना महिलाको सहभागिता थियो , भने म गौरिगञ्ज गाउ पन्चायत बाट छानिएकी थिए । हामी झापा जिल्ला भरिका ७५ जना नारी तालिम लिन आएका थियौं । सिलाइकटाइ सिके वापत महिनाको २००/ – नगद र १ – १ वटा पएरवाला मिसिन दिइएको थियो ।
अब आयो हजुरआमाको कुरा हजुर आमा संग बस्दा उहाँको छोरा मेरो ठुलो बुबा दिव्य राज भुर्तेललाइ अग्लो पातलो सोझाेसिधा सान्त स्वभावको हुनुहुन्थ्यो भने ठुली आमा शुभद्रा भुर्तेल स्टाण्डर घुङरिङ परेको कपाल होची होची तर सारै उज्याली त्यो जमानामा पनि साडीचोलोको सेट चटक्क मिलाएर लगाउने बान्की परेकी हुनुहुन्थ्यो । मेरो बालमस्तिष्कले त्यस्तै देख्थ्यो । मेरो बिशेष ख्याल भने हजुरआमाले नै राख्नु हुन्थ्यो । धार्मिक प्रवृतिको असल हुनुहुन्थ्यो ।
म तिन महिना सम्म उहाँहरुको सँगत गरेर बसेर विदा भएपछि फेरि कहिल्यै फर्किएर जाने अवसर मिलेन । तर मनले भने सम्झिरहेको थियो । नारायण गोपालले गाएको गीत ” यो सम्झिने मन छ म बिर्सू कसोरी ” भने झैं त्यो रहनसहन व्यवहार घरको महिमा मैले टेकेको माटो को माया हुँदाहुँदै पनि ४७ सत्चालिस वर्ष बितेछ ।
आज धेरै वर्ष पछाडि ठुलाबा ठुली आमा शुभद्रा भुर्तेल को दर्शन र मैले जुनमाटोमा टेकेर केही सिकेकी थिए त्यही माटो ढोगेर टपक्क टिपेर शिरमा लगाए । बिडम्बना हजुर आमा २०६४ सालमा बित्नुभएछ भेट हुन सकेन । उहाले चलाएको काठको दराज र काठैको टेबुलमा शिर झुकाएर ढोग गरे । रुपकी रानी ठुलीआमा को सबै रुपरंङग उडेछ । ठुलो बुबा पनि ८० वर्ष नाघ्नु भएछ । गाउँ ठाउँ परिवर्तन भएछ ।
म ६० वर्ष पुरा गरेर ६१ मा लागे तर त्यस घरमा गएर भेटघाट गर्दा मेरो बालापन १४ वर्षे कलिलो उमेर त्यतै कतै लुकेको छ कि जस्तो भान भयो । फिलिमको रिल घुमे झैँ फननन घुमे। उमेर आज भन्दै भोलि भन्दै ढल्किएर गयो तर याद भने झल्झली ताजा रह्यो ।